दसौं राष्ट्रिय खेलकुदको मिति फेरी सर्यो, अब कहिले ?

काठमाडौं । कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको मिति तेस्रो पटक सरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेसंगै दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता मिति तेस्रो पटक सरेको हो ।
यसअघि राखेपको ११८ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो। त्यसअघि प्रतियोगिता मंसिरमा गर्ने भनिएको थियो।
साथै नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल सङ्घलाई निलम्बन गर्ने निर्णय गरिएको छ । निलम्बनमा परेका राष्ट्रिय खेल सङ्घमा नेपाल ब्याडमिन्टन सङ्घ, नेपाल टेनिस सङ्घ, नेपाल साइक्लिङ सङ्घ, नेपाल एथलेटिक्स सङ्घ, नेपाल जिम्न्याष्टिक सङ्घ र नेपाल भारोत्तोलन सङ्घ रहेका छन् ।
राखेप कार्यकारी समितिको बैठकले उक्त ६ खेल सङ्घलाई कारबाही स्वरुप निलम्बन गर्न गरेको सिफारिसलाई राखेप बोर्ड बैठकले अनुमोदन गरेको हो ।








