खबर दिनभर : भूमिहीनलाई छिट्टै लालपुर्जा दिइनेदेखी ट्रम्प र जेलेन्स्कीबीच भनाभनसम्म

संशोधनका नाममा संविधान उल्टाउने खेल भइरहेको छ : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त संविधान संशोधनका नाममा उल्टाउने खेल भइरहेको आरोप लगाएका छन् ।
जनतासँग माओवादी तराई–मधेस जनजागरण अभियानअन्तर्गत आज सिरहा सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले दशवर्षे जनयुद्धको जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउने प्रयास सफल हुन नदिइने बताए ।
“अहिले सरकारमा रहेका दलहरु नै संविधान संशोधनको कुरा गरेर नेपाली जनताको अधिकार सङ्कुचित गर्ने, दुई दलीय व्यवस्था कायम गर्नेतर्फ लागेका छन् । जनताको बलिदानबाट प्राप्त यो संविधान उल्टाउने खेल हामी सफल हुन दिन्नौँ”, अध्यक्ष दाहालले भने ।
उनले विगतका कमजोरी सच्याएर मधेसी जनतासँग पुनः गहिरो सम्बन्ध कायम गर्न आफूहरूले हुलाकी अभियान सुरु गरेको बताए । मधेसी जनताको पक्षमा र मधेसी जनताको आत्मसम्मानका लागि आफ्नो पार्टी सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले माओवादीले जनयुद्धकै क्रममा मधेसी जनताको अधिकार स्थापित गर्न मधेस सरकार गठन र पार्टीभित्र मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरिएको स्मरण गरे ।
पूर्वप्रधानमन्त्री दाहालले जीर्ण अवस्थामा रहेको हुलाकी राजमार्ग पुनःनिर्माणबारे चर्चा गर्दै आफू पहिलो पटक प्रधानमन्त्री बन्दा भारतसँग कुरा गरेर हुलाकीमार्ग निर्माणको प्रक्रिया अगाडि बढाएको जिकिर गर्नुभयो । यस्तै, चोहर्वा–सिरहा, सिरहा–कल्याणपुर–मिर्चैया सडक निर्माण, माडर भन्सारको स्तरोन्नतिका लागि निरन्तर प्रयास गर्ने उहाँको प्रतिबद्धता थियो ।
“यसका साथै हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको भत्केको पुल निर्माण प्रक्रिया तुरुन्त अगाडि बढाउन पार्टीका तर्फबाट साथ सहयोग रहन्छ । यसक लागि पहल गर्छौं”, दाहालले भने ।
कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव, माओवादी पार्टीका उप–महासचिव मातृकाप्रसाद यादव, स्थायी समिति सदस्य विश्वनाथ साहलगायतले सम्बोधन रेका थिए । जिल्ला इन्चार्ज अजयशङ्कर नायकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य जगतप्रसाद यादवले गरेका थिए ।
सबै एकजुट भए नेपाललाई छिटै लागुपदार्थ मुक्त देशको रूपमा स्थापित गर्नसक्छौँ : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुपदार्थ मुक्त देशको रूपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताएका छन् । शनिवारबाट नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
उनले अहिले संघीयतामा सरकार रहेको उल्लेख गर्दै तीन तहकै सरकारले लागुऔषधबिरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्ने बताए ।
उनले नागरिकसँग नजिक रहेको स्थानीय सरकारले बढी पहल कदमी लिनुपर्ने बताए । पालिका र वडा—वडा स्तरबाट लागुऔषध विरुद्धको महाअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
६ महिनामा लागुऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाउन आग्रह गरे । समग्र राष्ट्रलाई नै केही समयभित्र लागुपदार्थ मुक्त राष्ट्रका रूपमा लैजान जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले लागुऔषधले समाजमा नकारात्मक प्रभाव पारेको जिकिर गरे ।
गृहमन्त्री लेखकले भने ‘अहिले हामी संघीयतामा छौँ । तीन तहमा सरकार छ । स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यसमा स्थानीय तहलाई जोड्न जरुरी छ । किनभने यो अभियानलाई वडा वडा स्तरमा पुर्याउन सकियोस् । पालिकाहरूले पनि यसलाई एउटा अभियानका रूपमा अघि बढाउन जरुरी छ । एकै पटक जिल्लाभर नहोला तर एउटा जिल्लाको दुई, तीन वटा पालिकालाई लागुऔषध मुक्त पालिका बनाउने काम गरौँ । पालिका उठाऔँ । त्यहाँका स्कुल, क्याम्पस, युवा क्लब, राजनीतिक दल, भ्रातृ संस्था, शुभेच्छुक, विद्यार्थी सङ्गठनहरूलाई संलग्न गरौँ र एउटा पालिकालाई ६ महिनामा लागुऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाऔँ । समग्र राष्ट्रलाई नै केही समयभित्र लागुपदार्थ मुक्त राष्ट्रका रूपमा लैजान जरुरी छ । लागुऔषधले समाजलाई धेरै नै नकारात्मक प्रभाव बनाएको छ । यो प्रहरीको मात्रै विषय होइन । लागुऔषधको प्रभावमा युवालाई पर्न नदिने कुरा अभिभावक र परिवारबाट सुरु हुन्छ । लागुऔषध दुर्व्यसनमा पर्न नदिने स्थिति निर्माण गर्ने एउटा पाटो छ भने अर्को यसको ओसारपसार, व्यापार, भण्डारण गर्ने आपराधिक गतिविधिमा प्रहरीको काम छ । खोज्ने, समात्ने, हेर्ने गर्नुपर्छ । कडाइका साथ काम गर्नुपर्छ । निवारण गर्ने काममा हामी समाज लाग्नुपर्छ । यसलाई महाअभियानका रूपमा देशभर लैजानुपर्छ । म मेरोतर्फबाट प्रतिबद्ध छु । नेपाल सरकारले लागुऔषध नियन्त्रणका लागि गर्नुपर्ने गतिविधिमा केके गर्नुपर्छ म तयार छु । यसका विरुद्धको लडाइँमा विजय प्राप्त गर्छौँ । यो मुलुकलाई लागुपदार्थ मुक्त देशको रूपमा हामी स्थापित गर्नसक्छौँ ।’
गृहमन्त्री लेखकले अपराध बढाउनेमध्येको एउटा मूल कारण लागुऔषध रहेको बताए । अपराध नियन्त्रणका लागि लागुऔषध नियन्त्रण आवश्यक रहेको उल्लेख गरे । लागुऔषध नियन्त्रणसम्बन्धी महाअभियानलाई विद्यालय तहसम्म पुर्याउन जरुरी रहेको बताए । लागुऔषधलाई समयमा नियन्त्रण गर्न नसके अबको १५ वर्षपछि एउटा पुस्ता नै प्रभावित बन्ने जिकिर गरे ।
अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्नेछ : दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सिरहाको औरही नगरपालिका–४ मा आज आयोजित कार्यक्रममा उनले अभियानका माध्यमबाट हुलाकी मार्ग आसपासका जनाताको आर्थिक उन्नतीका लागि पहल लिन सहयोग अपेक्षा गरे ।
लामो समयदेखि अघि बढाउन नसकिएको हुलाकी मार्गको थप विकासका लागि आफू २०७३ सालमा प्रधानमन्त्री हुँदा पहल लिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुरू गरेपछि योजना अघि बढेको स्मरण गरे ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा औरही–४ इँटाटारमा आज आयोजित कार्यक्रममा माओवादी पार्टीमा प्रवेश गर्नेहरूलाई अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहालले स्वागत गरे ।
भूमिहीनलाई छिट्टै लालपुर्जा दिन्छौँ : भूमिमन्त्री
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनलाई छिट्टै लालपूर्जा दिनेगरी सरकारले काम गरिरहेको बताएका छन् ।
आज सिन्धुलीमाढीमा भूमि समस्या समाधान आयोगका पदाधिकारी तथा सदस्यहरु र सहकारी अभियन्ताहरूसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।
भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने पक्षमा सरकार रहेको बताउँदै उनले भूमि समस्या समाधान आयोगलाई अन्तिम आयोग बनाउने गरी काम गर्न आयोग सिन्धुलीका पदाधिकारी तथा सदस्यलाई निर्देशन दिए । मन्त्री अधिकारीले लालपूर्जा नपाएकालाई लालपूर्जा दिने कामलाई तीव्रता दिन र अन्य काम पनि छिटो गर्नसमेत आग्रह गरे । कानुनी बाधालाई हटाउने काम सरकारले गर्ने र त्यसका लागि नमिलेका कानुनलाई परिवर्तन गर्न अध्यादेश ल्याइएको उनको भनाइ थियो ।
मन्त्री अधिकारीले भने ‘लालपूर्जा दिने नारा कुनै पनि दलको चुनावी नारा हुदैन, अहिलेको सरकार र आयोगप्रति उठेका भ्रमलाई चिर्नेगरी काम गर्नुहुन अनुरोध छ । सरकारको उद्देश्य बसोबास गर्दै, कमाउँदै आएको ठाउँमा नै जग्गा दिने हो, जीवनभर मेरो जग्गाको स्वामित्व चाहियो भनेर रुने अवस्थाको अन्य गर्नु हो । जोखिमयुक्त अवस्थामा बसोबास गरेका भूमिहीनलाई सुरक्षित स्थानमा सार्ने काम आयोगले गर्छ ।’
सधैँ जग्गा पाइन्छ, जङ्गल फँडानी गर्न पाइन्छ भन्ने कुराको अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले आयोगले जङ्गलको सीमा निर्धारण गर्ने र त्यो मिच्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनेगरी काम गर्न आयोगलाई आग्रह गरे । आयोगले जङ्गल फाँड्ने, नयाँ ठाउँ खोज्ने नभई सुरक्षित स्थान मात्र खोज्ने वातावरण बनाउने मन्त्री अधिकारीले उल्लेख गरे ।
शेखर कोइरालाले भेटे प्रकृति लम्सालको परिवार
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारतको उडिसाको केआईआईटी कलेजमा भएको दुखदमा घटनामा परि निधन भएकी प्रकृति लम्सालको परिवारसँग भेटवार्ता गरेका छन् ।
उनले घट्नाको निष्पक्ष छानबिन गरि दोषीलाई हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकिएको बताए ।
रुपन्देहीको भैरहवा स्थित रहेको उनको निवासमा पुगेर कोइरालाले प्रकृतिको बुवा, आमा, हजुरबुबा र भाइलाई भेटेर नेपाल सरकार र कांग्रेस पार्टीले यस घट्नालाई अत्यन्तै गम्भीर रूपमा लिएको बताए ।
कोइरालाले उक्त कलेजमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई सहजता पूर्वक होस्टेलमा फर्कने, बस्ने वातावरण र अध्ययनको लागि आवश्यक पहल भईरहेको पनि बताए ।
लम्सालको परिवारलाई भेट्न कोइराला सहमहामन्त्री जीवन परियार, संघीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्डबिक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई साथमा लिएर पुगेका थिए ।
अस्थिरता चाहनेले सरकारको आयुबारे हल्ला चलाए : शङ्कर पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको अस्थिरतामा रम्न चाहनेले सरकारको आयुबारे हल्ला चलाउने गरेको बताएका छन् ।
नेपाल राष्ट्रिय होटल व्यवसायी सङ्घको प्रथम अधिवेशन आज उद्घाटन गर्दै उनले सरकारको आयु कहिले होला भन्ने भनेर हल्ला चलाउनेहरू मुलुकमा अस्थिरतामा रम्न चाहनेहरूको सपनामात्र रहेको बताए ।
‘कहिलेकाहीँ यो सरकारको आयु कहिले होला भनेर हल्ला चलाउने गरिन्छ । एक–एक महिनामा एउटा–एउटा हल्ला चलाउने गरिन्छ, अब सरकारको आयु सकियो भन्ने कुरा गरिन्छ’ उनले भने ‘त्यो हल्ला नेपालमा अस्थिरतामा रम्न चाहनेको सपनामात्र हो । त्यो हल्लाले अहिलेको सरकारलाई कुनै प्रकारको प्रभाव पार्दैन ।’
महासचिव पोखरेलले सरकारले निश्चित उद्देश्य रहेको उल्लेख गर्दै आगामी निर्वाचनसम्म एमाले र नेपाली कांग्रेसबीचको सहकार्य निरन्तर रहने बताए । अहिलेको दुई पार्टीको सहकार्य अस्थिरता समाप्त गर्ने रहेको भन्दै उनले राजनीतिक धुव्रीकरणका माध्यमबाट मुलुकमा स्थायी सरकारको निर्माण सुनिश्चित गर्नुपर्ने मान्यताको पक्षमा दुई पार्टी रहेको बताए ।
भविष्यमा जनताले मन पराएको पार्टी सरकारमा र अर्को ठूलो पार्टी प्रमुख प्रतिपक्षमा जानुपर्ने उनको भनाइ छ । उनले अहिले ल्याउन थालिएका छवटा अध्यादेश मुलुकको व्यावसायिक वातावरण, सुशासन कायम गर्ने कुरामा केन्द्रित रहेको बताए ।
मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकार गम्भीर रहेको भन्दै महासचिव पोखरेलले मुलुकलाई सङ्कटबाट बाहिर निकाल्नका लागि योजनाबद्ध पहल भइरहेको बताए । सरकारले व्यावसायिक वातावरण बनाउने कुरामा अत्यन्तै गम्भीरतापूर्वक लागेको उल्लेख गर्दै व्यावसायिक वातावरण तयार गर्न कुनै कानुनले व्यवधान खडा गरेको भए त्यसलाई सुधार गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।
होटल व्यवसायको सेवा विस्तारबिना पर्यटनको सम्भावना नरहेको बताए । महासचिव पोखरेलले समग्र अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा बदल्न नसकेको भनाइ राखे । उनले मुलुक अहिले औपचारिक अर्थतन्त्रभन्दा अनौपचारिक अर्थतन्त्र बलियो भएको भन्दै त्यो राम्रो नभएको सुनाए ।
‘निर्वाहमुखी अर्थतन्त्र भएको समयमा हुन्थ्यो भने अनौपचारिक अर्थतन्त्र बलियो हुनु नराम्रो थिएन’ उनले भने ‘तर आज हामी जुन प्रकारको आर्थिक, सामाजिक ढाँचाभित्र रहेका छौँ । त्यो ढाँचाले औपचारिक अर्थतन्त्र कमजोर हुने र अनौपचारिक अर्थतन्त्र बलियो हुने भन्ने कुरा राम्रो होइन ।’
नेपाल लोकतान्त्रिक व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष लीलाप्रसाद ढकालले सरकारले व्यवसायको वातावरण निर्माण बनाउनुपर्नेमा जोड दिए । होटल व्यवसायी सङ्घका अध्यक्ष माधव नेपालले मुलुकको अर्थतन्त्र सुधारोन्मुख भइरहेकाले व्यवसायी उत्साही भएको बताए । सङ्घले आजै नयाँ नेतृत्व चयन गर्ने छ ।
केपी ओली कप : मछिन्द्र फाइनलमा, उपाधिका लागि आर्मीसंग भिड्ने
आयोजक केपी एफसीलाई हराउँदै मछिन्द्र एफसी जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आयोजक टोलीलाई ४(० को गोलले पराजित गर्दै मछिन्द्रले फाइनल यात्रा तय गरेको हो । मछिन्द्रका लागि स्टेफेन जमालाले दुई र मनिष डाँगी, रोशन रानाले एकएक गोल गरे ।
खेलको ३८औं मिनेटमा मछिन्द्रका मनिषले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । ४९औं मिनेटमा रोशनले गोल गर्दै मछिन्द्रको अग्रतालाई दोब्बर बनाए ।
खेलको ८६औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै मछिन्द्रका स्टेफेनले टोलीलाई तेब्बर अग्रतामा पुर्याए । पुनः ९०औं मिनेटमा स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ४–० मा पुर्याए ।
अब मछिन्द्रले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्नेछ । आर्मीले पहिलो सेमिफाइनलमा संकटा क्लबलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । फाइनल खेल सोमबार हुनेछ । प्रतियोगिताको विजेता हुने टोलीले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । फाइनल खेल अवलोकन गर्न इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन नेपाल आउने छन् ।
६६ करोड ३० लाख भक्तजनले गरे महाकुम्भ स्नान
भारतको उत्तरी राज्य उत्तर प्रदेशमा ६६ करोड ३० लाख भक्तजनहरु पुगेका छन् । भारतको महा हिन्दु पर्व महाकुम्भ मेला औपचारिक रूपमा सम्पन्न हो ।
कुम्भका अधिकारीहरूकाअनुसार पवित्र स्नानमा ठूलो भीडले लिएका छन् । अन्तिम दिन गत बुधवार मात्र १ करोड ५३ लाख मानिसहरूले स्नान गरेका छन् । ४५ दिन लामो आध्यात्मिक महाकार्यक्रममा अहिलेसम्म ६६ करोड ३० लाखभन्दा बढी भक्तजनहरूले पवित्र स्नान गरेका छन् ।
उत्तर प्रदेशको राजधानी लखनऊबाट लगभग १९६ किलोमिटर दक्षिणमा रहेको प्रयागराजमा यो महोत्सव आयोजना गरिएको थियो ।
महाकुम्भ महोत्सव प्रत्येक १२ वर्षमा आयोजना हुने एक महा धार्मिक सभा हो । जनवरी २९ मा, पवित्र स्नानको अवसरमा त्रिवेणी संगममा हजारौं भक्तजनहरूको भीड लागेको बेला अवरोध भत्किएपछि बिहानै भागदौड मच्चिएको थियो । आधिकारिक रूपमा उक्त घटनामा ३० जना भक्तजनको मृत्यु भएको थियो भने ६० जना घाइते भएका थिए ।
पाकिस्तानमा सैन्य कारबाहीमा ६ आतङ्ककारी मारिए
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलहरूसँगको गोली हानाहानमा छ जना आतङ्ककारी मारिएको सेनाले जनाएको छ ।
पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा आतङ्ककारीहरूको उपस्थितिको सूचनामा गुप्तचरमा आधारित अपरेशन सञ्चालन गरेका एक विज्ञप्तिमार्फत जनाएको छ ।
आईएसपीआरको उत्तरी वजिरिस्तान जिल्लामा अपरेशनको क्रममा सुरक्षा बल र आतङ्कवादीहरू बीचको भिडन्तमा ६ आतङ्ककारी मारिएका छन् ।
मारिएका आतङ्ककारीहरूबाट हतियार र गोलाबारुद पनि बरामद गरिएको थियो, जो सुरक्षा बलहरू र सर्वसाधारणको हत्यामा सक्रिय रूपमा संलग्न थिए ।
आईएसपीआरले यस क्षेत्रमा फेला परेका अन्य आतङ्कवादीहरूलाई हटाउनको लागि उन्मूलन अपरेशन सञ्चालन भइरहेको बताएको छ ।
भनाभनपछि जेलेन्स्कीले छोडे वार्ता, ट्रम्पको टिप्पणीले विवाद निम्त्यायो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको वार्ता तनावग्रस्त बनेको छ । वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स समेत उपस्थित रहेका थिए ।
वार्ताको सुरुवात औपचारिक अभिवादनबाट भए पनि कुराकानी अघि बढ्दै जाँदा दुबै नेताबीच आरोप(प्रत्यारोप हुन थाल्यो । राष्ट्रपति ट्रम्पले युक्रेनलाई दिएको अमेरिकी सहयोगबारे प्रश्न उठाउँदै तेस्रो विश्वयुद्ध निम्त्याउने प्रयास भइरहेको आरोप लगाए । उनले अमेरिकाले सहयोग नगरे युक्रेन(रुस युद्ध दुई सातामा समाप्त हुने दाबी गरेपछि वार्ताको माहोल झन् तनावपूर्ण बन्यो ।
ट्रम्पको आरोपहरूप्रति असहमति जनाउँदै राष्ट्रपति जेलेन्स्कीले युक्रेनको सुरक्षाका लागि अमेरिका महत्त्वपूर्ण साझेदार रहेको र सहयोग जारी रहनुपर्ने बताए । तर, जब ट्रम्पले कठोर शब्द प्रयोग गर्दै जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्न आग्रह गरे, तब जेलेन्स्की बैठक छोडेर निस्किए ।
वार्ताको अप्रत्याशित अन्त्यपछि ह्वाइट हाउस र अन्तर्राष्ट्रिय समुदायमा विभिन्न प्रतिक्रिया आएका छन् । जेलेन्स्कीले अमेरिकाले अहिलेसम्म प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्दै युक्रेन-अमेरिका सम्बन्ध कुनै एक नेताको व्यक्तिगत सम्बन्धभन्दा माथि रहेको बताएका छन् ।
ट्रम्प र जेलेन्स्कीबीचको भनाभनले अमेरिका र युक्रेनबीचको सम्बन्धमा असर पार्ने देखिएको छ । युरोपेली संघका कूटनीतिज्ञहरूले यस घटनालाई गम्भीर रूपमा लिएका छन् । नाटोका महासचिवले युक्रेनलाई सहयोग जारी राख्नुपर्नेमा जोड दिएका छन् ।
यस घटनाले अमेरिका र युक्रेनबीच प्रस्तावित खनिज सम्झौतामा पनि प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । प्रारम्भिक वार्ताहरू सकारात्मक दिशामा गए पनि अहिले सम्झौता स्थगित भएको छ ।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्र्थ सोसलमा जेलेन्स्कीलाई कटाक्ष गर्दै अमेरिकी नागरिकहरूको अपमान गरेको आरोप लगाएका छन् । उनका समर्थकहरूले ट्रम्पको भनाइको समर्थन गरेका छन् भने विपक्षीहरूले यो घटनालाई कूटनीतिक असफलता भनेका छन् ।
यता, युक्रेनी अधिकारीहरूले ट्रम्पको टिप्पणीको खण्डन गर्दै युक्रेनले लोकतन्त्र र सार्वभौमिकताको पक्षमा संघर्ष गरिरहेको बताएको छ ।
विश्लेषकहरूका अनुसार, अमेरिकी सहयोगबिना युक्रेनको सुरक्षामा गम्भीर असर पर्न सक्छ । युक्रेनले अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँग सम्बन्ध अझ प्रगाढ बनाउन सक्ने अनुमान गरिएको छ ।
यस घटनाले आगामी अमेरिकी राष्ट्रपति चुनावमा पनि प्रभाव पार्ने संकेत देखिएको छ । ट्रम्पको कूटनीतिक शैली र युक्रेनप्रति उनको धारणा चुनावी बहसको मुख्य विषय बन्न सक्छ ।








