रास्वपाको राजनीतिक प्रशिक्षण सञ्चालन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिका सदस्यहरुलाई राजनैतिक प्रशिक्षण सञ्चालन गरेको छ । हिजो (शुक्रबार) देखि सञ्चालन भएको राजनैतिक प्रशिक्षणको पाठ्यक्रम केन्द्रीय समितिबाट स्वीकृत गरेको थियो ।
नयाँ बन्दै गरेको संगठनलाई प्रशिक्षण गर्दै जाने योजना स्वरुप रास्वपाले केन्द्र देखि प्रशिक्षण आरम्भ गरेको छ । यस अघि उपलब्ध विज्ञको आधारमा रास्वपाले प्रशिक्षण गर्दै आएको थियो ।
रास्वपाको स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थली काठमाडौँमा आयोजना भएको हो । पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्यालले प्रशिक्षणको औचित्य र महत्त्व बारे प्रकाश पार्दै प्रशिक्षण सुरु भएको थियो ।
प्रशिक्षणमा कार्यवाहक सभापति डोल प्रसाद अर्याल, उपसभापति डा.स्वर्णिम वाग्लेले, कार्यवाहक महामन्त्री, सहमहामन्त्रीहरु, कोषाध्यक्ष, सहकोषाध्यक्ष, केन्द्रीय सदस्यहरु, सांसदहरुको उपस्थिति रहेको थियो ।
रास्वपाले यो प्रशिक्षणमा मुलतः ६ वटा मुख्य विषयहरु प्रशिक्षणमा समेटेको छ ।
१) राजनीतिक प्रशिक्षण
२) शासन प्रणाली
३)समाज, सामाजिक न्याय र कानुन
४) अर्थराजनीति र भूराजनीति
५) सांगठनिक, जिम्मेवारी र लक्ष्य
६) प्रशासनिक ब्यवस्था
प्रशिक्षणका ६ मुख्य शिर्षकहरुलाई १५ भागमा विभाजन गरी कुल ५६ वटा विषयहरुमा दुईदिने प्रशिक्षण सञ्चालन भएको छ ।
प्रशिक्षणमा कक्षागत प्रशिक्षण, ब्यवहारिक अभ्यास र दस्तावेज अध्ययनलाई विधिको रुपमा लिइएको छ । जसमा व्याख्यान, प्रस्तुति, र समूह छलफल, घट्ना अध्ययन, भूमिकानाटक, र सामुहिक कक्षा, सम्बन्धित पुस्तक, संविधान, र पार्टी दस्तावेजहरू अध्ययन जस्ता विधिहरु समावेश गरिएको छ ।
रास्वपाले केन्द्रीय प्रशिक्षणमा प्रयोग गरेको सामाग्रिका आधारमा प्रदेश, जिल्ला र स्थानीय पालिका संगठनलाई समेत प्रशिक्षण दिने तयारी गरेको छ । पार्टीले प्रशिक्षणको मुल्यांकन विधि समेत बनाई मुल्यांकन गर्ने गरेको छ ।








