खबर दिनभर : प्रचण्डमाथि ओलीको कटाक्षदेखी नेपाली विद्यार्थीको सुरक्षा भारतको प्राथमिकतामासम्म

सबै धर्म र सम्प्रदायको लक्ष्य मानव सेवा हो : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै भएको बताएका छन् ।
श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिले धरानमा निर्माण गरेको धर्मशाला उद्घाटनपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भने,“जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै हो, हरेक धर्म, सम्प्रदायलाई यही रुपमा बुझ्नसके यसले समाजमा सहिष्णुता बढाउन मद्धत पुग्छ भन्ने म ठान्दछु ।”
राष्ट्रपति पौडेलले हाम्रा धर्मशास्त्रहरूले पनि सेवालाई अत्यधिक महत्व र प्रधानता दिएको बताए । उनले भने,“वेदव्यासले पनि अठार पुराण रचना गरिसकेपछि निष्कर्षमा ‘परोपकार पुण्याय, पापाय परपिडनम’ भन्नुभएको छ ।”
हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र एक्यवद्धता देख्न सकिने उनको भनाइ थियो ।
राष्ट्रपति पौडेलले यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्धत गर्न सक्नुपर्नेमा उनले जोड दिए । “यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ, आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महसुस वर्तमान विश्वले गरिरहेको छ, आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिका लागि भौतारिहेको यहि कारण हो”, राष्ट्रपति पौडेलले भने ।
विश्वमा चरम भौतिक विकासको चाहना र होडबाजी बढेको र यसका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कदा रहेको उनको भनाइ थियो ।
“यो कुरा हामीले हाम्रै समाजमा पनि अनुभव गरिरहेका छौँ, यस्तो अवस्थामा नेपालमा निजानन्द सम्प्रदायले चलाएको आध्यात्मिक जागरण र मानव सेवा अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भने ।
राष्ट्रपति पौडेलले हाम्रो वैदिक सनातन हिन्दु धर्म प्राचीनकालदेखि चलिरहेको धर्म भएको र यो धर्मको विराटस्वरुपका कारण यसअन्तर्गत विभिन्न संप्रदायहरूको सृजना हुनु स्वभाविक नै मान्न सकिने धारण व्यक्त गरे ।
उनले यस धर्मशाला भवनलाई मानवीय सेवा र भावनाले अभिप्रेरित एउटा अर्कै मन्दिरको स्वरुपमा खडा भएको आफूले अनुभूति गरेको पनि उल्लेख गरे । त्यसअवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की तथा जगद्गुरु श्रीकृष्णमणि महाराजलगायतले पनि शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा राष्ट्रपति पौडेलले राधाकृष्ण मन्दिरमा आरती पनि गरेका थिए ।
टिकटक बन्द गर्नेहरु नै आज बोल्न पाउनुपर्छ भनेर उफ्रिरहेका छन् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालसम्बन्धी विधेयकको मस्यौदा लेख्ने राजनीतिक दलहरु नै त्यसको बिरोधमा उत्रिएको टिप्पणी गरेका छन् ।
विरोध गर्ने पार्टीहरुले नै सामाजिक सञ्जाल सम्बन्धी विधेयकको मस्यौदा तयार पारेको बताएका हुन् ।
शुक्रवार ‘राजेशकाजी श्रेष्ठः व्यक्तित्व र योगदान’ नामक पुस्तक विमोचन समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै हिजो टिकटक बन्द गर्नेहरु नै अहिले बोल्न पाउनुपर्छ भनेर उफ्रिने गरेको बताए ।
उनले अध्यक्ष दाहाललाई त्यतिबेला टिकटक किन बन्द गरेको ? भन्दै प्रश्न समेत गरे ।
उनले भने– ‘केही मान्छेले हिजो मसँगै बसेर कानूनको मस्यौदा गरेका हुन् । अहिले सामाजिक सञ्जालको विषयमा जो हल्ला गर्ने, चर्का कुरा गर्ने र विरोध गर्ने संसदमा भएका पार्टीहरु खासगरि माओवादी लगायतका पार्टीहरुले हिजो हामीसँगै बसेर कानूनको मस्यौदा बनाएका हुन् । अनि टिकटकमा प्रतिवन्ध नै लगाएका हुन् । अहिले बहुत हिमायति निस्किएका छन् फेरि । बोल्न त पाउनुपर्छ भनेर उफ्रिएका छन् । टिकटकलाई किन प्रतिवन्ध लगाएको त त्यतिबेला रु जे पनि होइन ठिक कुरा बोल्नुपर्छ ।’
उनले व्यवस्थामा मात्र नभई जनताको अवस्थामा समेत परिवर्तन आएको बताए । उनले ७७ वटै जिल्लाका सदरमुकामहरुमा मोटर बाटो पुर्याएको दाबी गरे ।
पहिचान र अधिकारका मुद्दालाई छाडेका छैनौँ : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले पहिचान र अधिकारका मुद्दालाई कहिल्यै पनि नछाडेको बताएका छन् ।
पोखरामा शुक्रवार तमु राष्ट्रिय मुुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले संविधान निर्माणका बेलामा पहिचानका सन्दर्भमा फरक मत दर्ज गरिएको उल्लेख गरे ।
“उत्पीडित वर्ग र जातिका अधिकारलाई सकेको जति संविधानमा लिपिबद्ध गरेका छौँ, गर्न नसकेका कुरामा भिन्न मत लेखेका छौँ । हामीले बीचमा हाम्रो वर्ग, समुदाय र हाम्रा मुद्दाहरू कमजोर गरी समात्यौँ । समात्न छाडेका त थिएनौँ, दरिलो गरी समात्न सकेका थिएनौँ । अब सबैको एकताबद्ध प्रयासले पहिचान र अधिकारको मुद्दालाई अगाडि बढाउछौँ”, अध्यक्ष दाहालले भने ।
अध्यक्ष दाहालले पार्टी वि.सं।. २०८४ को आगामी निर्वाचनसम्म सरकारमा नजाने स्पष्ट पारे । उनले एक्लै चुनाव लड्ने र जनतालाई बलियो बनाएर बहमुत ल्याउने दाबी गरे ।
उनले भने, “कांग्रेस र एमालेले अर्को चुनाव मिलेर लडुन् । हामी एक्लै जनतामा जान्छौँ, जनताको तागतमा विश्वास गर्छौँ । तपाईहरू एकताबद्ध हुनुस्, आफ्नो तागत देखाउनुस् ।”
अध्यक्ष दाहालले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताए । उनले संविधान संशोधन गर्ने भए निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको व्यवस्थाका लागि संशोधन हुनुपर्ने बताए । “हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौँ । यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ ।”
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरूङले जातीय समस्या वर्गीय समस्याकै भिन्न रूप भएको बताए । उनले समाजवादमा मात्र वर्गीय र जातिय समस्याको समाधान गर्न सकिने बताए ।
अध्यक्ष दाहालको नेतृत्वमा पार्टी अहिले एकताबद्ध रूपमा अघि बढाइने बताउनुभयो । “राष्ट्रियता र समाजवादी क्रान्ति एकअर्कासँग निर्भर छन् । समाजवादले मात्र वर्गीय र जातीय समस्याको सम्बोधन गर्न सकिन्छ । उत्पादनका साधनमाथि जनताको स्वामित्व कायम गरेर मात्र यो कार्यभार पूरा हुन्छ”, उनले भने ।
माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वसभामुख ओनसरी घर्तीले माओवादी जनयुद्धका कारणले मात्र नेपालमा उत्पीडित जाति र समुदायले हक अधिकार पाएको बताए ।
कार्यक्रममा वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा देशका विभिन्न पालिकामा विजयी भएका तमु जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।
सरकार दुई दलीय व्यवस्थाको नाममा तानाशाही व्यवस्था लागू गर्न खोज्दैछ : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले काँग्रेस(एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौति दिँदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको आरोप लगाएका छन् ।
शुक्रवार पार्टी केन्द्रिय कमिटिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सरकार दुई दलीय व्यवस्थाको नाममा एकदलीय तानाशाही व्यवस्था लागू गर्न खोजेको आरोप लगाउनुभएको हो । साना र प्रतिष्पर्धी दलहरुलाई समाप्त पारेर सिंगो देशमा तानाशाही लागू गर्ने कुचेष्टा भइरहेको उनको भनाइ छ ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान मिच्न बानी परेकाहरु कानून मिच्न पनि त्यत्ति नै अग्रसर देखिएको टिप्पणी गर्नुभयो । उहाँले सरकारले संसदको नियम र नियमावली समेत मिच्ने काम गरिरहेको आरोप लगाए ।
उनले वर्तमान सरकार आलोचकको घाँटी निमोठ्ने गरी प्रश्तुत भइरहेको समेत उल्लेख गरे । उनले देशभित्र छुवाछुत र महिला बलात्कारका घटनाहरु बढिरहेको भएपनि अपराधीहरु दण्डित नभएको जिकिर गर्नुभयो । उहाँले समाजमा विद्यमान समसस्याहरुको समाधान गर्न पार्टी संगठनलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताए ।
उनले भने,‘हाम्रो देशमा अहिले जुन सरकारले शासन गरिरहेको छ त्यो बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौति दिँदै दुईदलीय साशन व्यवस्थालाई अघि बढाउन खोजिरहेको छ । दुई दलीयको नाममा एकदलीय तानाशाही लाग्ने सोचभन्दा त्यो भिन्न कुरा छैन । यी सबै कुराहरुको सन्दर्भमा साना दलहरुलाई समाप्त पार्ने, प्रतिष्पर्धी दलहरुलाई समाप्त पार्ने र अनेक किसिमका नियन्त्रणका तौर तरिका अपनाएर सिंगो देशमा तानाशाही लागू गर्ने कुचेष्टा गरिरहेको छ । संविधानलाई मिच्ने बानि परिसकेका व्यक्तिहरु कानून मिच्न पनि त्यत्ति नै अग्रसर भएका छन् । संसदको नियम र नियमावलीलाई मिच्नेदेखि लिएर विधि विधानलाई बेवास्ता गर्ने काम गरिरहको छन् । र आफ्ना आलोचक कोही छन् भने तिनिहरुको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेका छन् । देशको समस्याप्रति कुनै वास्ता छैन । जनताको समस्याप्रति कुनै चासो छैन । देश विकासप्रति कुनै गम्भिरता छैन ।’
उनले पार्टीबारे समाजमा विभिन्न कुप्रचारहरु गरिएको बताउँदै त्यस्ता कुप्रचारको भ्रममा नेपर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।
संसद् छँदै जथाभावी अध्यादेश ल्याउनु राम्रो होइन : डा.शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशमा अझै सुशासन कायम हुन नसकेको बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा नेपाली कांग्रेसको पूर्वआप्रवासी समन्वय विभागद्वारा शुक्रवार आयोजित ‘विदेशदेखि स्वदेशसम्म’ विषयक प्रदेश भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले सुशासनकै लागि वर्तमान सरकार गठन भएपनि अपेक्षित उपलब्धि नभएको बताए ।
उनले सरकारले अध्यादेश ल्याएर गलत गरेको टिप्पणी गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले भने,“संसद् छँदै जथाभावी अध्यादेश ल्याउनु राम्रो होइन ।”
नेता कोइरालाले पार्टीभित्र वा पार्टी बाहिरकाले सरकारको खबरदारी गरिरहेको बताए । उनले वि.सं. २०८४ अघि नै कांग्रेस पार्टीको महाअधिवेशन गर्नुपर्ने सुझाव दिए ।
सत्ता गठबन्धनबीच भएको सात बुँदे सहमति कार्यान्वयन नभएको र सरकार सुशासनका साथै अर्थतन्त्र सुधारमा कमजोर देखिएको उनको भनाइ थियो ।
पार्टीलाई जनतासँग जोड्न ‘जरा अभियान’ : शङ्कर पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी र जनताबीचको सम्बन्धलाई कसिलो बनाउन पार्टीले ‘जरा अभियान’ सञ्चालन गरेको बताएका छन् ।
एमाले कास्कीद्वारा शुक्रवार पोखरामा आयोजित वडा केन्द्रित पार्टी निर्माण अभियान अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले अभियानको भावना र मर्मलाई सार्थक बनाउन जनताको घरघरमा पुग्न कार्यकर्तालाई निर्देशन दिए ।
जनताको बहुदलीय जनवाद विचार र नेतृत्वमा कुनै पनि विवाद नरहेको बताउँदै उनले समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्न कार्यकर्ता सङ्गठित भएर लाग्नु पर्नेमा जोड दिए ।
सङ्गठित शक्तिले मात्र समाज परिवर्तन गर्न सक्दछ भन्दै उहाँले पार्टीको सङ्गठानात्मक शक्तिलाई बलियो बनाउन विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताए । पार्टीले लिएका अभियान पूरा गर्न निर्वाचनमा पहिलो पार्टी बनाउनेततर्फ जुट्न जनप्रतिनिधि र कार्यकर्तालाई उनको आग्रह थियो ।
मुलुकको अस्थिर राजनीतिक अवस्थाका कारण जनतामा बढेको नैरास्यता हटाउन एमाले र कांग्रेसको गठबन्धन सरकार बनेको बताउँदै उनले सात बुँदे सहमतिका आधारमा बनेको यो गठबन्धन पुरै अवधि कायम रहने बताए ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मुलुकको नेतृत्व गर्ने सशक्त पार्टीका रूपमा स्थापित गर्न लाग्नुपर्ने आवश्यकता औँल्याए ।
देशको आवश्यकतालाई दृष्टिगत गर्दै प्रमुख पार्टीहरू सम्मिलित वर्तमान सरकार बनेको बताउँदै उहाँले सरकार गठन भएपछि अस्थिरताको अन्त्यसँगै सुशासन र समृद्धिको जनतामा आशा जगाएको बताए ।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका गुरूङले जनचाहनाअनुसार सरकार अघि बढिरहेको बताउँदै स्थिर सरकारको कारण छिमेकी मुलुक भारत र चीनको विकासमा तीव्रता आएको बताए ।
पार्टी सचिव पद्मा अर्यालयले पार्टी भित्रको अवसरवाद र सङ्गठनात्मक अराजकताको अन्त्यका लागि कार्यकर्ता सङ्गठित हुनुपर्ने बताए । नमिलेका मनलाई मिलाउन पार्टीभित्र छलफल गरी एकता कायम गर्नुपर्नेमा उनको जोड थियो ।
एमाले स्थायी कमिटी सदस्य एवं निवर्तमान गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पार्टी र सरकारले गरेका राम्रा काम जनता समक्ष पुर्याउन कार्यकर्तालाई आग्रह गरे ।
एमाले केन्द्रीय सदस्य एवम् कास्की ईन्चार्ज कृष्ण थापाले पार्टी सुदृढीकरणका लागि टोलटोलमा पुगेर विकास निर्माणसहित जनभावना बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
जिल्ला कमिटी कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भेषराज बराल र सचिव दर्शन लामाले पार्टीको वर्तमान अवस्था र अभियान सञ्चालनका सम्बन्ध प्रकाश पारेका थिए ।
मेयर बालेन्द्र शाहको ट्रम्पलाई कडा जवाफ( ‘हामी गरिब छौँ, तपाईंहरू अल्छी हुनुहुन्छ !’
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई तीखो जवाफ दिएका छन् । नेपाललाई प्रदान गरिने अमेरिकी अनुदानबारे ट्रम्पले दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै शाहले अमेरिकी नागरिकहरूलाई ‘अल्छी’ भएको बताएका छन् ।
शाहले ट्रम्पलाई सम्बोधन गर्दै भनेका छन्, ‘प्रिय डोनाल्ड जे। ट्रम्प, हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भन्ने महसुस गराइदिनुभएकोमा धन्यवाद ! हामी गरिब छौँ किनभने हाम्रा नागरिकहरू आफ्नै देश छोडेर जानुपर्छ । तर तपाईंहरू गरिब हुनुहुन्छ किनभने तपाईंका नागरिकहरूले तपाईंको देश बनाउन सक्दैनन् । तपाईंहरू अल्छी हुनुहुन्छ, त्यसैले बाँकी संसार तपाईंहरूको लागि आवश्यक छ।’
मेयर शाहले अमेरिकी ‘डिभी लटरी’ कार्यक्रमलाई ‘दासत्व’ को संज्ञा दिँदै त्यसलाई बन्द गर्न आग्रह गरेका छन् । उनले थप लेखेका छन्, ‘कृपया आफ्नो डिभी दासत्व अन्त्य गर्नुहोस्। हामीले हाम्रा बहुमूल्य प्रतिभा (रत्न) फिर्ता पाउनेछौँ । आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस्, र संसारलाई स्वतन्त्र रूपमा विकास गर्न दिनुहोस् ।’
प्रधानमन्त्रीलाई बालेन शाहको प्रश्न : नेपालीको स्वाभिमान कहिले जोगिन्छ ?
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली नागरिकका लागि सम्मानजनक जीवनयापनको आधार सुनिश्चित गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्ना विचार व्यक्त गर्दै मेयर शाहले विदेशी राष्ट्रहरूले नेपाललाई हेप्ने गरेकोप्रति गम्भीर चिन्ता व्यक्त ग रे। उनले आफू मेयरभन्दा पहिले एक नेपाली नागरिक भएको उल्लेख गर्दै, देशभित्रै स्वाभिमानपूर्वक बाँच्न सक्ने वातावरण तयार गर्न सरकारलाई अपील गरेका छन् ।
उनले आफ्नो सन्देशमा लेखेका छन्, ‘प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिखारी भनिसक्यो, चीनले हामीलाई गन्दैन। मलाई मेयर भनेर नहेरिदिनुहोस्, तर कृपया नेपाली भएर बाँच्ने आधार त दिनुस् ।’
माओवादी केन्द्र : प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद्को मुद्दा लिएर जनतामा जाँदै
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले यही फागुन १२ गतेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दा लिएर जनजागरण अभियान सञ्चालन गर्ने भएको छ ।
गत पुसमा सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयानुसार आगामी चैत ८ गतेसम्म हुलाकी मार्ग एवं पूर्वपश्चिम लोकमार्गमा आधारित ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ सञ्चालन गर्न लागिएको माओवादीले जनाएको छ ।
कोशी प्रदेशको झापाबाट सुरू हुने सो अभियान मोरङ र सुनसरी, मधेसको सर्लाही, रौतहट, बारा र पर्सा, बागमतीको चितवन, गण्डकीको नवलपुर, लुम्बिनीको परासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया तथा सुदूरपश्चिमको कैलाली र कञ्चनपुर पुगेर सकिनेछ ।
अभियानका क्रममा संविधान संशोधनका नाममा महिला, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिमलगायत समुदायले प्राप्त गरेको समानुपातिक प्रतिनिधित्विको अधिकार थप बलियो बनाउन उत्पीडित समुदायको पक्षमा दृढतापूर्वक उभिने प्रण गरिने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
“अब संविधान संशोधन गरेर नेपाली विशेषतासहितको कार्यकारी राष्ट्रपति मोडेलमा जानुपर्छ”, उनले भने,“भ्रष्टाचारको मूल कारक निर्वाचन प्रणाली हो, पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट संसद् र विज्ञमध्येबाट मन्त्रिपरिषद् गठन हुनुपर्छ ।”
सो क्रममा मिटरब्याजका साथै तराई–मधेसका किसानका समस्या समाधान, महँगी कालोबजारी, मूल्यवृद्धि नियन्त्रण, जनसरोकार, जनजीविका र स्थानीय विकास निर्माणसँग सम्बन्धित समस्या समाधानका लागि सरकारलाई दबाब दिइने माओवादीले जनाएको छ ।
करिब एकमहिना चल्ने सो अभियानमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेता कार्यकर्ता सहभागी हुनेछन् । माओवादीले यसअघि गत भदौमा पनि तीनमहिने अभियान सञ्चालन गरेको थियो ।
फरक प्रसङ्गमा माओवादी प्रवक्ता सापकोटाले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यले आ–आफ्नो सम्पत्ति विवरण पार्टी केन्द्रीय समितिमा बुझाउने निर्णय भएको जानकारी दिए ।
उनले विगतका गल्ती कमजोरी स्वीकार्दै, आत्मसमीक्षा गरेर रूपान्तरण र शुद्धीकरणतर्फ पार्टी अघि बढिरहेको स्पष्ट पारे ।
निजामति विधेयकबारे छलफल गर्न ११ सदस्यीय उपसमिति गठन
निजामति सेवा विधेयकमाथि छलफल गरी छिटो टुंगो लगाउन भन्दै उपसमिति गठन भएको छ । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले निजामति सेवा विधेयकमाथि छलफल गर्न भन्दै नेपाली काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।
११ सदस्यीय उपसमितिलाई १ महिनाभित्र विधेयक निजामति सेवा विधेयकबारे छलफल गरी समितिमा प्रतिवेदन पेश गर्न समय दिइएको छ ।
समिति सभापति रामहरि खतिवडाले उपसमितिमा अशोक राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की, दिलेन्द्रप्रसाद बडू, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहेको बताए ।
उनले उपसमितिले विधेयकमाथि छलफल गरी छिटो भन्दा छिटो टुंग्याउन आग्रह गरे ।
स्ववियु निर्वाचनको तालिका सार्वजनिक
आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । यसैबीच शुक्रवार त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।
निर्वाचन तालिका अनुसार संघ संगठन, समूह दर्ता गर्ने अन्तिम समय फागुन १९ गते दिइएको छ । २१ गते मतदाता सूची प्रकाशन गरिनेछ ।त्यस्तै २७ गते उम्मेदवारी दर्ता गर्न सकिने जनाइएको छ ।
त्यस्तै उम्मेदवारहरूको लागि चैत २ गते राती १२ बजेपछि मौन अवधि लागू हुनेछ भने चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।
भारतले भन्यो – नेपाली विद्यार्थीको सुरक्षा उच्च प्राथमिकतामा
भारतस्थित ओडिसाको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा रुपन्देहीकी विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएपछि भारतले विदेशी विद्यार्थीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको बताएको छ ।
भारतीय विदेश मन्त्रालयले शुक्रबार विदेशी विद्यार्थीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जनाएको हो । शुक्रबार नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई जवाफ दिँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विदेशी विद्यार्थीहरूको सुरक्षालाई भारत सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन् ।
जयसवालले नेपाली विद्यार्थीको सुरक्षा र जनकल्याणमा आवश्यक सबै कदम चालिने समेत बताए ।
सुनको मूल्यमा गिरावट
नेपाली बजारमा कारोबार साताको अन्तिम दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९शुक्रबार० सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
आयोजक ब्लेजर्स भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश
दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्स सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा शुक्रवार भएको पहिलो क्वाटरफाइनल नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजक ब्लेजर्स सेमिफाइनलमा प्रवेश गरेको हो ।
ब्लेजर्सका लागि मिलन राईले खेलको ७२ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई १–० को स्थितिमा पुर्याए । पहिलो गोल भएको दुई मिनटमा ब्लेजर्सका राईले पेनाल्टीमार्फत टोलीका लागि दोस्रो गोल गरे । पुलिसका लागि दोस्रो हाफको अतिरिक्त समयमा प्रशान्त कुँवरले एक गोल फर्काए ।
ब्लेजर्सका लागि दुई गोल गरेका राई प्लेयर अफ द म्याच भएका छन् । भोलि हुने दोस्रो क्वाटरफाइनलमा झापा–११ र चर्च बोइज युनाइटेडबीच खेल हुनेछ ।
प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता-२०२५ को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार प्रतियोगिताको पहिलो दिन तीन खेल हुनेछन् ।
पहिलो दिन सिद्धार्थ रंगशालामा कोसी प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, एक्स्ट्राटेकमा वाग्मती प्रदेशले एपीएफको सामना गर्दा लमहीमा कर्णालीले सुदूरपश्चिम प्रदेशविरुद्ध खेल्ने छ ।
प्रतियोगिताको फाइनल खेल चैत १६ गते सिद्धार्थ रंगशालामा हुने क्यानले जनाएको छ । प्रतियोगितामा सात प्रदेशसँगै तीन विभागीयसहित कुल १० टोलीले सहभागिता जनाउने छन् ।
प्रतियोगिता फागुन २५ देखि चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।








