खबर दिनभर : प्रजातन्त्र दिवस मनाइयो,राजाको सन्देशले राप्रपा हर्षित,प्रकृतिको शव नेपाल ल्याइयो

मनाइयो ७५ औं प्रजातन्त्र दिवस
७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
जनता रैतीबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीसहितको उपस्थिति रहेको थियो ।
समारोहमा नेपाली सेनाले २०८१ व्यानर अंकित हेलिकप्टरबाट पुष्पवृष्टि गराएको थियो भने मैदानमा शान्तिको प्रतिकको रुपमा परेवा उडाइएको थियो ।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालबाट मार्च पास समेत गराइएको थियो । राष्ट्रप्रेमले भरिएको राष्ट्रिय धुन पनि सो अवसरमा प्रस्तुत गरिएको थियो ।
युवालाई सशक्त बनाएर मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको बताएका छन् ।
बुधवार प्रजातन्त्र दिवसको अवसर पारेर सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रको समृद्धि र जनताको सुख नै परिपूर्ण लोकतन्त्र भएको उल्लेख गरे ।
उनले परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’मा समान पहुँचको पैरवी गर्ने बताए ।
उनले सरकार बढ्दो जनआकांक्षा र चुनौतीहरूबीच, राज्यको संस्थागत र सामथ्र्यवीच लय मिलाएर संगतिपूर्ण ढङ्गले अगाडि बढिरहेको जिकिर गरे ।
युवा पुस्ता देशको भविष्य भएको भन्दै उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअपमार्फत उद्यमशीलताको थालनी गरिएको बताए ।
लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै, समाजमा व्याप्त असमानता, गरिवी र भ्रष्टाचारलाई हटाउँदै लैजाने प्रतिवद्धता जनाए । दिगो व्यवस्थापनका लागि आर्थिक सूचकहरुको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र भएको बताए ।
फागुन ७ गते, नेपाली जनताको प्रजातान्त्रिक हक अधिकार स्थापनाका लागि विगतमा भएका अथक र अनवरत संघर्षमा आफूलाई समाहित गर्ने वीर÷वीरङ्गनाहरुको स्मरण गर्ने दिन भएको बताए ।
प्रजातन्त्र स्थापनाको संघर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस संघर्षमार्फत जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिको आकांक्षा साकार पार्न संकल्प गर्ने दिन भएको उल्लेख गरे ।
मुलुकको सुशासन, विकास, समृद्धि र जनताको सुखको सुनिश्चितताको लागि प्रभावकारी शासन प्रणाली र सुव्यवस्थाको राष्ट्रिय आकाङ्क्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न आह्वान गरे ।
राजाको सन्देशलाई स्वागत गर्छौं, यो आन्दोलनको प्रस्थानबिन्दु हुनसक्छ : राजेन्द्र लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सार्वजनिक भिडियो सन्देशले वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई निकास दिन नसकेको कारण राजसंस्था पुनःस्थापना गर्नुपर्ने आफूहरुको एजेण्डामा थप बल पुर्याएको बताएका छन ।
उनले आफूहरु समयदेखि राजसंस्थाको पुनःस्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको मागसहित आन्दोलनमा नै रहेको उल्लेख गर्दै उक्त भिडियो सन्देशले थप उत्साहित भएको बताए ।
उनले राप्रापाले राजसंस्थाको पुर्नस्थापना, प्रदेश खारेजी, कार्यकारी प्रधानमन्त्री र हिन्दु राष्ट्रको एजेण्डासहति सातवटै प्रदेशमा सभाको आयोजना गर्ने समेत बताए ।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको राजसंस्था पुनःस्थापनको लागि सभामार्फत सबै राजनीतिक दलहरुलाई आह्वान गर्ने समेत बताए । उनले पूर्वराजा शाहद्वारा जारी भिडियो सन्देशले समान विचार भएका पार्टी र व्यक्तिहरुबीच सहकार्य र समन्वयको लागि बाटो खुला भएको समेत दाबी गरे ।
उनले भने,‘हामी लामो समयदेखि नै नेपालमा अभिभावकीय संस्थाको रुपमा राजसंस्थाको पुनःस्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेशको खारेजी, हिन्दु राष्ट्र, सुशासनको विषयमा अभियान र आन्दोलनमै छौं । त्यो क्रममा अहिले हामी सातवटै प्रदेशमा भण्डाफोर सभाहरु गरिराखेका छौं । पर्सि फागुन ९ गते कास्कीको पोखरामा गण्डकी प्रदेशको सभा रहेको छ । स्वाभाविक रुपमा त्यो सभाभन्दा अगाडि राजाको यो सन्देश आउँदा हामी उत्साहित भएका छौं । त्यो सभा अझै सशक्त रुपमा हुन्छ । त्यस सभाबाट पनि हामी सबै राजनीतिक दलहरुलाई यसको लागि आह्वान समेत गर्छौं । यसको प्रतिरोध र प्रतिवाद होला जस्तो मलाई लाग्दैन । राजाको आह्वानलाई व्यवहारमा लागु गर्ने दुई वटा बाटो छ । एउटा वार्ताको माध्यमबाट र अर्को आन्दोलनको बाटोबाट । राजाको आह्वानबाट समान विचार भएका अन्य व्यक्ति र दलहरुसँग सहकार्य र समन्वय गर्ने बाटो थप खुलेको छ जसको लागि हामी लामो समयदेखि प्रयास समेत गरिरहेका थियौं ।’
उनले पूर्वराजाको आह्वानलाई व्यवहारमा कार्यान्वयन गर्नको लागि वार्ता र आन्दोलनको माध्यमबाट अघि बढ्ने समेत स्पष्ट पारे ।
भारतीय विश्वविद्यालयमा मृत फेला परेकी लम्सालको शव नेपाल ल्याइयो
भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टलमा मृत अवस्थामा फेला परेकी प्रकृति लम्सालको शव स्वदेश ल्याइएको छ । बुधबार साँझ लम्सालको शव भैरहवा ल्याइएको रुपन्देही प्रहरीले जनाएको छ ।
लम्सालको शव भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय घर ल्याइएको हो । प्रकृतिको शव भैरहवामा रहेको युनिभर्सल मेडकिल कलेजमा राखिने बताइएको छ ।
प्रकृती त्यहाँ बीआइटी तेस्रो वर्षमा अध्ययन गरिरहेकी थिइन् । आइतबार लम्साल कलेजको होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन् । लम्साल मृत भेटिएपछि गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै नेपाली विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन समेत गरेका थिए ।
नेपाली विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि कलेजले उनीहरुमाथि ज्यादती गर्दै विश्वविद्यालयबाट निष्काशन गरेको थियो ।
वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्छ : प्रधानन्यायाधीश राउत
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्ने बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित नेपाल कानून पत्रिका (पुरानो अंक), प्रधानन्यायालय २००९, विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ऐतिहासिक धरोहरलाई संरक्षण र संवद्र्धन गर्न जरुरी रहेको बताएका हुन् ।
उनले ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधार स्तम्भ भएको उल्लेख गरे । उनले यिनै धरोहरबाट भविष्यको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्ने बताए ।
उनले भने– ‘यदी वर्तमानलाई समृद्ध बनाउनु छ भने हरेकले आफ्नो इतिहास बचाउनुपर्छ । ऐतिहासिक धरोहरलाई संरक्षण र संवद्र्धन गर्नुपर्छ । ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधार स्तम्भ हुन् । यिनै धरोहरबाट भोलिको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्छ ।’
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले नेपालमा कानूनको पालना गराउने र कानूनी सर्वोच्चताको वकालत गर्ने संस्थाहरु कमजोर बन्दै गएको बताए ।
अदालत जस्ता संस्थालाई बलियो बनाउन राजनैतिक प्रतिवद्धता पनि कमजोर रहेको उनको जिकिर छ । यस्तो खालि अवस्थालाई वदनियत राख्नेहरुले प्रयोग गर्नसक्ने खतरा रहेको उनको भनाइ छ ।
कानूनी प्रणाली बलियो बनाएर मात्र जग बलियो हुने भन्दै उहाँले जग बलियो कसरि बनाउने भन्ने विषय इतिहाँसबाट सिक्न सकिने बताए ।
नेपाल कानून पत्रिका (पुरानो अंक), प्रधानन्यायालय २००९, विमोचन कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले ढिलो भएपनि इतिहासको अभिलेख गर्ने काम शुरु हुनु खुशीको कुरा भएको बताए ।
न्याय सम्पादन गरिएका कुराहरु पहिला जस्तो राम्रोसँग लेख्ने प्रचलन ९लेखन शैली० बिग्रिएको उनीहरुको गुनासो छ ।
जुन राष्ट्र र जातिले आफ्नो इतिहास बिर्सिन्छ उसको उन्नति प्रगति नहुने बताए । इतिहासलाई जोडेर मात्रै देश विकास सम्भव रहेको बताए ।
चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छ : बालेन्द्र साह
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताएका छन् ।
बुधवार काठमाडौं महानगरपालिका–७ ले आयोजना गरेको पिएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने उल्लेख गर्दै पढाई बाहेकका सृजनात्कमक कार्यक्रममा समेत सहभागिता बढाउनुपर्ने बताए । उनले चित्रकलाले विद्यार्थीको लिडरसिप क्षमताको विकास गर्नेमा समेत सहयोग पुर्याउने बताए । उनले महानगरका प्रथम मेयर प्रेमलाल सिंहबारे विद्यार्थीहरूलाई सिकाउन जरुरी रहेको समेत बताए ।
उनले प्रथम मेयर सिंहले काठमाडौं महानगरमा विकासको ढोका खोल्ने काम गरेको उल्लेख गरे ।
उनले भने ‘काठमाडौँ महानगरपालिकाका प्रथम मेयर प्रेमलाल (पिएल) सिंहज्यु एकदमै भिजिनरी हुनुहुन्थ्यो । उहाँको नाममा आयोजित यो कार्यक्रममा आउन पाउँदा झनै खुसी लागेको छ । उहाँको बारेमा स्कुलका नानिबाबुहरुलाई पनि सिकाउन पाइयो भने भोलिको दिनमा उहाँहरूलाई पनि एउटा प्रेरणा हुन्छ । लिडरसिपको प्रेरणा पनि चाहिन्छ । यो ठाउँमा चाहिँ आज पहिलो चोटि कार्यक्रम गरिएको हो । विद्यार्थीको धेरै समय स्कुलमा बितिरहेको हुन्छ । पढाईबाहेक अन्य क्रियाकलापमा पनि हामीले बढाउँदै जानुपर्छ । त्यसको लागि पेन्टिङ र आर्टहरू पनि एउटा माध्यम हो । त्यसले खालि समयमा नकारात्मक कुराहरूप्रति आकर्षित हुने कुरालाई रोक्छ । पेन्टिङमा काम गर्न सकियो भने अरु क्रियाकलापमा समेत सृजनात्मकता बढ्दै जान्छ । सबै मान्छे क्रिएटिभ हुन्छ त र विण्डो चाहिँ बन्द भएर बसिराखेको हुन्छ । पेटिङ, म्युजिक र पोइट्रीले सिर्जनालाई खोल्ने काम गर्छ । यसले सृजनशीलता बढ्दै जाँदा अरु काम समेत राम्रो हुँदै जान्छ ।’
महानगरले विद्यार्थीलाई सिर्जनात्मक क्रियाकलापमा सहभागी गराउन विभिन्न शैक्षिक कार्यक्रमहरू गर्दै आएको समेत बताए ।
१४ लाख किशोरीले लगाए पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप
सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा करिब ९२ प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा।अभियान गौतमका अनुसार अभियानका क्रममा ९२ किशोरीले खोप लगाइसकेका छन् । गत माघ २२ गतेदेखि सुरू भएको खोप अभियान मङ्गलबार सकिएको छ ।
गौतमका अनुसार १४ लाख २८ हजार आठ सय ८९ किशोरीले अभियानका बेला खोप लगाएका छन् । अभियानमा १६ लाख ८८ हजार सात सय ८६ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो ।
उनले खोप लगाउन छुट भएका किशोरीलाई स्वास्थ्य संस्थामा लगाइनेसमेत जानकारी दिए । “कुनै समुदायमा छुट भएका किशोरीलाई त्यही गएर खोप लगाएका छौँ,” उनले भने,“मधेशतिर खोप लगाउन छुटेका एकै समुदायका एक सय ५० जना किशोरीलाई पनि हामीले खोप लगाइएको छौँ । समुदायमा गएर खोजेर खोप लगाइने छ ।”
शाखा प्रमुख डा।गौतमले मनाङ, मुस्ताङ, हुम्ला र डोल्पामा विद्यालय सञ्चालन नभएको खोप अभियान सुरू नगरिएको बताए । उनका विद्यालय सुरू हुनसाथ फागुनको तेस्रो सातामा ती जिल्लामा खोप अभियान चल्नेछ ।
सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका गत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका लागि खोप अभियान सञ्चालन गरेको थियो ।
नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको तथ्याङ्क छ ।
ओडिसा घटना : परराष्ट्रमन्त्रीद्वारा भारतीय मन्त्रीसँग कुराकानी
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा आन ओडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग टेलिफोन संवाद गरेका छन् ।
टेलिफोन संवादका क्रममा मन्त्री राणाले सुरजसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गर्नुभएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ ।
सो फोनवार्तामा भारतीय मन्त्री सुरजले उक्त घटनालाई ओडीसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानविन समिति गठन गरिएको जानकारी गराएका थिए ।
साथै उनले त्यहाँस्थित नेपाली विद्यार्थी र अभिभावकलाई आवश्यक परामर्शका लागि अलग्गै ‘हटलाइन’को व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीलाई होस्टलमा फर्काएर पठनपाठनको व्यवस्था मिलाइने जानकारी मन्त्री डा देउवालाई गराएका थिए ।
त्यसैगरी मन्त्री सुरजले कलेजमा नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको र नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा छात्रावासमा रहेर पठनपाठन गर्न सक्ने सुरक्षा प्रबन्ध गरिएको जानकारी पनि दिएका थिए ।
कुराकानीका क्रममा मन्त्री सुरजले भारत र नेपालको सम्बन्ध विशिष्ट रहेको र यो सम्बन्धलाई आगामी दिनमा थप सुमधुर बनाउँदै लगिने बताएका थिए ।
सो घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँदिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको जनाइएको छ ।
मङ्गलबारमात्र नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूताबास नयाँदिल्लीबाट कूटनीतिक कर्मचारी त्यहाँ पुगेका थिए भने भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले कलेज प्रशासनसँग कुराकानी गरेका थिए ।
स्काइवाक टावरमा प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको कमलादीस्थित स्वाइवाक टावरको अवलोकन गरेका छन् ।
प्रजातन्त्र दिवसका अवसरमा उक्त टावरमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले टावर बालकदेखि वृद्धसम्म सबैका लागि सहज गन्तव्य भएको प्रतिक्रिया दिए ।
पत्नी राधिका शाक्य र प्रधानमन्त्रीको सचिवालय सदस्यसहित प्रधानमन्त्रीले गरेका अवलोकनले पर्यटन व्यवसायको क्षेत्रमा हौसला मिलेको स्काइवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए ।
कूल ७८ दशमलव ५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा हिँड्ने गरिन्छ । दुई वटा लिफ्ट रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता छ ।
केआईआइटीमा अध्ययनरत एक सय २६ विद्यार्थी फर्किए
भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआइटी) मा अध्ययनरत एक सय २६ जना विद्यार्थी रक्सौल नाका हुँदै नेपाल फर्किएका छन् ।
केआईआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै नेपाली विद्यार्थीहरू असुरक्षाका कारण देखाउँदै स्वदेश फर्किएका हुन् ।
जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले आज एक सय तीन छात्र र २३ छात्रा फर्किएको जानकारी दिए ।
निमित्त प्रजिअ गौतमले फर्किएका विद्यार्थीले केआईआइटीका प्रशासनले धम्की र मानसिक यातना दिएको गुनासो गरेको जानकारी दिए ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आज वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासदेखि घण्टाघर चोकसम्म मृत्यु भएकी विद्यार्थी लम्सालले न्याय पाउनुपर्ने भन्दै विरोध प्रदर्शनी गरेका थिए ।
रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर
यौन दुराचारमा दोषी ठहरिएका रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरिएको छ ।
अपराध गरेर सम्पत्ति जोडेको र त्यसको व्यवस्थापन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
आरोपपत्रमा बम्जनमाथि आठ करोड २७ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको उल्लेख छ । उनीमाथि अपराध गरेर आठ करोड २७ लाख रुपैयाँ बराबरको सम्पत्ति जोडेको अभियोग लगाइएको छ ।
उनीमाथि विदेशी विनिमय अपचलनको आरोपमा समेत छुट्टै अनुसन्धान भइरहेको छ ।
फेरि बढ्यो सुनको मूल्य
नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९बुधबार० सुन प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन १ लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
युद्धविरामपछि १३ नेपाली ‘केयरगिभर’ इजरायल प्रस्थान
गाजा युद्धविरामपछि इजरायलको ‘हेरचाह तथा स्याहार क्षेत्र’ मा सहायक कामदार ९केयरगिभर० को लागि पहिलो चरणका नेपालीहरू इजरायल प्रस्थान गरेका छन् । वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका मध्येबाट पहिलो चरणका १३ नेपाली इजरायल उडेका हुन् ।
गत अगस्ट महिनामा इजरायलको जेरुसेलमस्थित जनसंख्या तथा आप्रवासन प्राधिकरण कार्यालयमा आयोजित एक लाइभ लटरी प्रक्रियामार्फत एक हजार १५६ महिला र ९५६ पुरुषसहित कुल २ हजार ११२ जना चयन गरिएका थिए । बाँकी एक हजार ११२ जना कामदारको भिसा प्रक्रिया अगाडि बढाइएको हो ।
उनीहरूमध्ये ९ सय १९ जनाको स्वास्थ्य परीक्षण भइसकेको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए । उनका अनुसार हाल सम्म दुई सयभन्दा धेरै कनट्याक्ट आइसकेको छ । उनीहरूलाई पनि भिसा आएपछि क्रमशः पठाइनेछ । हालसम्म केयरगिभरका लागि एक हजार तीन सय श्रमिकहरू इजराइल पुगिसकेको विभागको तथ्याकं छ । पहिलो चरणका सबै नेपालीलाई इजरायल पठाएपछि दोस्रो चरणमा रहेकालाई लगिने उनले नागरिकसँग बताए ।
‘आज १३ जना नेपाली इजरायलका लागि उडेका छन्,’ उनले नागरिकसँग भने, ‘इजरायलले नेपालीको भिसा पठाउने बित्तिकै उनीहरू पालैपालो जानेछन् । त्यहाँ नेपालीले इजरायली सरह नेपालीले पनि सेवा सुविधा पाउने छन् ।’ उनका अनुसार दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नेहरू सुरक्षित छन् । इजरायलमा नेपाली श्रमिकलाई धेरै राम्रो छ ।उनीहरू सबै इजरायल जी टू जी मार्फत नै जाने गरेका छन् । त्यहाँ विभिन्न किसिमका लडाइँ भए पनि हाम्रो श्रमिकहरू घरभित्र तथा स्याहार केन्द्रभित्र रहेर काम गर्ने हुँदा धेरै सुरक्षित भएको उनी स्वीकार छन् ।
नेपालले वर्षौदेखि इजरायलमा केयरगिभरका रूपमा कामदार पठाउँदै आएको छ । प्रायः नेपाली त्यहाँका ज्येष्ठ नागरिकको स्याहारका लागि जाने गरेका छन् । भाषा तथा दक्षतालगायतका परीक्षण पूरा गरेका नेपाली कामदारलाई सरकारले इजरायल जान अनुमति दिएको विभागका अधिकारीहरू बताउँछन् । मंगलबार इजरायलमा केयरगिभरका लागि उडेका १३ जना नेपालीलाई विभागका महानिर्देशक सूर्यबहादुर खत्री र एचई नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका हुन् ।
इजरायल सरकारी सूचनामा जनाइएअनुसार इजरायल जाने कामदारले त्यहाँको नियमानुसार साताको ६ दिन कुल ४२ घण्टा काम गर्नुपर्ने हुन्छ । त्यसबाहेक अतिरिक्त समय काम गर्दा इजरायलको सरकारी नियमानुसार उनीहरूले थप पारिश्रमिक पाउने व्यवस्था छ । सुरुमा एक वर्षको करारमा जाने कामदारले त्यो अवधि थप गर्न सक्छन् र अधिकतम पाँच वर्षसम्म काम गर्न पाउने सूचनामा उल्लेख गरिएको छ । नेपाली कामदारले मासिक तलब नेपाली मुद्रामा दुई लाख रुपैयाँ हाराहारीमा र केहीले काम गरेको समयावधि बढी भएकाले त्योभन्दा बढी पाउने गरेका छन् । इजरायल नेपालीका लागि आकर्षक गन्तव्य मुलुक हो ।
पोखरा घटना : बेलुनमा हाइड्रोजन भर्ने भारतीय नागरिक पक्राउ
प्रहरीले पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरेको हो ।
शनिबार भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए । हाइड्रोजन बेलुनमा भरेर भ्रमण वर्षको उद्घाटन गर्न मञ्चमा पुर्याएको विषयमा अनुसन्धान भइरहेको छ ।
प्रकृति मृत्यु प्रकरणमा केआईआईटी विश्वविद्यालयका महानिर्देशकसहित पाँच जना पक्राउ
भारतको ओडिसा प्रहरीले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र विद्यार्थी दुर्व्यवहारमा जिम्मेवार रहेको भन्दै केआईआईटी विश्वविद्यालयका महानिर्देशकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार, पक्राउ पर्नेमा कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, कलेजका प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक ५९ वर्षीय सुधीरकुमार राठ छन् ।
यस्तै, सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरा पनि प्रहरी नियन्त्रणमा छन् । पक्राउ लगत्तै उनीहरूलाई अदालतमा पेस गरिएको थियो । यसअघि केआईआईटीले २ सुरक्षा गार्डलाई बर्खास्त र ३ कर्मचारीलाई निलम्बन गरेको थियो ।
चौतर्फी विरोध र दबाबपछि माफी मागे पनि उनीहरू घटनामा जिम्मेवार रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो । यसअघि विश्वविद्यालयले विद्यार्थीलाई छात्राबासमा फर्कन आह्वान गरे पनि नेपाली विद्यार्थीहरू त्रासमा छन् । मंगलबार दिउँसो भुवनेश्वर पुगेका नेपाली दूतावासका अधिकारीहरुसँग उनीहरूले छात्रावासमा आफूहरुमाथि जे पनि हुन सक्ने भन्दै सुरक्षित सुरक्षित महसुस गर्न नसकेको बताएका थिए । दूतावासले घटनाबारे बुझ्न दूतावासका प्रतिनिधि सञ्जीव शर्मा दास र नवीनराज अधिकारीलाई खटाएको थियो ।
केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको घटना छानबिनको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि दुव्र्यवहारप्रति चौतर्फी विरोधपछि विश्वविद्यालयले माफी मागेको थियो । विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि हातपात गर्ने दुई सुरक्षागार्डलाई बर्खास्त गर्नुका साथै छात्रावासका तीन अधिकारीलाई निलम्बन गरेको छ ।
यस्तै सबै विद्यार्थीको सुरक्षालाई प्राथमिकता दिने पनि विश्वविद्यालयले जनाएको थियो । तर, हिजो बिहान कुटिँदै लखेटिएका विद्यार्थी सुरक्षाप्रति निश्चिन्त हुन सकेका छैनन् । सम्पर्कमा आएका विद्यार्थीहरुका अनुसार विश्वविद्यालयले छात्रावासमा फर्कन बारम्बार आह्वान गरे पछि मंगलबार साँझसम्म जम्मा ३९ विद्यार्थी मात्र फर्किएका थिए ।
पाँच नेपाली खेलाडीले पाकिस्तानमा हुने दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री खेल्ने
नेपालका पाँच खेलाडीले पाकिस्तानमा हुने दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
आगामी फागुन ११ गते पाकिस्तानको इस्लामावादमा उक्त प्रतियोगिता हुँदैछ । प्रतियोगिताको सिनियरमा दुई र जुनियरमा तीन गरी पाँच पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । उक्त प्रतियोगितामा सहभागी हुन नेपालका पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली बिहीबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएका छन् ।
प्रतियोगिताको सिनियरमा सुशीलकुमार शाही र सञ्जय श्रेष्ठले चुनौती प्रस्तुत गर्दैछन् । जुनियरमा भने बादल कार्की, अजय विक र कृष्णबहादुर परियारले खेल्नेछन् ।
सिनियरमा १० किलोमिटर तथा जुनियरमा ८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने नेपाल एथ्लेटिक्स संघले जनाएको छ । उनीहरूको प्रशिक्षकमा विमला राना मगर तथा व्यवस्थापकमा भीमकुमारी भुसाल छन् ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव टंकलाल घिसिङले बुधवार नेपाली टोलीलाई बिदाइ गरेका थिए । सो अवसरमा घिसिङले आफूले गरेको प्रशिक्षणअनुरूप प्रतियोगिता पनि देखाउन सुझाव दिए ।
साथै उनले एसियन गेम्सको तयारीमा रहेको मिसन–२०२६ मा स्थान बनाउनका लागि उत्कृष्ट प्रदर्शन गर्न सुझाव दिँदै अहिले मिसन–२०२६ मा रहेका खेलाडीले राम्रो गर्न नसके उनीहरूको स्थानमा नयाँ राम्रा खेलाडीले अवसर पाउने स्पष्ट पारे ।
बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न निर्देशन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेनले मनोनीत गरेका बाँकी सबै अमेरिकी न्यायाधिवक्तालाई बर्खास्त गर्न आदेश दिएका छन् ।
ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “विगत चार वर्षमा न्याय विभागको राजनीतिकरण भएको छ, जुन पहिले कहिल्यै भएको थिएन । त्यसैले मैले बाँकी रहेका सबै ’बाइडेन कालीन’ अमेरिकी महान्यायाधिवक्तालाई बर्खास्त गर्न निर्देशन दिएको छु ।”
उनले भने “हामीले तुरुन्तै घर सफा गर्नुपर्छ र विश्वास पुनःस्थापित गर्नुपर्छ । अमेरिकाको स्वर्ण युगमा निष्पक्ष न्याय प्रणाली हुनुपर्दछ र यो जुन आजबाट सुरु हुन्छ१”
सत्तासिन राष्ट्रपतिले आफ्ना पूर्ववर्तीले मनोनीत गरेका अमेरिकी न्यायाधिवक्ताका रूपमा चिनिने संघीय अभियोजकहरूको स्थान लिनु सामान्य अभ्यास हो ।
देशको ९४ सङ्घीय जिल्ला अदालतहरू मध्ये दुई जिल्ला अदालतबाहेक सबै अदालतमा एक अमेरिकी वकील रहने व्यवस्था रहेको छ । यसरी त्यहाँ ९३ अमेरिकी न्यायाधिवक्ताहरू छन् ।
अमेरिकी वकिलहरू प्रत्येक जिल्लामा शीर्ष सङ्घीय कानून प्रवर्तन अधिकारी हुन् ।
गत नोभेम्बरमा भएको चुनावमा ट्रम्पको जितपछि डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति निर्वाचित भएका पूर्व राष्ट्रपति बाइडेनले मनोनीत गरेका केही अमेरिकी वकिलले राजीनामा दिएपनि अधिकांशले आफ्नो जिम्मेवारी सम्हालिरहेका छन् ।
ट्रम्पले आफूमाथि अन्यायपूर्ण ढङ्गबाट मुद्दा चलाएको आरोप लगाउँदै आएको न्याय विभाग रिपब्लिकनले पदभार ग्रहण गरेदेखि नै व्यापक हलचलको निशानामा परेको छ र कैयौँ उच्च पदस्थ अधिकारीहरूलाई बर्खास्त गरिएको छ, पदच्युत गरिएको छ वा पुनः नियुक्त गरिएको छ।
बर्खास्त गरिएकामध्ये ट्रम्पविरुद्ध दुई वटा फौजदारी मुद्दा दायर गरेका विशेष सल्लाहकार ज्याक स्मिथको कार्यालयका सदस्यहरू पनि थिए ।
न्यूयोर्कका मेयर एरिक एडम्सविरुद्ध भ्रष्टाचारको आरोप हटाउन न्याय विभागले आग्रह गरेपछि ट्रम्पले नियुक्त गरेको न्युयोर्कको शक्तिशाली ‘साउदर्न डिस्ट्रिक्ट’का कार्यवाहक अमेरिकी महान्यायाधिवक्ताले गत साता राजीनामा दिएका थिए ।








