खबर दिनभर : नेपालमा एमसीसी परियोजना स्थगित, केबलकार निर्माणको पक्षमा विशाल प्रदर्शन

नेपालमा एमसीसी परियोजना स्थगित
नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् ।नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै ९० दिनका लागि अमेरिकाले एमसीसी रोकेको जानकारी दिएको हो । ‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० ले मिति फागुन गतेको इमेल पत्रमार्फत नेपाल सरकार र उक्त निकायबिच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसीसी फण्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको ब्यहोरा सरोकारवालाहरूलाई जानकारी गराइन्छ,’ मन्त्रालयद्धारा जारी विज्ञप्ति भनिएको छ ।
नेपाल सरकार र यस निकायबीच २९ भदौ २०७४ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो
प्रधानमन्त्रीलाई संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन हस्तान्तरण
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिले आज आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा सो समितिका संयोजक शेखरप्रसाद पौडेलले विश्वविद्यालयको विद्यमान जग्गाहरूको उपयोग, अतिक्रमणको अवस्था र अतिक्रमण हटाउन चालिनुपर्ने कदमका विषयमा सुझावसहितको प्रतिवेदन कुलपति ओलीलाई बुझाएका हुन् ।
नेपाल सरकार ९मन्त्रिपरिषद्० को गत असार २० गतेको निर्णयबाट उच्च अदालतका पूर्व न्यायाधीश पौडेलको संयोजकत्वमा पाँच सदस्यीय जग्गा खोजबिन समिति गठन गरिएको थियो ।
समितिले दाङमा रहेको विश्वविद्यालयको कूल एक हजार छ सय ६२ बिघा जग्गा रहेको र देउखुरी क्षेत्रमा एक हजार तीन सय ३६ बिघामध्ये नौ सय १० बिघा अतिक्रमण भई २०५९ देखि ती जग्गाबाट विश्वविद्यालयले कुनै आम्दानी प्राप्त नगरेको पाइएको बताए ।
सोही क्षेत्रमा विश्वविद्यालयको दुई सय बिघा जमिन राप्ती नदीले कटान गरेको पाइएको छ । संयोजक पौडेलले जग्गालाई उपयोगमा ल्याउन भाडामा दिन सकिने र अतिक्रमण हटाउन सरकार र राजनीतिक दलको सहयोग आवश्यक हुने सुझाव दिए ।
प्रधानमन्त्री ओलीले प्रतिवेदन ग्रहण गर्दै अध्ययन र छलफल गरेर आवश्यक प्रक्रिया अघि बढाउने विश्वास दिलाउँदै विश्वविद्यालयहरूमा तालाबन्दी र अतिक्रमणजस्ता अवाञ्छित क्रियाकलाप रोकिनुपर्नेमा जोड दिए ।
प्रतिवेदन हस्तान्तरणका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई पनि सहभागी थिइन् ।
नेपाल स्काउटका निर्देशक भट्टराईमाथि छानबिन गरी कारबाही माग गर्दै खेलकुदमन्त्रीलाई ज्ञापनपत्र
नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईमाथि छानबिन गरी कारबाही गर्न माग गर्दै नेपाल स्काउटका प्रमुख स्काउट युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई ज्ञापनपत्र बुझाइएको छ ।
मंगलबार नेपाल स्काउट शुद्धीकरण अभियानले विवादित निर्देशक भट्टराईमाथि छानबिन गरी कारबाही हुनुपर्ने भन्दै मन्त्री चौधरीसमक्ष चार सुत्रीय माग पेश गरेको हो ।
राष्ट्रिय प्रधान कार्यालयका निर्देशक राम प्रसाद भट्टराईद्वारा कार्यक्षेत्रमा गरिने दुर्व्यवहार तथा यौन दुर्व्यवहारसंग सम्बन्धीत विषय उपर छानविन गरिनुपर्ने नेपाल स्काउट शुद्धीकरण अभियानको माग छ ।
‘हालै प्रमुख स्काउटको हस्ताक्षरद्वारा जारी कर्मचारी प्रशासन नियमावली २०८१ का प्रसुति बिदा जस्ता कतिपय प्रावधानहरु कर्मचारीको मनोवल गिराउने खालको भएको हुँदा सो नियमावली उपर राष्ट्रीय परिषदमा व्यापक छलफल गरी सो परिषदबाट पारित गराई शंसोधित नियमावली लागु गर्नुपर्छ,‘राष्ट्रिय प्रधान कार्यालयका निर्देशक राम प्रसाद भट्टराईको अनियमितता संग सम्बन्धीत नेपाल स्काउटमा प्राप्त १० बुँदे उजुरी उपर छानविन गरिनुपर्छ ’नेपाल स्काउट शुद्धीकरण अभियानका संयोजक देवदुत अधिकारीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ।
निर्देशक भट्टराई उपर छानविन पुरा नहुन्जेल निजलाई निलम्बनमा राखिनुपर्ने एवं छानविनको प्रकृया पुरा भए पश्चात प्रतिवेदनका आधारमा कार्वाही हुनुपर्ने समेत माग गरिएको छ ।
नेपाल स्काउट शुद्धीकरण अभियानले उल्लेखित मागहरु पुरा गर्न सात दिनको अल्टिमेटम समेत दिएको छ । सो अवधिभित्र मागहरु पुरा नभएमा विरोध तथा आन्दोलनका कार्यक्रमहरु थालनी गरिने समेत अभियानले चेतावनी दिएको छ ।
निर्देशक भट्टराईमाथि खेलकुदमन्त्री चौधरीको संरक्षणमा स्काउटमा आफू अनुकूल निर्णय गरेको लगायतका आरोप लागेका छन् ।
विद्युतीय व्यापार विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित
विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतले पारित भएको छ । मंगलवारको प्रतिनिधि सभाको बैठकले विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतले पारित गरेको हो ।
प्रतिनिधि सभामा सरकारको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रश्ताव प्रश्तुत गरेका थिए ।
प्रश्तावउपर सांसदहरुले छलफल गरिसकेपछि मन्त्री भण्डारीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिए ।
जवाफपछि मन्त्री भण्डारीले विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गरे ।
प्रश्तुत प्रश्तावलाई सभाबाट सर्वसम्मत रुपमा पारित गरिएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।
शिक्षा मन्त्रालयले भन्यो – ओडिसाको घटना समाधान नगरिए एनओसी रोकिन सक्छ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु र तत्पश्चात नेपाली विद्यार्थीप्रति भएको व्यवहारका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालय मंगलबार विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाइ अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताविपरीत विश्वविद्यालय प्रशासनबाट त्यहाँ अध्ययनरत विद्यार्थीप्रति भएको व्यवहार निन्दनीय भएको जनाएको हो ।
उक्त घटनाका सम्बन्धमा विभिन्न सञ्चार माध्यमका साथै औपचारिक जानकारी प्राप्त हुनासाथ घटनाको यथार्थ जानकारी एवं समस्या समाधानका लागि कूटनीतिक पहल गर्न सोमबार नै परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिसकेको जनाएको छ ।
उक्त घटनाबाट विद्यार्थी र अभिभावकको मनोविज्ञानमा पर्न गएको प्रभाव तथा भारतकै अन्य विश्वविद्यालयमा अध्ययनरत हजारौँ नेपाली विद्यार्थीमा उत्पन्न हुन सक्ने त्रास र अन्योलतालाई समेत दृष्टिगत गरी यथाशीघ्र सबै विद्यार्थीको पठनपाठन कार्य पूर्ववत् सञ्चालन गराउने व्यवस्था मिलाउन भारत सरकारको ध्यानाकर्षण गराइएको मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
“विद्यार्थीहरूले निर्वाध रूपमा अध्ययन गर्न पाउने अवस्थाको सुनिश्चितताको लागि कूटनीतिक तवरबाट परराष्ट्र मन्त्रालयमार्फत् मन्त्रालयले निरन्तर पहल भइरहेको छ । मन्त्रालयले अन्य विदेशी विश्वविद्यालयमा समेत घट्न सक्ने शैक्षिक समस्या समाधान गर्न सहयोग गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरेको छ”, विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले अभिभावक तथा विद्यार्थीहरूलाई संयमता अपनाउनसमेत अपिल गरेको छ । उक्त घटनाबाट सृजित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको उडिसा राज्यका विश्वविद्यालयर शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रदान गर्ने कार्य स्थगित गर्न सकिनेतर्फ मन्त्रालयले सूचित गराएको छ ।
केबलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल प्रदर्शन
दुर्गम हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म आम तीर्थयात्री तथा पर्यटकको सहज पहुँचका लागि निर्माणाधिन केबुलकारमा जिल्ला बाहिरका केही व्यक्तिहरुले अवरोध गर्न खोजेको भन्दै जिल्ला सदरमुकाम फुङलिङ बजारमा वृहत् जनप्रदर्शन गरिएको छ ।
आम स्थानीयहरु केबुलकारको पक्षमा रहेको, ताप्लेजुङको विकास रोक्न बाहिरी र असम्बन्धित व्यक्तिहरु लागेको भन्दै आक्रोशित स्थानीयहरुले छिटो केबुलकार निर्माण गर्न पाथीभरा देवी केबुलकार कम्पनीलाई आग्रह गरेका छन् ।
उनीहरुले लगानीमैत्री वातावरण सृजना गर्न सरकारलाई आग्रह गर्दै विभिन्न प्लाकार्ड र व्यानरसहित सदरमुकाम फुङलिङमा विशाल प्रदर्शन गरेका हुन् ।
ताप्लेजुङको विकास र सम्मृद्धि रोक्न जिल्ला बाहिर र बसाई सरी अन्यत्र पुगेका मान्छेहरुलाई नलाग्न समेत उनीहरुले आग्रह गरेका छन् ।
ताप्लेजुङ विकास प्रेमी युवा समाजको आयोजनामा गरिएको विशाल प्रदर्शनमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघसंस्थाको उपस्थिति रहेको थियो ।
पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एैतिहासिकता र पहिचान गुम्ने भन्दै केही व्यक्तिहरुले विरोध गरिरहेका छन् । पाथिभरामा केबलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २०७२ मा पाथीभरा देवी दर्शन केवलकार प्रालिको स्थापना भएको हो ।
यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमती लिएको थियो । करिब दुईवर्ष अघि पाथीभरा केबलकारमा आइएमई समूहको प्रवेशसँगै यो आयाजना निर्माणले गति लिन थालेको छ ।
नेपाल सरकारबाट प्राप्त गर्नुपर्ने सबै सरकारी तथा कानुनी अनुमतीहरु प्राप्त गरेपछि यस आयोजनालाई राष्ट्रिय प्राथमिकताको योजनाअन्तर्गत समावेश गरी आयोजना अघि बढाउने काम भएको छ ।
आइएमई समूहले मुलुकका सातवटै प्रदेशमा केबलकार सहितका पर्यटकीय गन्तब्यहरु बनाउने उद्देश्यसहित २०७९ सालमा यस केबलकारको ठूलो शेयर लिएर काम अगाडि बढाएको हो ।
कम्पनीले केबलकारका लागि आवश्यक जग्गाको भोगाधिकार प्राप्त गर्ने र नेपाल सरकारलाई सट्टा भर्ना जग्गा दिने काम सम्पन्न गरिसकेको छ । केबलकारको अलाइनमेन्ट क्षेत्रमा पर्ने रुख कटान गर्ने र डीपीआर स्वीकृत गर्ने काम समेत सम्पन्न भई केबलकार निर्माण कार्यको औपचारिक शिलान्यास गरी यही महिनादेखि भौतिक निर्माणको काम सुरुभएको थियो ।
चलचित्र ‘लाजशरणम’ को प्रचार सामग्री सार्वजनिक नगर्न आदेश
यही फागुन १४ गते महाशिवरात्रिका दिन प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लाजशरणम’ सेन्सर पास हुनुअघि कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
पूर्वमन्त्री मोहम्मद आफताब आलमले चलचित्रविरूद्ध हालेको रिटमा सो आदेश आएको हो । चलचित्रमा सिताराम कट्टेल धुर्मुसले निभाएको भूमिकामा आपत्ति जनाउँदै आलमले उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए । अदालतको आदेशले भोली हुने भनिएको ट्रेलर रिलिज रोकिएको छ ।
उच्च अदालते मंगलबार छलफलका लागि दुई पक्षलाई बोलाएको थियो ।
एकीकृत समाजवादीले अध्यादेशको विपक्षमा मतदान गर्ने
नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएका अध्यादेशहरूको विपक्षमा उभिने निर्णय गरेको छ । पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले सरकारले ल्याएका अध्यादेशहरू विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
संसद छलेर अध्यादेश ल्याउनु गलत भएको भन्दै अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।
समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानुन, संसद् नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विधेयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत रहेको उनको भनाई छ ।
ओडिसा घटनामा प्रभावित विद्यार्थीको भौतिक एवं शैक्षिक सुरक्षाको प्रत्याभुति होस् : स्वर्णिम वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले ओडिसा घटनामा प्रभावित नेपाली विद्यार्थीको भौतिक एवं शैक्षिक सुरक्षाको प्रत्याभुति खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ओडिसा राज्य ओडिसास्थित केआईआईटी विश्वविद्यालय भुवनेश्वरमा भएको घटनाको समाधानका लागि नेपालको परराष्ट्रय संयन्त्र ढिला परिचालन भएको समेत आरोप लगाए ।
उनले सोमवार संसद खुल्ने बित्तिकै परराष्ट्र संयन्त्रलाई झकझक्याउन पाएको भए विद्यार्थीको बिच्चली हुने स्थिति सिर्जना हुन नपाउने उल्लेख गर्दै यस्ता विषयमा संसद अझै गम्भिर बन्न जरुरी रहेको बताए । ‘हिजो संसद खुल्नासाथ परराष्ट्र संयन्त्रलाई झकझक्याउन पाएको भए सयौं विद्यार्थीहरुको बिच्चली हुने थिएन । पछि सच्चिदै गयो । विद्यार्थीहरुलाई फर्किन आह्वान समेत गरियो । तर कतिपय समयमा पलपलको महत्व हुँदो रहेछ । यस्तो बेलामा संसदले विषेश संवेदनशीलता देखाउनुपर्ने विषय रहन्छ । यस विषयमा कतै न कतै हामीले यसको निदान त खोज्नैपर्छ । तर समग्रमा परराष्ट्र संयन्त्र ढिलामात्र परिचालन भयो’ उनले भने ।
उनले विज्ञप्ती जारी गर्दैमा सरोकारवाला निकायको जिम्मेवारी पूरा नहुने उल्लेख गर्दै न्याय र क्षतिपूर्तिका लागि कुटनीतिक पहल गर्न समेत सरकारसँग माग गरे ।
अध्यादेशबारे प्रतिपक्षि दलहरुले बेकारको बखेडा झिके : प्रमुख सचेतक घिमिरे
नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षी दलहरुले अध्यादेशको बारेमा अनावश्यक बखेडा झिकेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद घिमिरेले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै अध्यादेश ल्याइएको बताएका हुन् ।
उनले आर्थिक उदारीकरण र आर्थिक उत्पादनको क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नको लागि अध्यादेश ल्याइएको बताए ।
उनले अध्यादेश ल्याइएकोबारे प्रतिपक्षी दलहश्रले प्रश्न गर्ने गरेको उल्लेख गर्दै बिग्रियो अध्यादेशले के बिग्रियो भन्दै प्रतिप्रश्न गरे । ‘अध्यादेश ल्याउँदा बिग्रियो चाहीँ के रु अनि यहाँ सत्तापक्ष र प्रतिपक्ष हुनुपर्ने जरुरत चाँही किन पर्यो रु कि त अध्यादेश ल्याउने व्यवस्था नै हामीले संविधानबाट हटाउँ । त्यो पनि सहमतिबाटै गरौं । संविधान संशोधनको विषय उठि नै रहेको छ’ उनले भने ।
उनले यदि विरोध नै गर्ने भए संविधानबाटै अध्यादेश ल्याउने कुरा हटाउनुपर्ने बताए । उनले संविधान संशोधनको कुरा उठिरहेको उल्लेख गर्दै अध्यादेश ल्याउने व्यवस्था खारेज गर्न प्रश्ताव राखे ।
‘अध्यादेश ल्याउने कुरा संविधानबाट हटाउँ । त्यो पनि हुनसक्छ । होइन भने अध्यादेश किन ल्याउने भन्ने कुरा मत संविधानमै स्पष्ट उल्लेख गरेको छ,’ उनले भने, ‘संसद छलेर अध्यादेश ल्याइयो भनियो । कँही संसद छलेर कानून बन्छ रु संसदमै आउने होइन । यस्ता विषयमा बेकारको बखेडा झिक्नुपर्ने अवश्यकता छ जस्तो मलाई लाग्दैन ।’
प्रतिपक्षी दलहरुले संसद छलेर अध्यादेश ल्याएको आरोप लगाउने गरेको उल्लेख गर्दै उनले संसद छलेर कानून नबन्ने स्पष्ट पारे । अध्यादेशमा सुधार गर्नुपर्ने कुरामा आवश्यक संशोधन हाल्न सकिने उनको भनाइ छ ।
नेपाली विद्यार्थीमाथि ज्यादती गर्ने केआईआईटी विश्वविद्यालयकी कर्मचारीले मागिन् माफी
भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्युपछि निष्पक्ष अनुसन्धान माग गर्दै विरोधमा उत्रिएका नेपाली विद्यार्थीहरू समक्ष विश्वविद्यालयकी कर्मचारीले माफी मागेकी छन् ।
उनले एक भिडिओ सन्देश जारी गर्दै विद्यार्थीहरुमाझ माफी मागेकी हुन् । आइतबार लम्साल विश्वविद्यालयको होस्टलभित्र मृत अवस्थामा भेटिएकी थिइन् ।
त्यसको निष्पक्ष छानविन गर्न माग गर्दै नेपाली विद्यार्थीहरु कलेजविरुद्ध शान्तीपूर्ण रुपमा प्रदर्शन गरेका थिए । तर उक्त विश्वविद्यालयकी कर्मचारीहरुले विद्यार्थीहरुलाई ज्यादती गरेकी थिइन् ।
‘यो भिडिओ म गत १६ फेब्रुअरीको रात भएको घटनामा मैले बोलेका कुराहरूप्रति क्षमायाचना गर्न बनाइरहेकी छु । त्यसबेला मैले दिएको अभिव्यक्ति मेरो व्यक्तिगत थिए । यसमा किट युनिभर्सिटीका कुनै पनि अधिकारीको संलग्नता छैन । मेरो अभिव्यक्तिले मेरा नेपाली विद्यार्थी र नेपाली जनताको भावनामा चोट लाग्न गएकोमा म गम्भीर क्षमायाचना गर्छु,’उनले भनेकी छन् ।
त्यहाँ कार्यरत शिक्षिकाहरुले नेपाली विद्यार्थीहरुलाई तुरुन्तै घर फर्किन चेतावनी दिएकी थिइन् ।
प्रकृति लम्सालको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिनको माग
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिनको माग गरेका छन् ।
आजको राष्ट्रियसभाको बैठकमा बोल्दै लम्सालको रहस्यमय मृत्युले सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै सत्यतथ्य छानबिन गरी उचित न्याय प्रदान गर्न गम्भीर रुपमा यथाशीघ्र गम्भीर कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
दाहालले उक्त कलेजमा अध्ययनरत विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण बनाउन पहल गर्नसमेत आग्रह गरेका छन् । सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले लम्सालको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्नुपर्ने माग गरेका थिए ।
राष्ट्रियसभाका सांसद राधेश्याम पासवानले लम्सालको मृत्यु प्रकरणको विषयमा छानबिन हुनुपर्ने माग गरे । ‘सोही कलेजमा अध्ययनरत विद्यार्थी अड्विक श्रीवास्तवले पटकपटक दिइरहेको मानसिक यातनाबारे प्रमाणसहित कलेज प्रशासनमा पेस गर्दा पनि सुनुवाइ नहुँदा लम्सालले आत्महत्या गर्नुपरेको छ’, उनले भने, ‘नेपाल सरकारले कूटनीतिक पहल गरेर अलपत्रमा परेका विद्यार्थीहरूको उद्धार गर्नुपर्छ ।’
अर्का सांसद कृष्णबहादुर रोकायले पनि नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको विषयमा आवाज उठाउँदा अन्य नेपाली विद्यार्थी माथि दमन भइरहेको भन्दै आपत्ति जनाए । ‘विद्यार्थीहरूलाई जबर्जस्ती रुपमा घर पठाउने काम भइरहको छ’, उनले भने, ‘कूटनीतिक पहलबाट मृत्यु प्रकरणको छानबिन गर्न लगाउने, विद्यार्थीलाई त्यहीँ पढ्न सुरक्षित वातावरण बनाउनुपर्छ ।’
सांसद मदनकुमारी शाह गरिमाले लम्सालको पार्थिक शरीर आफन्तलाई हेर्न नदिनु अन्याय भएको भन्दै लम्सालको न्यायका लागि आवाज उठाउँदा कलेज प्रशासनले दमन गरेको भन्दै आपत्ति जनाइन् । ‘विद्यार्थीहरूसँग पैसा थिएन, टिकट थिएन, तर गलहत्याएर निकालियो, नेपाली विद्यार्थीहरू रेलबे स्टेसनमा अलपत्र परेको घटना अमानवीय र असंवेदनशील हो’, उनले भनिन्, ‘प्रकृतिले आफूलाई अभद्र व्यवहार भएको भन्दै उजुरी दिए पनि विश्वविद्यालयले साथ नदिँदा उनले आत्महत्या गर्नुपरेको छ ।’
सांसद मोहम्मद खालिदले लम्सालको मृत्यु प्रकरण सम्बन्धमा नेपाल सरकारले जिम्मेवार केआइआइटी विश्वविद्यालयमा अध्ययनरत अन्य विद्यार्थीहरूको सुरक्षाका लागि पहल गर्नुपर्नेमा जोड दिए ।
सांसद तुलप्रसाद विश्वकर्माले पनि लम्सालको मृत्यु प्रकरणको विषयमा सरकारको ध्यानाकर्षण गराए । ‘नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टेलमा मृत फेला पर्नुभएको छ, लम्सालको सत्य तथ्यको छानबिन गर्नुको सट्टा जबर्जस्ती दमन गरिएकामा दुःख लाग्यो’, उनले भने, ‘सत्यतत्य छानबिनका लागि सरकारले पहल गरियोस्, दोषीलाई कडा कारबाही गरियोस् ।’
यस्तै सांसद तुलसाकुमारी दाहालले पनि कडाइका साथ छानबिनको माग गरेकी थिइन् ।
विपक्षी सांसदहरु भन्छन्– सरकारको कमजोरीले नेपाली विद्यार्थीले अपमान सहनुपर्यो
भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणकारे सांसदहरुले सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुको मृतक विद्यार्थी र उनको परिवारलाई न्याय दिन उच्चतरीय राजनीतिक एवं कुटनीतिक वार्ता गर्न माग गरेका छन् ।
बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकारको कुटनीतिक असक्षमताका कारण उक्त विश्वविद्यालयमा असुरक्षा र अपमानजनक व्यवहार नेपाली विद्यार्थीले सामना गर्नुपरेको बताएका हुन् ।
उनले मृतक विद्यार्थीको मृत्युप्रति दुःख व्यक्त गर्दै नेपाली विद्यार्थीहरुमाथि भएको अमानवीय क्रियाकलापको घोर निन्दा गरे । सिंगो संसदले उक्त घटनालाई गम्भिरतापूर्वक लिनुपर्ने बताए ।
बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालको कुटनीतिक रणनीति कमजोर भएको भन्दै सरकारको आलोचना गरे ।
उनले नेपालको कुटनीतिक कमजोरीकै कारण विश्वविद्यालयका चौकीदारले समेत नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गरिरहेको बताए ।
उनले सरकारको दुई तिहाईको दम्भ संसद भवन र सिंहदरबार बाहेकका नागरिकले अनुभव गर्न नपाएको बताए ।
उनले देशको सेवा प्रवाहमा समेत सुधार नभएको बताए । उनले मुलुकको कुटनीतिक संचरना नै सुधार गर्न जरुरी रहेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धु्रवबहादुर प्रधानले सरकारले उक्त घटनाको सत्यतथ्य छानविन गर्न कुटनीति पहल गर्न माग गरे ।
सभाको आकस्मिक समयमा सांसदहरूले लम्सालको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्नुपर्ने माग गरेका छन् ।
प्रकृति लम्सालको न्यायको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन
भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
मंगलवार नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले माइतीघरमा प्रदर्शन गरेको हो ।
उनीहरुले नेपाली विद्यार्थीमाथि भएको आक्रमण बन्द गर, जस्टिस फर प्रकृति लम्साल लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका छन् ।
नेप्से परिसूचकमा लगातार दोहोरो अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार दोहोरो अङ्कको वृद्धि देखिएको छ । आइतबार १९ दशमलव ५६ र सोमबार २९ दशमलव ८७ अङ्कले बढेको नेप्से परिसूचक आज ११ दशमलव ९१ अङ्कले बढेको हो ।
शून्य दशमलव ४३ प्रतिशतको वृद्धिपछि नेप्से परिसूचक दुई हजार ७३९ दशमलव ८२ को विन्दुमा कायम भएको छ ।
आज ३१४ कम्पनीको एक करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर ९९ हजार ५८५ पटक खरिदबिक्री हुँदा १० अर्ब ४३ करोड ७० लाख छ हजार २१४ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैङ्किङ शून्य दशमलव २२, लगानी एक दशमलव २४, जीवन बीमा एक दशमलव ७४, निर्जीवन बीमा शून्य दशमलव ३०, व्यापार शून्य दशमलव ४१ र अन्य समूह तीन दशमलव ६७ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ ।
विकास बैङ्क एक दशमलव ७४, वित्त एक दशमलव ५०, होटेल तथा पर्यटन एक दशमलव ०४, जलविद्युत् शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०६, लघुवित्त शून्य दशमलव ७९ र म्युचुअल फन्ड शून्य दशमलव ०५ प्रतिशतले घटेको छ ।
वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, इमर्जिङ नेपाल लिमिटेड र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, सप्तकोशी डेभलपमेन्ट लिमिटेड र कुमारी डिभेन्चर–२०८६ को शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड अगाडि देखिएको छ । यो कम्पनीको आज ८२ करोड दुई लाख ३६ हजार ९१० बराबरको आठ लाख ९३ हजार ८५ कित्ता शेयर किनबेच भएको छ ।
युगान्डा भ्रमणको लागि नेपाली महिला क्रिकेट टोलीको छनोट
युगान्डामा आयोजना हुने मैत्रीपूर्ण क्रिकेट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
युगान्डा क्रिकेट एसोसिएसनको आयोजनामा यही फागुन २२ देखि चैत ४ गतेसम्म सञ्चालन हुने मैत्रीपूर्ण क्रिकेट खेलको लागि पहिलो चरणमा १८ खेलाडी प्रशिक्षणमा बोलाएको हो ।
छनोट हुने टोलीमा कप्तान इन्दु बर्मासहित रचनाकुमारी चौधरी, साना प्रवीन, रिया शर्मा, सीमाना केसी, शोभा रोकाया, राजमती ऐरी, अलिसाकुमारी यादव, सबनम राई, रूविना क्षेत्री र ममताकुमारी चौधरी छन् ।
त्यसैगरी कविता जोशी, रोमा थापा, ईश्वरी विष्ट, सम्झनाकुमारी खड्का, पूजा महतो, विन्दु रावल र मनिषा कुमारी उपाध्याय छन् ।








