इमान्दारिताका साथ संविधान संशोधन गर्ने हो भने रास्वपाको साथ रहन्छ : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कसैले परिकल्पना गरेको कुरा लागू गर्न संविधान संशोधन गर्नेकुरा स्वीकार्य नहुने बताएका छन् ।

ललितपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधान निर्माण गरिरहँदा प्रत्येक १० वर्षमा यसको पुनरावलोकन गर्ने विषय समेटिएको तर संविधान नै पूर्ण कार्यान्वयन हुन नसकेको उल्लेख गरे ।

‘मलाई विश्वास त छैन, सात बुँदामध्ये २ नम्बर बुँदामा संविधान संशोधन राखेर नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन बन्यो,’ उनले भने, ‘इमान्दारिताका साथ गर्न खोजेको हो भने हामीले त्यसलाई स्वीकार गरेका छौँ । हाम्रो प्रवृत्ति स्थायी छैन । राजनीतिक संस्कार स्थायित्व छैन, कोही पार्टीहरुलाई चाहियो भनेर स्थायित्व जबरजस्ती हुँदैन ।’

उनले इमान्दारिताका साथ संविधान संशोधन गर्न खोजेको भए रास्वपाको साथ रहने बताए । उनले राजनीतिक संस्कार स्थायी हुन जरुरी रहेको बताए ।

उनले दुई तिहाई बहुमत ल्याउन निर्वाचनले कुनैपनि राजनीतिक दललाई नरोेकेको बताए । ‘दुई तिहाई बहुमत पनि आउनसक्छ । तदनुरुपको विचार हुनुपर्छ । राजनीतिक मुद्दा हुनुपर्छ । निर्वाचन प्रणालीले बहुमत र अल्पमतमा लैजाने भन्ने होइन । मुख्य कुरा विचार हो । जनताका मुद्दा हुन् । कुनै पार्टीलाई आजको संविधानले बहुमत ल्याउन कतै रोकेको छैन’ उनले भने ।

प्रमुख सचेतक परियारले संविधान संशोधन गर्नुपर्ने तर त्यस भन्दा पहिला व्यक्ति र राजनीतिक दलको प्रवृत्ति र चरित्र बदल्नुपर्ने जरुरी रहेको बताए । ‘संविधान संशोधन गर्नुपर्छ तर पार्टीको प्रवृत्ति, चरित्र र व्यक्तिको प्रवृत्ति, चरित्र बदल्नुपर्छ । व्यक्तिको पनि संविधानतः चरित्र हुनुपर्छ, समावेशी हुनुपर्छ । संविधानले परिकल्पना गरेको कुरा केही पनि नगर्ने अनि आफूले परिकल्पना गरेको कुरा लागू गर्न संविधान संशोधन गर्नुपर्ने ? सबैभन्दा खतरनाक कुरा यो हो’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *