नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न नेपाली राजदूतावासको आग्रह
होस्टल र कक्षा सञ्चालनको व्यवस्था मिलाउने प्रतिवद्धता

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयका नेपाली विद्यार्थीलाई संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन नयाँ दिल्लस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ ।
दूतावासले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,‘हाम्रो अनुरोध बमोजिम उक्त शैक्षिक संस्थाले सोही अनुसार विद्यार्थीलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरूका लागि कक्षा सञ्चालनको व्यवस्थापन गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ।’
सोही अनुसार विश्वविद्यालयले होस्टल र कक्षा सञ्चालनको व्यवस्था मिलाउने बताएको छ ।
आइतबार बुटवलकी प्रकृति लम्साल कलेजको होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन् ।
लम्साल मृत भेटिएपछि गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै नेपाली विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन गरेका थिए । नेपाली विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि कलेजले उनीहरुलाई निष्काशन गरेको थियो ।
विश्वविद्यालयले भने लम्साले आत्महत्या गरेको दाबी गरेको छ ।









