ट्रम्पले अन्त्य गर्ने खोजेको जन्मका आधारमा दिइने नागरिकता के हो ?

काठमाडौं । जन्मका आधारमा नागरिकता पाउने अधिकार अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकारी आदेशले व्यापक कानुनी चुनौती र आप्रवासी परिवारहरूमाझ गहिरो अनिश्चय निम्त्याएको छ । अमेरिकी संविधानको १४औँ संशोधनले विगत १६० वर्ष देखि यो देशमा जन्मिने जोकसैलाई पनि स्वतः अमेरिकी नागरिकताको सुनिश्चितता गरेको छ ।

तर राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशले यसको व्याख्यामा परिवर्तन गर्न खोजेको छ । त्यसमा गैरकानुनी बाटोबाट अमेरिका पुगेका आप्रवासीका सन्तान तथा अस्थायी भिसामा अमेरिकामा रहेका आमाबाबुका सन्तानलाई यस्तो नागरिकता दिन अस्वीकार गर्ने प्रस्ताव छ । यो नीति सन् २०२५ को फेब्रुअरी १९ पछि जन्मिएका बालबालिकाका हकमा मात्रै लागु हुने र त्यसअघि जन्मिएकाहरूको हकमा लागु नहुने भनिएको छ । विश्वका अन्य देशमा कायम नागरिकता कानुनसँग यसको तुलना गर्दा के देखिन्छ ?

जन्मका आधारमा नागरिकता अर्थात् ‘भूमिको अधिकार’ विश्वभरिको अभ्यास चाहिँ होइन । आफ्नो भूभागभित्र जन्म भएका मानिसलाई स्वतः नागरिकता दिने अमेरिकी क्षेत्रका ३० देशहरूमध्ये एक संयुक्त राज्य अमेरिका पनि हो ।

यसको विपरीत एशिया, युरोप र अफ्रिकाका अन्य क्षेत्रमा रगतको नाताका आधारमा मात्रै नागरिकता दिइन्छ। यी देशहरूमा जन्मिएको स्थानभन्दा आफ्ना आमाबाबुका तर्फबाट वंशजका आधारमा मात्रै नागरिकता पाइन्छ । कतिपय अन्य देशहरूमा दुवै सिद्धान्तको अभ्यास पाइन्छ। यी देशहरूमा स्थायी बसोबास गरिरहेका आमाबावुका सन्तानलाई पनि नागरिकता दिइन्छ ।

सान डिएगोस्थित यूनिभर्सिटी अफ क्यालिफोर्निआका समाजशास्त्रका प्राध्यापक जोन स्क्रेन्ट्नी अमेरिकी महादेशका धेरैजसो देशमा जन्मका आधारमा नागरिकता दिइने अभ्यास रहेको बताउँछन् । ‘हरेक राष्ट्र र राज्यमा आफ्नै मौलिक प्रक्रिया छ,’ उनी भन्छन्, ‘उदाहरणका लागि केहीले पूर्वदासहरूलाई पनि यसमा समावेश गरेका छन्, केहीले छैनन् । इतिहास निकै जटिल छ ।’ –बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *