संवैधानिक व्यवस्थाअनुसार नै ताप्लेजुङमा केबलकार निर्माण हुन्छ : योगेश भट्टराई

काठमाडौँ । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले संवैधानिक व्यवस्थाअनुसार नै ताप्लेजुङ मा केबलकार निर्माणको काम अगाडि बढेको दाबी गरेका छन् ।
आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै केबलकार निर्माणको जिम्मेवारी निजी संस्थालाई दिएको दाबी गरेका हुन् ।
उनले विकास निर्माणको विरोध गर्ने अधिकार सबैलाई भएपनि त्यसको सीमामा रहेर विरोध गर्नुपर्ने बताए ।
उनले केबलकार विरोधी समूहले शनिवार राति मसाल जुलुस गर्ने क्रममा स्थानीयको घरमा आगोको मुस्लो फाल्ने काम गरेको समेत आरोप लगाए ।
उनले केबलकार निर्माणको विषयमा धर्म र संस्कृतिमाथि व्यक्तिको निजी स्वार्थ प्रयोग गरिएको बताए । उनले विकास निर्माण र धर्मसंस्कृतिमाथि राजनीति प्रवेश गराउँदा त्यसले डरलाग्दो रूप लिने समेत बताए । ‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले संवैधानिक व्यवस्थाअनुसार नै ताप्लेजुङमा केबलकार निर्माण गर्न एउटा निजी संस्थालाई जिम्मेवारी दिएको छ । विरोध गर्ने अधिकार सबैलाई हुन्छ । तर विरोधका सीमा हुन्छन् सभामुख महोदय । त्यसलाई सभ्य, संयमित र शान्तिपूर्ण ढंगले अगाडि बढाउनुपर्छ भन्ने हामी सबैको मान्यता हो । तर दुर्भाग्यवश हिजो बेलुका केबुलकार विरोधी समूहबाट भएको मसाल जुलुसको क्रममा ताप्लेजुङ बजार एकदमै अशान्त भयो’ उनले भने ।
उनले नेपालजस्तो लोकतान्त्रिक मुलुकमा यस्तो परिस्थिति निर्माण हुनु आफैँमा दुःखद् भएको भन्दै वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए ।








