खबर दिनभर : ओली विरुद्ध सर्वोच्चमा मुद्धा,कांग्रेसको सभापति र प्रधानमन्त्री शेखर बन्ने,थुनामा छविलाल


प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्धा दर्ता
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतमा अवहेलना मुद्धा दर्ता भएको छ । सोमबार अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्धा दायर गरेका हुन् ।
अर्यालले टी स्टेट्ससम्बन्धीको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा उल्टै अवरोध भएको दाबीसहित ओलीविरुद्ध अवहेलनाको मुद्धा दायर गरेका हुन् ।
अर्यालले प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई विपक्षी बनाउँदै मुद्धा दायर गरेका हुन् । यस सम्बन्धमा आगामी फागुन ४ गते पेसी तोकिएको छ ।
२०८० माघ २४ मा सर्वोच्च अदालतको संवैधानिक इजलासले गिरीबन्धु सम्बन्धी मुद्दाको फैसला गरेको थियो ।
एमालेमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैन : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको बताएका छन् ।
सोमवार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘एमालेको नेतृत्वमा केपीजी रहँदासम्म नेपालका कम्युनिष्ट एकता, वामपन्थी एकता सम्भव छैन’ उनले भने ।
उनले अहिले देशको स्थिति सहज रुपमा अघि बढ्न नसकेको बताएका हुन् । उनले अध्यादेश राष्ट्रिय सभामा बहुमत पु¥याउन नसक्दा अघि बढ्न नसकेको बताए ।
‘अहिले स्थिति त्यति सहज गइरहेको छैन । सदन सुरु भएको छ । सदनमा अध्यादेश प्रस्तुत भएका छन् तर ती रोकिएका छन् । तपाईँहरूले राष्ट्रिय सभाको स्थिति बुझिराख्नुभएका होला । त्यहाँ अहिले अगाडि बढ्न सकिरहेको स्थिति छैन,’ उनले भने, ‘सरकारले जसरी एउटा गलत नियतले सदन बोलाउनुपर्ने बेलामा अध्यादेश ल्यायो । प्रक्रियाको दृष्टिकोण र कतिपय सारको दृष्टिकोणले पनि भूमि सम्बन्धी विषय जसरी ल्याइएको छ, त्यसको उद्देश्य गलत देखिएको छ ।’
उनले जनता समाजवादी पार्टीले आफ्नो मुद्दा छोडेर समर्थन नगरेको खण्डमा अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने जिकिर गरे । उनले दुई तिहाइको सरकार अध्यादेशको बाटोमा जानु नै गलत रहेको बताए ।
‘बाहिर जसरी चिजहरू आइरहेको छ, जनता समाजवादी पार्टीको । जसपाले भूमि सम्बन्धी अध्यादेशको विधि, प्रक्रियाका बारेमा अडिनुभएको छ,’ उनले भने, ‘उहाँहरू अडिनुहुन्छ । उहाँहरुले आफ्नो अडान छोड्नुभएन भने राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दै छ ।’
अध्यक्ष दाहालले सरकारमा आफूहरूको ध्यान नरहेको दाबी गरे । प्रधानमन्त्री ओली अहिलेको आन्दोलन, परिवर्तन बर्वाद गर्न र संविधान खारेज गर्न चाहने व्यक्ति भएको आरोप लगाए ।
मधेसी जनताको लागि दुई पटक संसदमा संविधान संशोधनको प्रस्ताव गर्दा प्रधानमन्त्री ओलीले नै रोकोको आरोप लगाए ।
केबलकार निर्माण विवाद : मन्त्रीस्तरीय भेटवार्तामा के भयो सहमति ?
गृहमन्त्री रमेश लेखक र ‘नो केबलकार’ समूहबीच सोमबार भएको वार्ता सकिएको छ । वार्ता सकारात्मक भएको र तत्कालका लागि आन्दोलन रोकेर निरन्तर वार्ता जारी राख्ने सहमति भएको सांसद उर्मिला थेबेले बताइन् ।
आन्दोलनरत पक्षले थप विरोधका कार्यक्रम स्थगित गर्ने जनाइएको छ । यसअघि सरकारले केबलकार निर्माणको विवाद समाधानका लागि आन्दालनरत पक्षसंग वार्ता गर्न भन्दै गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । यस टोलीले समस्याको निकास दिन नसकेपछि मन्त्रीस्तरीय वार्ता भएको हो ।
ताप्लेजुङ्गको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवाद सम्बन्धमा छलफलका लागि जारी छलफलमा गृहमन्त्री लेखकसहित नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराई, गृह प्रवक्ता रामचन्द्र तिवारी रहेका छन् ।
आन्दोलनरत पक्षबाट आङकाजी शेर्पा लगायत सहभागि थिए । पछिल्लो समय पाथीभरामा केबलकार निर्माण बन्द हुनुपर्ने भन्दै आन्दोलन भइरहेको छ ।
केबलकार निर्माणको कार्य अघि बढाइएपछि आन्दोलनरत पक्ष पाथिभरा क्षेत्रमा केबलकार निर्माणको कार्य खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रिएको छ ।
छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
सुप्रिम सहकारी संस्थाको रकम अपचलन मुद्दामा सोमबार अदालतमा उपस्थित भएका जोशीलाई थुनछेक बहसपछि न्यायाधीश वसिष्ठ कुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका स्रस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए ।
यसअघि रुपन्देही जिल्ला अदालतले पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भने धरौटीमा रिहा गरेको थियो ।
सरकारका काम कारबाहीलाई गति दिन अध्यादेश ल्यायौँ : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले सरकारका काम कारबाहीलाई गति दिन अध्यादेश जारी गरेको बताएका छन् । सोमबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकले अध्यादेश उपयुक्त समयमा संसद्मा पेस गरी पास हुने बताए ।
अध्यादेश पारित गर्न कुनै समस्या नरहेको उनको भनाइ थियो । उनले सरकार दुई दलको सम्झौताअनुसार २०८४ को निर्वाचनसम्म अघि बढ्ने बताउनुभयो । गृहमन्त्री लेखकले नेपाली कांग्रेस र एमालेबीच सत्ता सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पारे ।
उनले भने,“व्यक्तिगत रुपमा कुन नेताले कहाँ के बोल्छन त्यो राजनीतिक कुरा हो, तर सत्ता सञ्चालनमा कुनै समस्या छैन ।”
पाँच वर्ष एउटै विद्यालयमा कार्यरत शिक्षकको सरुवा गरिने
शुक्लाफाँटा नगरपालिकाले पाँच वर्ष एउटै विद्यालयमा अध्यापन गरेका सामुदायिक विद्यालयका शिक्षकको सरुवा गर्ने भएको छ ।
पूर्वप्रधानाअध्यापक, पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षक, नगर सिकाइ सहयोग अनुदानमा कार्यरत शिक्षक, राहत अनुदानमा कार्यरत शिक्षक र बालविकास शिक्षकको सरुवा गर्ने निर्णय कार्यपालिकाले गरेको हो । नगर क्षेत्रभित्रकै विद्यालयमा सरुवा गरिने समेत नगरपालिकाले जनाएको छ ।
सरुवा हुन चाहेको शिक्षकले कम्तीमा पाँच वटा विद्यालयको प्राथमिकता क्रमसहित नगरपालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्ने विद्यालय समायोजन दरबन्दी मिलान तहगत प्रअ व्यवस्थापन कार्यदलका संयोजक रमेशबहादुर ऐरले जानकारी दिए ।
“शिक्षकको नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा सरुवाका लागि प्रतिवेदन निर्णयार्थ कार्यपालिकामा पेस गरी पारित गरिएको छ”, उनले भने,“सुझावसहित पारित प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित विद्यालयमा जानकारी दिइएको छ ।”
संयोजक ऐरका अनुसार ६३ नगर शिक्षक, नौ जना सङ्घीय अनुदानका शिक्षक गरी ७२ जना, प्राथमिक तहका स्थायी ७३, निम्न माध्यमिक तहका १६, माध्यमिकका आठ स्थायी शिक्षकको दरबन्दी मिलान, व्यवस्थापन गरिने छ ।
यसैगरी उच्च माविका दुई, राहत कोटाका प्राथमिक तहका ५०, निम्न माध्यमिक विद्यालयका २३, माध्यमिक तहका २४, साविक उच्च माविका आठ र बालविकासका ६५ शिक्षकको व्यवस्थापन गरिने भएको छ ।
विद्यालयमा कार्यरत कर्मचारीलाई पनि कार्यदलले व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको छ । शिक्षा क्षेत्रसँग सम्बद्ध विज्ञ, पूर्वशिक्षा क्षेत्रका सेवानिवृत अधिकारी, विद्यालय व्यवस्थापनका पदाधिकारी, शिक्षकलगायतसँग रायसल्लाह सुझाव लिएर प्रतिवेदनलाई मूर्तरुप दिने बताइएको छ ।
यसअघि कार्यदलको सिफारिसमा सामुदायिक विद्यालयमा २८ जना प्रधानाध्यापक र तहगत, विषयगत गरी २४ जना शिक्षक व्यवस्थापन गरिएको थियो ।
न्यून विद्यार्थी सङख्या भएका चार वटा विद्यालय समायोजन र दुईवटा विद्यालयको तहगत मिलान गरिएको थियो । नगर क्षेत्रमा २८ वटा सामुदायिक विद्यालय छन् ।
विद्यालयका भौतिक समस्या, शैक्षिक समस्या तथा शिक्षक व्यवस्थापनलाई दश वर्षे नगर शिक्षा योजनामा समेटने नगरपालिकाको शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टले बताए ।
“विद्यालयस्तरीय शैक्षिक कार्यहरु नियमित रुपमा सञ्चालन गराई परीक्षा प्रणालीलाई समयसापेक्ष सुधार गर्ने प्रयास गरेका छौँ”, उनले भने,“नगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा तहगत स्थायी प्रधानाध्यापक व्यवस्थापन गरी कामकाजका लागि खटाएका छौँ ।”
गलतलाई गलत भन्ने आँट नभए कांग्रेसको औचित्य सकिन्छ : डा.शेखर कोइराला
नेपाली काँग्रेसका नेता डा।शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानबिन्दु भएको बताएका छन् ।
सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेसको संस्कार अध्यादेशबाट देश चलाउने नभएको बताए । उनले लोकतन्त्रमा सकेसम्म संसदबाट नै ऐन, कानून बनाउनुपर्ने बताए ।
उनले दुई तिहाईको सरकारलाई अध्यादेशको जरुरी नरहेको बताए । नेपाली कांग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर भन्ने पहिलो व्यक्ति नै आफू भएपनि दुई ठूला दलको सरकार हुँदा निरंकुशताको डर हुने बताए । उनले गलतलाई गलत भन्ने आँट नभए नेपाली कांग्रेसको औचित्य सकिने बताए ।
उनले भने,‘अहिले के भइरहेको छ भने अध्यादेशबाट देश चलाउने कल्चर नै होइन, नेपाली काँग्रेसको । डेमोक्रेसीमा भरसक हामीले संसदबाटै नियम, कानून, ऐनहरु बनाइकन अगाडि जानुपर्ने हुन्छ । हामीले संसदलाई छलेर जान खोज्यौँ भने काम लाग्दैन । दुई तिहाई बहुमत छ, छल्नुपर्ने जरुरत नै छैन । के को छल्ने । अपर हाउसमा नपुगेको हो नि त अहिले छ । अपर हाउसका सांसदहरुसँग कुरा गरेर मिलाइसक्नु हुन्थ्यो । त्यो क्षमता भएको व्यक्ति गिरिजाप्रसाद कोईराला हुनुहुन्थ्यो । अध्यादेशबाट देश चल्ने भनेको निरंकुशताको प्रस्थानबिन्दु हो । हुनतः नेपाली काँग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर भन्ने पहिलो व्यक्ति मै हो । ओलीजीसँग दुई चार राउण्ड कुरा गरिसकेको थिएँ, त्यसपछि भनेको हो ।’
नेता कोइरालाले अध्यादेश सरकार चल्नै नसक्ने अवस्था भए मात्रै ल्याउनुपर्ने बताए । भूमि सम्बन्धी अध्यादेश जस्ताको त्यस्तै पास भए केही गर्न नसकिने बताए ।
देउवा असफल हुनुभयो,अब कांग्रेसको सभापति र प्रधानमन्त्री शेखर हुन् : सुजाता कोइराला
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले वर्तमान पाार्टी सभापति शेरबहादुर देउवा पूर्ण रुपमा असफल भएको बताएकी छन् ।
‘गिरीजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठिमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।
उनले भनिन्,‘अहिलेका सभापति शेर बहादुर देउवाको कुनै विचार नै छैन । त्यसकारण उहाँ पूर्ण रुपमा असफल भइसक्नुभयो,अब देउवाले कांग्रेस हाँक्न सक्नुहुन्न ।’
साथै नेतृ कोइरालाले अब कांग्रेसको सभापति र प्रधानमन्त्री डा.शेखर कोइराला हुने घोषणा गर्दै यसमा आफ्नो सहयोग रहने बताइन् ।
एमालेले देश हाँकिरहेको र कांग्रेस स्याडोमा परेको उनको भनाई थियो । राजनीति र प्रजातन्त्र बिग्रियो भने देश नै बिग्रीने उनले बताइन् ।
बालेन शाहले हिटलरको शैलीमा डोजर चलाए : सांसद सिंह
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई संघीय संसद भवन भत्काएर देखाउन चुनौति दिएका छन् ।
सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
उनले प्रमुख साहले कवाडी व्यवसायिमाथि दमन गरिरहेको उल्लेख गर्दै उक्त कार्य रोक्न सरकारको ध्यानाकर्षण समेत गराए ।
उनले प्रमुख साह तानाशाह भएर निस्किएको उल्लेख गरे । उनले मेयर साह नागरिलाई एकठाउँबाट अर्को ठाउँमा गएर बस्न पाउने संवैधानिक हकको विरुद्धमा लागेको बताए ।
उहाँले प्रमुख बालेनलाई संसद भवनसँगै सिंहदरबार, सर्वोच्च अदालत, शिलतनिवास र बालुवाटर भत्काएर देखाउन चुनौती दिए । ‘हिम्मत भए संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ । यो शैली चल्दैन । यो कानून र न्याय नभएको देश हो’ उनले भने ।
उनले बालेन शाहलाई गरिब मधेशीलाई कुटेर नाजीकालीन हिटलर र मुसोलिनी बन्न खोजेको टिप्पणी पनि गरे ।
नेल सहित संसद छिर्न खोजेका सुनार प्रहरी नियन्त्रणमा
दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारलाई नियन्त्रणमा लिइएको छ ।
नेल लगाएर सोमबार संसद भवनको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुनारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराले बताए ।
गृहमन्त्री रमेश लेखकमाथि कानुनी कारबाही हुनुपर्ने माग गर्दै उनले प्रदर्शन गरिरहेका छन् । अन्तरजातीय विवाह गरेका जोडीमाथि गृहमन्त्री लेखकको निर्देशनमा ज्यादती भएपछि उनी आन्दोलनमा छन् ।
नानीमैयाँ दाहालको निधन
राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । निमोनियाँ रोगले पीडित दाहालको सोमबार दीर्घायु अस्पताल काठमाडौँमा निधन भएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वअध्यक्ष रमेश अर्यालले जानकारी दिए ।
पञ्चायतकालमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन् । श्रेष्ठलाई हराएपछि उनी चर्चामा आएकी थिइन् ।
सानैदेखि विद्रोही स्वभावकी दाहाल वि.सं.२०२९ मा उपप्रधानपञ्च निर्वाचित भएकी थिइन् । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाकै १ लाख ७० हजार नजिक
नेपाली बजारमा साताको दोस्रो दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९सोमबार० सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
चर्च ब्वाइज आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश
चर्च ब्वाइज फुटबल क्लब पोखरामा जारी २४ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न क्वाटरफाइनलको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन क्लब माथि १–० को कठिन जित निकाल्दै चर्च ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएकामा दोस्रो हाफ पनि सकिन एक मिनेट बाँकी रहँदा चर्चका ब्वाइजका नवीन लामाले प्रहार गरेको कर्नर बललाई राज भुसालले हेडमार्फत गोल गरे ।
भुसालले गरेको गोलनै खेलको निर्णायक बन्यो । पहिलो तथा दोस्रो हाफमा दुवै टोलीले गोलका केही मौका पाएकामा सदुपयोग गर्न सकेनन् ।
अघिल्लो संस्करणको उपाधि विजेता आर्मी यस वर्ष पहिलो खेलबाट बाहिरिएको छ । आर्मीले सिधै क्वाटरफाइनलमा स्थान बनाउँदा चर्च ब्वाइजले एनआरटीलाई पराजित गरी क्वाटरफाइनलमा स्थान बनाएको थियो ।
चर्च ब्वाइजका प्रशिक्षक चेतनारायण श्रेष्ठले खेलाडीको मेहनतबाटै जीत सम्भव भएको बताए । आर्मीका प्रशिक्षक मेघराज केसीले खेलाडीले राम्रो खेले पनि अवसर सुदपयोग गर्न नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए ।
यही फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार र उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् ।
यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाइ स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार नगदसँगै ट्रफी पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
अर्जुन ट्रफीको उपाधि अत्तरियालाई,डडेल्धुरा ३४ रनले हार्यो
धनगढीमा सम्पन्न ‘अर्जुन ट्रफी राष्ट्रिय टी-२० क्रिकेट’ को उपाधि सिवाइसी अत्तरियाले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा अत्तरियाले फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई ३४ रनले पराजित गरेको हो ।
उपाधिसँगै अत्तरियाले रु १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता डडेल्धुराले रु पाँच लाख पुरस्कार पायो । जितका लागि एक सय १९ रनको लक्ष्य पाए पनि डडेल्धुराले ८४ रन मात्र बनायो । डडेल्धुराका लागि गजेन्द्र बोहराले २४, कुशल भुर्तेलले २० र अशोक धामीले १० रन बनाए ।
बलिङतर्फ अत्तरियाका लागि शाहव आलम र दिपेश कँडेलले तीन तीन तथा कमल गुप्ता र विवेक यादवले दुई दुई विकेट लिए । यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरको ९ विकेटको क्षतिमा एक सय १८ रन बनायो । उसका लागि रासिद खानले ३१, कप्तान सन्तोष कार्कीले २० र शङ्कर रानाले २० रन बनाए ।
बलिङतर्फ डडेल्धुराका लागि अभिषेक गौतमले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । कुशल भुर्तेल र अभिषेक चौहानले एक एक विकेट लिए । प्रतियोगितामा आठ टोली सहभागी थिए ।
ट्रम्पको घोषणा- अमेरिकी स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत कर लगाउने
राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार संयुक्त राज्य अमेरिकाले यस हप्ता स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत भन्सार लगाउने बताएका छन् । यो उनले घोषणा गरेका व्यापार करहरूको पछिल्लो शृङ्खला हो ।
एयर फोर्स वन विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार घोषणा गरिने भन्सार ‘संयुक्त राज्य अमेरिकामा आउने कुनै पनि स्टिल’ मा लागू हुने र यसले एलुमिनियमलाई पनि प्रभाव पार्ने बताए ।
सन् २०१७–२०२१ को राष्ट्रपति कार्यकालमा अमेरिकी उद्योगको सुरक्षाका लागि ट्रम्पले यस्तै शुल्क लगाएका थिए । यसलाई उनले एसियाली र युरोपेली देशहरूबाट अनुचित प्रतिस्पर्धाको सामना गर्नुपरेको विश्वास गरेका थिए ।
अमेरिकी व्यापार तथ्याङ्कअनुसार क्यानाडा संयुक्त राज्य अमेरिकामा स्टिल र एलुमिनियम आयातको सबैभन्दा ठूलो स्रोत हो । ब्राजिल, मेक्सिको र दक्षिण कोरिया पनि देशका प्रमुख स्टिल आपूर्तिकर्ता हुन् । क्यानाडालाई ट्रम्पले पहिले नै भन्सारको धम्की दिइसकेका छन् ।
रिपब्लिकन अर्बपति ट्रम्पले आइतबार अन्य देशहरूले अमेरिकी उत्पादनहरूमा लगाएको दरसँग मिल्ने गरी आफ्नो सरकारको भन्सार बराबर गर्न ‘पारस्परिक भन्सार’ को घोषणा गर्ने पनि बताए ।
‘हरेक देशसँग पारस्परिक व्यवहार हुनेछ’, ट्रम्पले भने । उनले मङ्गलबार वा बुधबार भन्सारको बारेमा विस्तृत घोषणा गर्ने बताए ।
राष्ट्रपतिले पदभार सम्हाले लगत्तै प्रमुख व्यापार साझेदार चीन, मेक्सिको र क्यानाडामा भन्सार लगाउने आदेश दिएर संयुक्त राज्य अमेरिकाको वित्तीय शक्तिलाई हतियार बनाउने आफ्नो रुचि देखाएका छन् ।
क्यानाडा र मेक्सिकोले फेन्टानिल लागूपदार्थको प्रवाह र कागजातविहीन आप्रवासीहरूको संयुक्त राज्य अमेरिकामा प्रवेशलाई रोक्न कडा कदम चाल्ने वाचा गरेपछि ट्रम्पले दुवै मुलुकविरुद्धको २५ प्रतिशत भन्सार एक महिनाका लागि रोके ।
तर चीनविरुद्धको भन्सार भने अघि बढ्यो । मङ्गलबारदेखि संयुक्त राज्यमा प्रवेश गर्ने उत्पादनहरूमा १० प्रतिशत अतिरिक्त कर लाग्नेछ ।
बेइजिङले सोमबारदेखि लागू हुने गरी कोइला र तरलीकृत प्राकृतिक ग्यास जस्ता केही अमेरिकी उत्पादनहरूमा लक्षित भन्सार लगाएर जवाफ दिएको छ ।
गोल्डम्यान स्याक्सका अनुसार नयाँ चिनियाँ भन्सारले १४ अर्ब डलर मूल्यका अमेरिकी सामानहरू समेट्छ भने ट्रम्पले घोषणा गरेको भन्सारले पाँच खर्ब २५ अर्ब डलर मूल्यका चिनियाँ सामानहरू समेट्छ ।
– स्वर्णिम युग –
ट्रम्पले युरोपेली सङ्घ ९इयु० मा पनि कर लगाउने वाचा गरेका छन् र उनले चाँडै अनिर्दिष्ट ‘पारस्परिक भन्सार’ घोषणा गर्ने बताएका छन् ।
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले आइतबार प्रसारित एक अन्तर्वार्तामा युरोपप्रति गरिएको वित्तीय धम्कीको विषयमा ट्रम्पसँग सीधा मुकाबला गर्ने प्रतिज्ञा गरे । यद्यपि उनले संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घको सट्टा चीनमाथि आफ्नो प्रयास केन्द्रित गर्नुपर्ने बताए ।
म्याक्रोंले सिएनएनमा युरोपमाथिको कुनै पनि भन्सारको प्रभाव अमेरिकीहरूले महसुस गर्नेछन् भन्दै यसले ‘अमेरिकामा लागत बढाउने र मुद्रास्फीति सिर्जना गर्ने’ चेतावनी दिए ।
शुक्रबार जापानी प्रधानमन्त्री शिगेरु इशिबासँगको मैत्रीपूर्ण बैठकमा ट्रम्पले टोकियोलाई जापानसँगको अमेरिकी व्यापार घाटा शून्यमा नझारेसम्म निर्यात गरिएका सामानमा भन्सार लाग्नसक्ने चेतावनी दिए ।
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको संयुक्त राज्यको व्यापार घाटा गत वर्ष बढेर करिब नौ खर्ब २० अरब डलर पुगेको छ ।
संयुक्त राज्य अमेरिकाका लागि ‘नयाँ स्वर्ण युग’ को वाचा गरेका ट्रम्पले कुनै पनि शुल्कको प्रभाव अमेरिकी उपभोक्ताहरूलाई नदिई विदेशी निर्यातकर्ताहरूले वहन गर्ने कुरामा जोड दिएका छन् । यद्यपि धेरै विज्ञहरूले यसको विपरीत बताएका छन् ।
तर यस महिनाको सुरुमा मेक्सिको, क्यानाडा र चीनमाथि भन्सार घोषणा गरेपछि उनले अमेरिकीहरूले आर्थिक ‘पीडा’ महसुस गर्न सक्ने स्वीकार गरे ।
ट्रम्पले आफ्ना व्यापक नीतिगत लक्ष्यहरू हासिल गर्न भन्सारलाई धम्कीको रूपमा प्रयोग गरेका छन् । सबैभन्दा पछिल्लो पटक उनले कोलम्बियाले निर्वासित आप्रवासीहरू बोकेका अमेरिकी सैन्य विमानहरूलाई फर्काउँदा त्यसमाथि भन्सार लगाउने बताएका थिए ।
ट्रम्पसँगको एक दिनको टकरावपछि कोलम्बियाली सरकार पछि हटेको थियो ।
