किराती बस्ती वाम्द्यालमा स्वालेवा स्तम्भ निर्माण

ओखलढुङ्गा । यहाँको मानेभञ्ज्याङ गाउँपालिका–३ स्थित वाम्द्यालमा स्वालेवा (चिन्डो) पार्क निर्माण गरिएको छ । किरात राई समुदायअन्तर्गत वाम्बुले राईहरूको आदिम बस्तीका रूपमा परिचित वाम्द्यालमा वाम्बुले ‘राई समाज’ नामक संस्थाको अग्रसरतामा उक्त पार्क निर्माण गरिएको हो ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज एक समारोहबीच पार्कको उद्घाटन गर्दै ऐतिहासिकस्थलमा नमूना पार्क बनेकामा प्रशंसा गर्नुभयो । “संस्कृति र सांस्कृतिकस्थलको संरक्षण सरकारले गर्दै आएको छ । यस ठाउँका लागि पनि सरकारले आवश्यक सहयोग गर्नेछ”, उनले भने ।

राष्ट्रियगानका सर्जक व्याकुल माइलाले किरातीहरूको मुन्दुममा स्वालेवाको सांस्कृतिक महत्व धेरै भएको बताउनुभयो । सांसद रामहरि खतिवडाले स्वालेवा पार्क देशको स्वाभिमानका रूपमा ठडिएको बताए । अब यसलाई पर्यटनसँग जोड्नुपर्नेमा उनले जोड दिए ।

पूर्वसांसद तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य यज्ञराज सुनुवारले राष्ट्रियता केवल ढुङ्गा र माटो मात्र नभएर मान्छेको पहिचान भएको बताए । उनले भने,“वाम्बुले समुदायले बनाएको स्वालेवा पार्क यस समुदायको मात्र पहिचान हैन, यो त राज्यको हो । यसको संवद्र्धनको काम राज्यले गर्नुपर्छ ।”

कोशी प्रदेशसभा सदस्य प्रदीप सुनुवारले राज्यले संस्कृति र पहिचानलाई सम्पत्तिका रूपमा बुझ्नुपर्ने बताए । सबै जातिका संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व भएको उहाँको भनाइ थियो । वाम्बुले राई समाजका अध्यक्ष गजुरधन राईले आगामी दिनमा पार्कको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने चुनौती थपिएको बताए ।

वि.सं. २०७४ देखि निर्माण सुरु गरिए पनि बजेट अभावका कारण पार्क निर्माण सम्पन्न गर्न सात वर्ष लाग्यो । पार्क दुई रोपनी क्षेत्रफलमा फैलिएको छभने स्वालेवाको उचाइ ३९ फिट रहेको छ । स्वालेवासँगै अदुवाको समेत स्तम्भ निर्माण गरिएको छ । उक्त स्तम्भ चर्चित मूर्तिकार धनु याख्खा नेतृत्वमा मूर्तिकारहरूले निर्माण गरेका हुन् ।

पार्क तीनै तहका सरकारबाट रु ६२ लाख र स्थानीय समुदायले चन्दा सङ्कलन गरी रु २७ लाख ८९ हजार ८८४ गरी गरी रु ८९ लाख ७९ हजार ८९४ लागतमा निर्माण गरिएको पार्क निर्माण समितिका आर्थिक संयोजक मुम्चे राईले जानकारी दिए ।

स्वालेवा किरात समुदायले जन्मदेखि मृत्यु संस्कारसम्म अनिवार्य प्रयोग गर्ने सामग्री हो । यो एक वनस्पतीय फल हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nine =