‘बेबी कर्न’ को जातिय परीक्षण सुरु

चितवन । तरकारी खाने मकै (बेबी कर्न) को जातिय परीक्षण सुरु गरिएको छ । पूर्वी चितवनको कालिका नगरपालिकामा यो परीक्षण सुरु गरिएको हो ।

कालिका नगरपालिका–१ मा करिब तीन कठ्ठा जग्गालाई १४ वटा प्लटमा विभाजन गरी सात प्रजातिका बेबी कर्नको जातिय परीक्षण सुरु गरिएको कृषि विकास कार्यालय चितवनका सूचना अधिकारी सुरुची त्रिपाठीले जानकारी दिए ।

उनका अनुसार सिपी ८०८, जेकेएमएच ५०२, रामपुर हाइब्रिड १०, १२ र १६, एमएम ११०७ र राजकुमार जातका मकैको जातिय परीक्षण सुरु गरिएको हो । अन्य मकैको खेती गर्दै आएका किसानलाई लक्षित गर्दै यो परीक्षण सुरु गरिएको हो ।

स्थानीय विवस भट्टको जग्गामा यी जातका बेबी कर्नको परीक्षण सुरु गरिएको हो । जहाँ जातिय परीक्षण, झारपात व्यवस्थापन र मलखाद व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरिने छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका सहप्रध्यापक डा माधवप्रसाद न्यौपानेले यहाँ परीक्षण गर्न लागिएका सात जातमध्ये छ वटा जातको परीक्षण पहिलो पटक गर्न लागिएको बताए । उनले भने,“यसअघि रामपुर हाइब्रिड १० को कृषि तथा वन विज्ञान विश्व विद्यालयमा परीक्षण गरिएको थियो ।”

यो मकैको कलिलो खोयालाई तरकारी र सलादको रुपमा प्रयोग गर्न सकिने छ । यो मकैप्रति हेक्टर क्षेत्रफलमा एक लाख २५ हजार बिरुवा लगाउन सकिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लगाइएको ५० देखि ७० दिनमा उत्पादन लिई सक्नुपर्ने हुन्छ ।”

यो मकै भाँच्ने समयमा ध्यान दिन नसके खान मिल्ने कलियो खोया कडा रुपमा परिणत हुने भएकाले उहाँले सतर्कतापूर्वक परीक्षण गर्न लागिएको बताए ।

पटक लगाएको बिरुवाबाट चार पटकसम्म उत्पादन लिन सक्ने भएकाले अर्को मकैको ठाउँमा यो मकै कृषकका लागि उत्तम हुने उनले जानकारी दिए ।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले प्रदेश सरकारको स्वीकृत कार्यक्रमअनुसार चितवनमा पहिलो पटक परीक्षणका रुपमा खेती सुरु गरिएको बताउनुभयो । प्रसारका कार्यक्रम अन्तर्गत प्रबिधिको प्रयोग र नयाँ उत्पादनको खोजी गरिएको उनले बताए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय र कृषि विकास कार्यालयको सहकार्यमा उन्नत प्रविधि प्रदर्शनीअन्तर्गत यो परीक्षण गरिएको हो । उनले भने, “यो बीउ परीक्षणले जिल्लामा कुन जात सफल हुन्छ भन्ने कुरालाई अनुसन्धानका लागि सहयोग पुग्ने छ ।” परीक्षणले किसानलाई जात सिफारिस गर्न सहज हुने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fifteen =