सरकार एमालेकरण हुँदैछ, सशक्त खबरदारी आवश्यक : डा. शेखर कोईराला (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोईरालाले नेपाली कांग्रेस सत्ता पक्षमा भए पनि सरकारमा नरहेको स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियनको राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै सांसद कोईरालाले सरकारलाई निरन्तर खबरदारी गर्नुपर्ने आवश्यकतामा जोड दिएका हुन् ।

उनले सरकार क्रमशः एमालेकरण भइरहेको आरोप लगाउँदै लोकतन्त्रमा संयन्त्रमार्फत शासन चलाउने प्रवृत्ति अस्वीकार्य रहेको बताए । सांसद कोईरालाले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै घुस दिनेलाई समात्ने र घुस लिनेहरूलाई उन्मुक्ति दिने प्रवृत्ति हावी भइरहेको टिप्पणी गरे । महान्यायाधिवक्ता रमेश बडालले राज्यको अधिकारको दुरुपयोग गरिरहेको उनको आरोप छ ।

सांसद कोईरालाले हाल संसदमा पेश गरिएको सामाजिक सञ्जालसम्बन्धी विधेयकले अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुर्‍याउने भन्दै कडा आपत्ति जनाए । उनका अनुसार, विधेयक जसरी आएको छ, सोही रूपमा पारित भएमा नागरिकको अधिकार कुण्ठित हुनेछ । सम्बन्धित सरोकारवालासँग छलफल गरेर मात्र विधेयक अगाडि बढाउनुपर्ने उनको माग छ ।

उनले लोकतान्त्रिक व्यवस्थामा शासन संयन्त्रबाट होइन, विधिसम्मत तरिकाले सञ्चालन हुनुपर्नेमा जोड दिए । हाल केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्रद्वारा शासन चलाउने अभ्यासलाई उहाँले साम्यवादी प्रवृत्तिको संज्ञा दिए । सांसद कोईरालाले वर्तमान सरकार बनाउने क्रममा नेपाली कांग्रेसको मुख्य उद्देश्य सुशासन र राजनीतिक स्थायित्व कायम गर्नु रहेको तर हाल सरकारको कार्यशैलीले लोकतन्त्रलाई कमजोर बनाउने खतरा बढाएको उल्लेख गरे ।

सांसद कोईरालाले नेपाली कांग्रेस सत्तारूढ दल भए पनि सरकारमा नरहेको भन्दै सरकारका काम कारबाहीमा कडा खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याए । एमाले प्रमुख प्रतिद्वन्द्वी भएकाले कांग्रेसले सत्यका पक्षमा उभिएर सचेत भूमिका खेल्नुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =