छोरीको शंकास्पद मृत्युपछि प्रकृतीका बुवा ओडिसामा

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा मृत अवस्थामा फेला परेकी नेपालकी प्रकृति लम्सालका बुवा घटनास्थल पुगेका छन् । उनका बुवा सुनिल लम्साल सोमबार भारतको ओडिसा पुगेका हुन् ।
प्रकृती त्यहाँ बीआइटी तेस्रो वर्षमा अध्ययन गरिरहेकी थिइन् । भैरहवामा स्थायी घर भए पनि लम्साल परिवार काठमाडौंमा व्यवसाय गरेर छोराछोरी पढाउँदै आएका थिए ।
आइतबार बुटवलकी प्रकृति लम्साल कलेजको होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन् । लम्साल मृत भेटिएपछि गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै नेपाली विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन गरेका थिए । नेपाली विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि कलेजले उनीहरुलाई निष्काशन गरेको थियो ।
विश्वविद्यालयले भने लम्सालले आत्महत्या गरेको दाबी गरेको छ । मंगलबार शवको पोष्टमार्टम गर्ने तयारी रहेको बताइएको छ ।








