विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै नेपाल : विश्व समुदायले हेर्ने दृष्टिकोणमा सकारात्मक प्रभाव पर्ने विश्वास

काठमाडौँ । नेपाल सन् २०२६ मा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने भएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले अध्ययन प्रतिवेदन बुझाउँदै उक्त जानकारी दिएको हो ।
समितिमा एलडिसी अध्ययन प्रतिवेदन बुझाउँदै उपसमितिकी संयोजक सांसद अञ्जान शाक्यले नेपाल सन् २०२६ नोभेम्बर २४ मा अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने जानकारी दिए ।
उनले स्तरोन्नतिबाट नेपाललाई प्राप्त हुने अवसर, त्यसले नेपाललाई पार्ने प्रभाव र प्रभावको समुचित व्यवस्थापनको भइरहेका कामहरूबारे उपसमितिले अध्ययन गरी प्रतिवेदन तयार पारिएको बताए । उनले अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति भएसँगै नेपाली जनता र नेपालको सम्मान बढ्ने र नयाँ अवसरहरू सिर्जना हुने बताए ।
उनले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति भएसँगै विश्व समुदायले नेपाललाई हेर्ने दृष्टिकोणमा समेत सकारात्मक प्रभाव पर्ने बताए । विकासशील राष्ट्र भएसँगै नेपालमा वैदेशिक लगानी र विकास सहायता परिचालनमा वृद्धि हुने बताए ।
उनले भने ‘समितिको वार्षिक कार्ययोजनाअनुसार नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन गरेको छ । नेपाल सन् २०२६ नोभेम्बर २४ मा अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछ । स्तरोन्नतिबाट नेपाललाई प्राप्त हुने अवसर, त्यसले नेपाललाई पार्ने र प्रभाव र प्रभावको समुचित व्यवस्थापनको लागि नेपाल सरकारबाट भइरहेका कामकारबाहीहरूको बारेमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य मन्त्रालय तथा आयोग र निजी क्षेत्र एवं सरोकारवाला निकायहरूसँग उपसमितिले घनिभूत रुपमा छलफल गरेर जानकारी लिएको छ । स्तरोन्नतीले नेपाल र नेपालीको सम्मान बढ्ने र नयाँ अवसरहरूको सिर्जना गर्नेछ । सँगसँगै अन्तर्राष्ट्रिय समुदायले नेपाललाई हेरिरहेको दृष्टिमा पनि सुधार आउनेछ । अन्तर्राष्ट्रिय जगतबाट नेपाललाई हेर्ने उचाइ बढ्नेछ । सिर्जित प्रभावको सहज व्यवस्थापन एवं अवसरको सदुपयोगको लागि वैदेशिक लगानी र विकास सहायता परिचालन एफडिआई र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनको क्षेत्रमा अवसरहरू बढ्ने छ ।’
नेपालले प्राप्त अवसरहरूको सदुपयोग गर्न नीति, कानुन, रणनीति र कार्यविधिको परिमार्जन तथा संस्थागत एवं संरचनागत सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ । समितिले उक्त प्रतिवेदनको आवश्यक अध्ययन गरि सरकारलाई निर्देशन दिने बताएको छ ।
समिति सचिव डा. रोजनाथ पाण्डेले विकासशील राष्ट्रमा स्तरोन्नति भइसकेपछि प्राप्त हुने अवसरहरूबारे गम्भीर रुपमा अध्ययन गर्न जरुरी रहेको बताए । उनले स्तरोन्नति भएसँगै प्राप्त हुने अवसर, यसले पार्ने प्रभाव लगायतका विषयमा अध्ययन गरेर उपसमितिले प्रतिवेदन तयार पारेको बताए ।
उनले स्तरोन्नति भएको कुरालाई फेरि फर्किन नदिई यसको दिगोपना कायम गर्न सरकारी क्षेत्र र निजी क्षेत्रको बीचमा समन्वय हुन जरुरी रहेको समेत बताए ।








