महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह

पर्वत । जिल्लाका स्थानीय तहहरूले महिलालाई मादल बजाउने वाद्यवादनसम्बन्धी तालिम पनि सञ्चालन गर्न थालेका छन् । महिलालाई स्रोजगार बनाउने उद्देश्यले यहाँका स्थानीय तहले महिलालाई वाद्यवादनसम्बन्धी तालिम दिन थालेका हुन् ।

कतिपय स्थानीय तहले कृषि, पशुपालन, फलफूलखेती, होजियारी, क्षमता विकासलगायत लोकसेवा तयारी कक्षाहरू सञ्चालन गर्दै आएका देखेपछि जिल्लाका कुश्मा नगरपालिका र मोदी गाउँपालिकाले महिलालाई मादल बजाउने तालिम सञ्चालन गरेका हुन् ।

कुश्मा नगरपालिकाले १२ वटा वडाका महिला सहकारी संस्था र आमा समूहमा आबद्व २८ जना महिलालाई १० दिने तालिम दिएको हो । महिलालाई वाद्यवादनको सीप सिकाएर आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले मादल बजाउने तालिम सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले बताए ।

“मादल बजाउने सीप परम्परागत भए पनि आधुनिक गीत, सङ्गीत र उपकरणका कारण नयाँ पुस्ताले भुलिसकेको अवस्थामा हामीले तालिम सञ्चालन गरेका हौँ । यसले कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन हुनुका साथै स्वरोजगारका अवसर सृजना हुने विश्वास लिएका छौँ”, उनले भने ।

बेरोजगार महिलाहरू गाउँ, टोल, समाज र ग्रामीण क्षेत्रमा हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रममा मादल बजाएर पनि आयआर्जन गर्न सकून् भन्ने मुख्य उद्देश्य रहेको उपप्रमुख रिजालले बताए ।

उनका अनुसार नगरको ७५ प्रतिशत लागत साझेदारी र महिला सहकारी संस्थाको २५ प्रतिशत साझेदारीमा मादल खरिद गरी महिला समूहलाई मादल हस्तान्तरण गरिएको छ ।

त्यस्तै, मोदी गाउँपालिकाले अध्यक्षसँग दिदीबहिनी कार्यक्रमअन्तर्गत महिलालाई मादल बजाउने सीप सिकाउने भएको छ । यही फागुन २० गतेदेखि १० दिनसम्म तालिम सञ्चालन गर्न थालिएको गाउँपालिकाकी अध्यक्ष हिरादवी शर्माले जानकारी दिए ।

बेरोजगार महिलालाई स्वरोजगार, सामाजिक योगदान तथा आत्मनिर्भर बनाउनका लागि पहिलोपटक तालिम सञ्चालन गर्न लागिएको उनले बताए ।

मोदी गाउँपालिकाले महिला सहकारी संस्था, महिला समिति तथा आमा समूहमा आबद्ध महिलामध्ये एक–एक जनालाई छनोट गरी तालिम दिने तयारी गरेको अध्यक्ष शर्माले बताए । उनका अनुसार पालिकाले सूचना प्रकाशन गरेर तालिम लिन इच्छुक महिलालाई सम्पर्कमा आउन पनि आह्वान गरेको छ ।

मादल बजाउन नजानेकै कारण ग्रामीण क्षेत्रमा रहेका मौलिक सांस्कृतिक भाकाहरू लोप हुँदै जान थालेका भन्दै तालिमले हाम्रा मौलिक भाका र संस्कृतिको संरक्षण र प्रवद्र्धन हुने उनले विश्वास व्यक्त गरे ।

हरेक कार्यक्रम र सभा–समारोहमा कलाकार बोलाउने र आधुनिक गीत बजाएर ‘स्पिकर’मार्फत मनोरञ्जन गर्ने प्रचलन हाबी भएकाले मौलिक संस्कृतिको जगेर्नाका लागि तालिम दिएर महिलालाई यसतर्फ आकर्षित गर्न खोजिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत बाबुराम पुरीले बताए । दश दिनसम्म सीप सिकेपछि महिलाले जस्तोसुकै कार्यक्रममा पनि वाद्यवादकका रूपमा काम गर्न सक्ने उनको विश्वास छ ।

“हामीले लोकसेवा, शिक्षकसेवा, एसएलसी तयारी कक्षा, पशुपालन, बाख्रापालन, कुखुरापालन, मिनिटेलर मर्मत, कृषि तथा शैक्षिक विकासका तालिमहरू पनि दिँदै आएका छौँ, यसपटक महिलाहरूको धेरै माग भएकाले मादल बजाउने तालिम सञ्चालन गरेका हौँ”, पुरीले भने ।

जिल्लाको महाशिला, पैंयूँ र विहादी गाउँपालिकामा शिक्षक सेवा आयोग र लोक सेवा आयोगको तयारी कक्षाहरू सञ्चालन गरिएका छन् । महिलाको क्षमता र नेतृत्व विकासका लागि स्थानीय सरकारले विभिन्न तालिम तथा क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =