खबर दिनभर : ओलीसंग सवालजवाफ,केबलकारको पक्षमा बोलेपछि कालोमोसो,बेलुन पड्किएपछि बन्यो समिति

लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीलाको जीवनरेखा हो : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला र मौलिक अधिकारहरू यसको जीवनरेखा भएको बताएका छन् ।

आज आयोजित पाँचौं ‘ल एशिया’ तथा अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनमा उनले यी अधिकारहरूले प्रत्येक व्यक्तिलाई मर्यादा, स्वतन्त्रता र समानताका साथ बाँच्ने अधिकार सुनिश्चित गर्ने बताए ।

नेपालमा, लोकतन्त्रप्रतिको जनताको लामो समयदेखिको समर्पण र उत्सर्गले हामीलाई त्यस्तो समाज निर्माणका लागि हरेक दृष्टिबाट प्रेरित गरेको राष्ट्रपति पौडेलको भनाइ थियो ।

नेपालले लोकतन्त्र प्राप्तिका लागि लामो र कठिन यात्रा तय गरेको उल्लेख गरे । राष्ट्रपति पौडेलले लोकतन्त्रको सङ्घर्षमा धेरै साहसी व्यक्तिहरूले अथक सङ्घर्ष गरेको बताउँदै यो सङ्घर्ष नेपालमा लोकतन्त्रको स्थापना पुनस्र्थापना हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न महत्वपूर्ण रहेको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले भने, ‘यी प्रयासमार्फत नै हामीले मानव अधिकारको सम्मान गर्ने समाज निर्माण गर्न सक्षम भएका छौं । यसमा नेपालका कानुन व्यवसायीहरूको योगदान अविस्मरणीय छ । जहाँसुकै र जो कोही होस् कानुन व्यवसायीहरू विधिको शासनको पहरेदार हुन् र लोकतन्त्रको रक्षक हुन् भन्ने पनि मेरो ठम्याइ छ ।’

उनले कुनै पनि किसिमको यातनारहित स्वतन्त्रतापूर्वक बाँच्न पाउने हक, दासतामुक्त जीवन, रङ्गभेद, लिङ्गभेद, विचार तथा अभिव्यक्तिको स्वतत्रता, अनिवार्य रोजगारी र स्तरीय शिक्षा तथा स्वास्थ्य मानवलाई नभई नहुने अधिकार भएको बताए ।

उनले भने, ‘लोकतन्त्रमा नागरिकका यी अधिकार राज्यबाट प्रत्याभूत भए, नभएको अनुगमन गर्ने र नभएको भए त्यसमा आवाज उठाउने व्यवसायिक धर्म पनि कानुन व्यवसायीको हो भन्ने मेरो बुझाइ छ ।’

राष्ट्रपति पौडेलले लोकतन्त्रप्रति नेपालको प्रतिबद्धताले आफूहरूलाई विश्वव्यापी रूपमा मानव अधिकार र न्यायको वकालत गर्दै अन्तर्राष्ट्रिय मञ्चमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्षम बनाएको बताए ।

राष्ट्रपति पौडेलले हिमालयको मुटुमा अवस्थित नेपाल प्राकृतिक सौन्दर्य र स्रोतसाधनले भरिपूर्ण देश नेपालमा पछिल्लो समय जलवायु परिवर्तनका कारण हाम्रा समुदायहरूमा गहिरो प्रभाव पर्न थालेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण नेपालमा प्राकृतिक प्रकोप, जैविक विविधताको क्षति र कृषिमा आधारित जीविकोपार्जनमा समेत खतराहरू बढ्दै गएको बताए ।

उनले भने, ‘विकसित देशहरूको कार्यबाट उत्पन्न वातावरणीय ह्रासको परिणाम नेपालले भोगेको छ । हामी यी वातावरणीय प्रकोपका निर्दोष पीडित हौँ । यी अन्यायहरूलाई सम्बोधन गर्न र दिगो र समतामूलक भविष्यतर्फ काम गर्न हामीले ल एशिया र अन्तर्राष्ट्रिय समुदायबाट समेत जलवायु न्यायका लागि एउटा सशक्त अभियानको अपेक्षा गरेका छौँ ।’

सत्ता साझेदार दलबीच कुनै शंका उपशंका गर्न जरुरी छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरूबीच मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम गर्दै अगाडि बढ्ने विषयमा सत्ता साझेदार दलबीच कुनै शंका उपशंका गर्न जरुरी नरहेको बताएका छन् ।

आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले दुई दलबीच उच्च विश्वास र समझदारी रहेको बताए ।

विकास, समृद्धि र स्थिरताका लागि नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भुमिका रहेका दुई ठूला राजनीतिक दलहरूसहित अन्य दलहरू मिलेर वर्तमान सरकारको गठन गरिएको बताए ।

‘विकास, समृद्धि र स्थिरताका लागि नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भुमिका रहेका दुई ठूला राजनीतिक दलहरूसहित अन्य दलहरू मिलेर वर्तमान सरकारको गठन गरिएको हो,’ उनले भने,‘गठबन्धनमा रहेका दलहरूबीच मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम गर्दै अगाडि बढ्ने विषयमा सत्ता साझेदार दलबीच कुनै शंका उपशंका गर्न जरुरी छैन । हामिबीच उच्च विश्वास र समझदारी रहेको छ ।’

उनले चालु खर्चमा मितव्ययिता कायम गर्दै पूँजीगत खर्चमा वृद्धि तथा आयोजना कार्यान्वयनमा सुधार गर्न बजेट तर्जुमा गर्दा एवं आयोजना छनौट तथा प्राथमिकीकरण गर्दा आयोजना बैङ्कमा प्रविष्टी भएको, क्षेत्रगत प्राथमिकतामा परेको, लगानीको स्रोत सुनिश्चितता भएको, छोटो समयमा प्रतिफल दिने, आयोजना वर्गीकरण मापदण्ड बमोजिम आयोजनाको सम्पूर्ण पूर्व तयारीका काम सम्पन्न भएका आयोजना मात्र छनौट गर्ने व्यवस्था मिलाइने बताए ।

उनले आयोजना कार्यान्वयनमा शिघ्रता ल्याउन, ठेक्का व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न, सार्वजनिक खरिद कानूनमा सामयिक संशोधन गर्न र अन्तर तह तथा अन्तर निकाय समन्वय कायम गर्न संयन्त्रहरूलाई क्रियाशिल बनाइने बताए ।

पोखरा दुर्घटना : अर्थमन्त्री र मेयरको स्वास्थ्यअवस्था बुझ्न प्रधानमन्त्री पुगे कीर्तिपुर अस्पताल

शनिवार पोखरामा बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्यलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंको कीर्तिपुर अस्पताल पुगेका छन् ।

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोट भएर घाइते भएका उपप्रधान एवं अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर आचार्यलाई भेट्न प्रधानमन्त्री ओली आइतबार साँझ कीर्तिपुर अस्पताल पुगेका हुन् ।

शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्ष कार्यक्रमको उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए ।

उनीहरूलाई तत्काल पोखरामै प्राथमिक उपचार गराएर थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उनीहरूको थप उपचार भइरहेको छ ।

प्रधानमन्त्री विरूद्धको अवहेलना मुद्धामा सर्वोच्चको कारण देखाउ आदेश

प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध परेको अवहेलना मुद्धामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले बताए ।

अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनले गिरिबन्धु टी-स्टेट सम्बन्धी फैसला कार्यान्वयन नगरी अवहेलना गरेको र अध्यादेश ल्याएर अवरोध सिर्जना गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सरकारले विचौलियालाई पक्ष पोषण गर्‍यो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार दलाल पुँजीपति, विचौलियालाई पक्ष पोषण गर्नेगरी अघि बढिरहेको आरोप लगाएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

दलाल पुँजीलाई र विचौलियालाई पोस्ने काम सरकारले गर्न खोजिरहेको उनको आरोप छ । यसबारेमा भण्डाफोर गर्न पार्टी निकट पत्रकारहरुलाई आग्रह गरे । ‘६ वटा अध्यादेश ३० वटा कानूनमा संशोधन यसको पछाडि राम्रो नियत देखिँदैन । भूमि सम्बन्धी ऐनको बारेमा चर्चा भइसकेको छ,’ उनले भने, ‘त्यसैगरी मिडियासँग जोडिएको नियन्त्रण गर्न खोज्ने नियत पनि स्पष्ट भइसकेको छ । यि सबै कुराको सन्दर्भमा भन्ने हो भने जसरी दलाल पुँजीलाई, विचौलियालाई पूरै पोस्ने काम सरकारले गर्न खोजिरहेको छ । यसको पनि तपाईंहरुले भण्डाफोर गर्नुपर्छ । ’

उनले समितिमा विचाराधिन रहेका विधेयकहरु फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न नपाइने अवस्थालाई मिचेर सरकारले अध्यादेश जारी गरेको बताए । कानूनको रक्षक हुनुपर्ने सरकार आफैँ कानूनको भक्षक बनेको उनको आरोप छ ।

उनले भने– ‘समितिमा विचाराधिन रहेका विधेयकहरु फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न पाइँदैन । यो कानूनको खुलेआम उल्लंघन गरेर सरकार जसरी अघि बढेको छ । कानूनको रक्षक हुनुपर्ने सरकार आफैँ कानूनको भक्षक बन्न पुगेको छ । संसदको नियमित अधिवेशनमा कानूनमा सुधार गर्नुछ भने, विधेयक ल्याउनुछ भने त्यसको प्रक्रियाबाट अघि जानुपर्नेमा संसद नै छलेर, संसदको बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर जसरी अध्यादेश ल्याउने काम भएको छ ।’

अध्यक्ष नेपालले आफूहरुले विपक्षी दलहरुलाई बोलाएर सरकारको खबरदारी गरेको बताए । उनले आफूहरुले दिएको दबाबबाट आत्तिएर सरकार अधिवेशन बोलाउन बाध्य भएको बताए ।

दबाबकै कारण संसदमा पेश गरेको अध्यादेशमा तत्काल अघि नबढाइएको बताए ।

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

राष्ट्रियसभाका सांसद मदनकुमारी गरिमा (शाह) ले जातीय भेदभाव तथा छुवाछूतका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्नेमा जोड दिएकी छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनले बैतडीको सिगास गाउँपालिका–१ आङडेगाडाका प्रकाश दमाइँकी आमा माना दमाइँको निधन हुँदा जातीय कारणले मलामी नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्, ‘सामाजिक न्याय र मानव अधिकार हराउँदै गएको छ, शिक्षक प्रकाश दमाइँकी आमाको शब्दले दमाइँ भएकै कारण मलामी पाएको छैन, यो घटना सभ्य समाजका लागि कलङ्क हो, जातीय विभेदको योभन्दा निकृष्ट उदाहरण अरु हुन सक्दैन ।’

सांसद भुवन सुनारले भने, ‘खरका छाना विस्थापन गर्न छ वर्षमा छ अर्ब भन्दा बढी खर्च भइसकेको छ, तर ७७ हजार खरका छाना मात्र भएका छन्, चालु आर्थिक वर्षमा ४० करोड विनियोजन भएको सुनिएको छ, यो ४० करोड कार्यान्वयनका सवालमा लापर्बाही भएको छ, यस बारेमा सरकारले बैठकमा प्रष्ट पार्नुपर्छ ।’ सरकारले खरका छाना मात्र परिवर्तन गर्नेभन्दा पनि भूकम्पका कारण जीर्ण बनेका पुराना घर भत्किाएर नयाँ घर निर्माण गरिदिनुपर्ने उनको भनाइ छ ।

सांसद युवराज शर्माले देशका विभिन्न अस्पतालमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भइरहेको भन्दै ती अस्पतालमा दरबन्दीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद सुरेशकुमार आलेमगरले म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका–१ मासडक विस्तार नहुँदा त्यहाँका जनताले दुःख पाएको गुनासो गरे ।

न्यूनतम पारिश्रमिकको मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित

काठमाडौंको मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालका दैनिक ज्यालादारी कर्मचारीहरु सरकारले तोकेको न्युनतम पारिश्रमिक र सेवा सुविधाको माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।

अस्पताल स्थापनाकालदेखि दैनिक ज्यालादारी कर्मचारीको सेवा सुविधा एवं अन्य सेवा सुविधा बढाउन माग गर्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय स्वास्थ्यकर्मी श्रमिक संगठनका केन्द्रीय अध्यक्ष केशव रोकायाले बताएका छन् ।

स्वास्थ्य क्षेत्रको काम सम्मान जनक भएको उल्लेख गर्दै उहाँले सम्मानजनक सेवा सुविधा दिनुपर्ने बताए ।

उनले आठ घण्टा काम गर्ने र चार घण्टा काम गर्ने कर्मचारीहरुले एउटै प्रकृतिको सेवा सुविधा पाउने गरेको उल्लेख गर्दै त्यस्तो नगर्न समेत आग्रह गरे ।

उहाँले दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीको हकमा उमेरको हदबन्धी लाग्ने गरेर सेवा सुविधा थप गर्नुपर्ने उनको माग छ ।

निजामति कर्मचारी अस्पतालको रेडियोलोजी डिपार्टमेण्टका कर्मचारी पंख वि।क।ले दैनकि ज्यालादारीमा काम गर्ने कर्मचारीहरुलाई काम मात्र गराउने तर सेवा सुविधा केही पनि दिने नगरेको आरोप लगाए ।

उनले सरकारी मापदण्डअनुसार सेवा सुविधा नदिने र निर्देशकपिच्छे आफ्ना कर्मचारी नियुक्ति गर्ने प्रवृत्ति बढेकोले आन्दोलनमा उत्रिनुपरेको बताए । उनले आफ्ना मागहरु सम्बोधन नभएर प्रधानमन्त्री कार्यालय घेर्नेसम्मका चेतावनीहरु दिएका छन् ।

राष्ट्रिय सभाबाट नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक सर्वसहमतिले पारित

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ ।

आईतवार बसेको राष्ट्रिय सभाको बैठकले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई सर्वसहमतिले पारित गरेको हो । बैठकमा सरकारको तर्फबाट उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विधेयक प्रश्तुत गरेका थिए ।

उक्त विधेयकमाथि सांसदहरुले छलफल गरे । सांसदहरुको छलफलपछि विधेयकलाई उर्जामन्त्री खड्काले पारित गर्न प्रश्ताव प्रश्तुत गरे ।

प्रश्तावलाई राष्ट्रिय सभाको बैठकले सर्वसहमतिले पारित गरेको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।

राष्ट्रिय सभाको अर्को बैठक फागुन ६ गते मंगलवार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।

परराष्ट्रमन्त्री र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच आइतबार ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ । आठौँ हिन्दमहासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहनुभएका उहाँहरुबीच आज साँझ भेट भएको हो ।

सो भेटका क्रममा दुवैजनाबीच नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी हित, साझा चासो र पारस्पारिक लाभका विविध विषयमा कुराकानी भएको थियो । त्यस भेटका क्रममा पछिल्लो समय दुई देशबीचका द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान तथा आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो । हालै काठमाडौँमा सम्पन्न वाणिज्य सचिवस्तरीय तथा भारतको नयाँदिल्लीमा भएको ऊर्जासम्बन्धी बैठक र तिनको प्रगतिका विषयमा पनि उहाँहरुबीच कुराकानी भएको थियो ।

भेटमा मन्त्री डा.देउवाले भारतसँग भएको ऊर्जा व्यापारसम्बन्धी सम्झौताले नेपालबाट भारत तथा भारत भएर बङ्गलादेश विद्युत् निर्यात प्रवद्र्धनमा सहयोग पु¥याएको भन्दै भारत सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै पछिल्लो समयमा दुई देशबीचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएको प्रगतिबारेमा उहाँहरुबीच कुराकानी भएको थियो ।

नेपाल–भारत बङ्गलादेशबीचको त्रिपक्षीय विद्युत् व्यापार सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि ठूलो उपलब्धि रहेको उल्लेख गर्दै त्यसका लागि भारतले प्रदान गरेको सहजीकरण उल्लेखनीय रहेको मन्त्री डा. देउवाको भनाइ थियो ।

भेटमा क्रसबोर्डर विद्युत् व्यापार निर्माणको ‘मोडालिटी’का विषयमा भएको प्रगतिका बारेमा पनि कुराकानी भएको थियो । साथै नेपाल–भारतबीचको व्यापार सन्धिको पुनरावलोकन, गत जनवरी महिनामा काठमाडौँमा भएको नेपाल–भारत इन्टर गभर्मेन्टल कमिटी बैठकमा धेरै क्षेत्रमा भएका उत्पादनमूलक छलफल र निर्णयका साथै धम्रा तथा मुन्द्रा थप बन्दरगाहको सञ्चालनका विषयमा पनि कुराकानी भएको थियो ।

साथै सो भेटका क्रममा भारतीयतर्फबाट अतिरिक्त बन्दरगाह सञ्चालनका लागि भएको प्रगति र यसले सीमा पूर्वाधारको विकास तथा व्यापार प्रवद्र्धन र दुई देशबीचको कनेक्टिभिटीमा सुधार ल्याउने उल्लेख गर्दै मन्त्री डा देउवाले प्रशंसा गर्नुभएको थियो ।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनासँग सम्बन्धित प्रमुख प्राविधिक समस्या समाधान भइसकेको तथा हालै भएको दुवै देशको मन्त्रिस्तरीय बैठकबाट यसलाई सकारात्मक रुपमा अघि बढाउने समझदारी भएको विषयमा समेत उहाँहरुबीच छलफल भएको थियो ।

सो भेटका क्रममा माथिल्लो अरुण परियोजना अघि बढेकामा भारतीय विदेशमन्त्रीले धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै विदेशमन्त्री डा जयशङ्करले बिम्स्टेक सङ्गठनलाई सबै मिलेर अगाडि बढाउनुपर्ने धारणा कुराकानीका क्रममा राख्नुभएको थियो ।

बेलुन विष्फोट घटना स् आठ सदस्यीय छानबिन समिति गठन

हिजो पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ ।

गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिलाई १५ दिनभित्रमा छानबिन प्रतिवेदन पेस गर्ने कार्यादेश छ ।

मन्त्री स्तरीय निर्णयबाट गठित समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण बाहिनीका प्रमुख सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान कास्की जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक सुरेशकुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री सदस्य सचिव रहेको समिति गठन गरिएको हो । समितिमा एक जना विष्फोटक पदार्थ विज्ञसमेत सदस्यका रुपमा रहने व्यवस्था गरिएको छ ।

समारोहमा बेलुन उडाउने क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका छन् ।

उनीहरु दुवै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

छानबिन समिति गठन गरेपछि गृहमन्त्री लेखक बर्न अस्पताल पुगेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

केबलकार निर्माणको पक्षमा उभिएपछि धरानमा दलियो कालोमोसो

ताप्लेजुङ स्थित पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर एक जनामाथि कालोमोसो दलिएको छ ।

आइतबार दिउँसो सुनसरीको धरान उपमहानगरपालिका ९ को हङकङ होटेलमा याथ्थुङचुङलुङ केन्द्रिय समितिको पत्रकार सम्मेलनमा मुक्कुमलुङ संघर्ष समितिको पक्षले याथ्थुङचुङलुङका उपाध्यक्ष पदम लिम्बुमाथि कालोमोसो दलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सुचना अधिकारी प्रहरी निरीक्षक दिनेश अधिकारीले मकालुखबरलाई बताए ।

केलबकार बनाउने विषयमा लिम्बुले सामाजिक सञ्जालमा लेखेको र भाषण गरेपछि उनीमाथि कालोमोसो दलिएको प्रहरीले जनाएको छ । उद्यपी लिम्बुले अबदेखी केबलकार निर्माणको पक्षमा नबोल्ने बताएपछि उनलाई छाडिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

अहिले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा विवाद छ ।

शान्दार मःम ग्यास विस्फोट घटना : मृतकको संख्या ४ पुग्यो

कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका अर्का युजकको उपचारका क्रममा मृत्यु भएको छ । काभ्रे बेथानचोक घर भइए हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसरकाअनुसार उनको गएराति करिब पौने १२ बजे मृत्यु भएसँगै ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि शुक्रबार उपचाररत उदयपुरको उदयपुरगढी(७ घर भइ हाल काठमाडौं बस्दै आएका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो ।

मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका(८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर ९नवीन०को उपचारका क्रममा गत सोमबार नै मृत्यु भएको थियो ।

विस्फोटमा परी १४ जना घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते भएका ११ जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो ।

नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि

साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ को विन्दुमा कायम भएको हो ।

आज तीन सय नौ कम्पनीको दुई करोड नौ लाख ८४ हजार चार सय ४० कित्ता शेयर ९६ हजार दुई सय ८२ पटक खरिदबिक्री हुँदा नौ अर्ब ४७ करोड तीन लाख आठ हजार दुई सय ६६ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा म्युचुअल फन्ड शून्य दशमलव ११ र निर्जीवन बिमा एक दशमलव २८ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

वित्त समूह सबैभन्दा धेरै चार दशमलव ९४ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ९८, विकास बैंक शून्य दशमलव ०८, होटल तथा पर्यटन एक दशमलव ९५ र जलविद्युत् शून्य दशमलव ३६ प्रतिशतले बढेको छ ।

त्यस्तै, लगानी एक दशमलव १७, जीवन बीमा शून्य दशमलव ३९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २०, लघुवित्त एक दशमलव ८६, व्यापार शून्य दशमलव २५ र अन्य समूह शून्य दशमलव ३८ प्रतिशतले बढेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड, नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३३ करोड ५४ लाख ७५ हजार एक सय २९ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै एनआईबिएल स्टेबल फन्डको सात लाख ११ हजार तीन यस ८४ कित्ता शेयर किनबेच भएको छ ।

सुनको मूल्यमा भारी गिरावट

नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९आइतबार० सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड, १८ जनाको मृत्यु

भारतको नयाँ दिल्ली रेलवे स्टेशनमा भयावह भागदौड मच्चिँदा १८ जनाले ज्यान गुमाएका छन् । भारतीय पत्रिका दैनिक भास्करका अनुसार उक्त घटनामा १४ महिला र ३ बालबालिकासहित १८ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाइते भएका छन् ।

शनिबार दिउँसो ४ बजेदेखि नै महाकुम्भ यात्राका लागि ठूलो संख्यामा यात्रुहरू स्टेशनमा उपस्थित भएका थिए । राति करिब ८स्३० बजे प्रयागराज जाने तीनवटा रेल ढिला भएपछि यात्रुहरूको भीड अझ बढ्यो । प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा अत्यधिक भीड भएपछि त्रासको माहोल सिर्जना भयो र भागदौड मच्चियो ।

घटनापछि भारतीय रेलमन्त्री अश्विनी वैष्णवले तुरुन्तै छानबिनको आदेश दिएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

महाकुम्भ मेलाका क्रममा यसअघि पनि यस्ता दर्दनाक घटनाहरू भएका छन् । जनवरी २९ मा प्रयागराजको महाकुम्भमा भागदौड हुँदा ३० जनाले ज्यान गुमाएका थिए । त्यस्तै, फेब्रुअरी १०, २०१३ मा प्रयागराज रेलवे स्टेशनमा भागदौड हुँदा ३६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 9 =