नेपालमा भ्रष्टाचार झनै बढ्यो, सुशासन खस्कियो : सांसद पन्त


काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेसकी सांसद कमला पन्तले नेपालमा भ्रष्टाचार झनै बढेको बताएकी छन् ।
आईतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भ्रष्टाचार र सुशासनमाथि निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल गरेको अध्ययन प्रतिवेदनअनुसार यस वर्ष सन् २०२३ को भन्दा कम अंक पाएको बताइन् ।
उनले नेपालमा भ्रष्टाचार झनै बढेको र सुशासन झनै कमजोर हुँदै गएको तथ्यांकले देखाएको बताइन् ।
उनले २०२३ को भन्दा पनि कम हुनुमा के कमजोरी भए त्यसको मूल्यांकन गर्न आग्रह गरिन् । ‘भ्रष्टाचार र सुशासनमाथि निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल यसले हरेक वर्ष झैँ यस वर्ष पनि सन् २०२४ को भ्रष्टाचार र सुशासनको अध्ययन विश्लेषण गरी हालै प्रतिवेदन सार्वजनिक गरेको छ । दुःखको कुरा नेपालमा भ्रष्टाचार बढेको र सुशासन खस्किएको प्रतिवेदनले देखाएको छ । नेपालले जम्मा ३४ अंक प्राप्त गरेको छ । अघिल्लो वर्ष ३५ थियो । अझ हामी सुशासनमा कमजोर देखिएका छौँ । भ्रष्टाचार बढेको देखिएको छ । सन् २०२३ को भन्दा पनि कम हुनुमा हाम्रा केके कमजोरी हो ? त्यसको मूल्यांकन हुनुपर्छ’ उनले भनिन् ।
उनले दिगो विकासको लक्ष्य प्राप्ति गर्न पाँच वर्ष मात्रै बाँकी रहेको बताइन् ।
