राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस

पोर्चुगल । स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले स्पेनका राजा फिलिप छैटौँसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । ङ्गलबार म्याड्रिडस्थित राजदरबारमा आयोजित विशेष समारोहकाबीच राजदूत नेपालले राजा फिलिपसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत नेपालले राजासँग केहीसमय शिष्टाचार भेटवार्ता गरेका थिए । भेटवार्तामा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोसहित सहयोग अभिवृद्धिका बारेमा छलफल भएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ ।

राजदूत नेपालले राजा फिलिपसँगको भेटमा नेपालको परराष्ट्र नीतिको प्राथमिकता, विकासका योजना र कार्यक्रम तथा जलवायु परिवर्तनलाई सम्बोधन गर्ने प्रयासका बारेमा राजालाई अवगत गराए ।

यसैगरी जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा देखापरेका समस्या र वातावरणीय चुनौतीका सामना गर्न अन्तर्राष्ट्रियस्तरमा सहयोग र सहकार्यमा आवश्यक रहेको उनले जानकारी दिए ।

भेटका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश सुनाउँदै राजदूत नेपालले राजा फिलिपलाई नेपाल भ्रमणका लागि आग्रह गरेकामा राजा फिलीपले आफूले धेरै अगाडि नेपाल भ्रमण गरेको स्मरण गर्दै पुनः नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको राजदूत नेपालले राससलाई जानकारी दिए ।

नेपालप्रति राजाले विशेष सद्भावका साथ चासो व्यक्त गर्नुभएको र नेपालको विषयमा खुलेर कुरा गरेको उनले जानकारी दिए । सो अवसरमा राजदूत नेपाललाई बधाई ज्ञापन गर्दै राजा फिलीपले सफल कार्यकालको शुभकामनासमेत दिनुभएको थियो ।

त्यसैगरी राजदूत नेपालले स्पेनस्थित विदेश मन्त्रालयका दक्षिण तथा पूर्व एसिया हेर्ने उपमहानिर्देशकसँगसमेत भेटवार्ता गरेका थिए । उक्त समारोहमा राजदरबारका प्रोटोकल प्रमुख, विदेश मन्त्रालयका अधिकारी, नेपाली दूतावासका कर्मचारी र स्पेनिस सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थिति रहेको दूतावासले जनाएको छ ।

नेपालले गत महिना म्याड्रिड पुगेर राजदूतको जिम्मेवारी सम्हाल्नु भएको हो । कूटनीति, राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास र नीति निर्माणलगायतका विषयमा विज्ञका रूपमा काम गर्दै आउनुभएका नेपाललाई राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर २८ गते राजदूतमा नियुक्त गरेका थिए । नेपाल र स्पेनबीचमा सन् १९६८ मा दौत्य सम्बन्ध स्थापना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =