फेसबुकमा नकारात्मक कमेन्ट नगर्नु होला, सबैको म हेर्छु : डा. आरजु राणा

कैलाली । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले कांग्रेसका कार्यकर्तालाई नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइराला र गणेशमान सिंहको संघर्ष सम्झेर काम गर्न आग्रह गरेकी छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलालीको दोस्रो जिल्ला सम्मेलनको शुक्रबार धनगढीमा उद्घाटन गर्दै उनले भनिन्, ‘नेपाली कांग्रेस पार्टी आफैं नेपाली जनताको ठूलो र साझा पार्टी बनेको होइन । यसका पछाडि नेताहरूको ठूलो संघर्ष, त्याग र बलिदान रहेको छ । त्यसलाई हामीले सदा स्मरण गर्नुपर्छ ।’

मन्त्री राणाले नेपाली कांग्रेसलाई यहाँसम्म ल्याउन यस पार्टीका नेता तथा अग्रजहरूको ठूलो योगदान र बलिदान रहेको स्मरण गरिन् । उनले विपी कोइरालाले पञ्चायतले दिएको त्यो दुःखका बावजुद पनि पार्टीका लागि आफ्नो जीवन नै बलिदान दिन पछि नपरेको तथा गणेशमान जस्ता योद्धाले काठमाडौंको सम्पन्न परिवारमा जन्मिएर पनि सुख सयल छोडेर आफ्नो जीवन नै पार्टीमा अर्पण गरेको प्रसङ्ग उल्लेख गर्दै पार्टी निर्माणमा उनका यी संघर्षलाई प्रेरणाको रूपमा लिनुपर्ने धारणा राखिन् ।

अहिलेका सामाजिक सञ्जालहरूमा जताततै नकारात्मकता मात्र फैलिने गरेको आफूले देखेको र नेपालमा केही हुँदैन, यहाँ केही छैन भन्ने जस्ता भाष्य निर्माण गरिएको उल्लेख गर्दै तर यहाँ सबथोक छ र हामीले यहीँ धेरै गर्न सक्छौं भन्ने सकारात्मक भावना बोकेर अहिलेको युवा पुस्ताले राजनीति गर्नुपर्ने उनको सुझाव थियो । मन्त्री राणाले सामाजिक सञ्जालमा नकारात्मक कुरा प्रवद्र्धन नगर्न आफ्ना नेता-कार्यकर्ताहरूलाई निर्देशन दिएकी छन् ।

मन्त्री राणाले कांग्रेसका नेता कार्यकर्ता मेहनती इमान्दार भएको चित्रण गर्दै सामाजिक सञ्जालको लाइक र शेयरमा ध्यान दिन भनेकी छन् । ‘फेसबुकको लाइक शेयर तपाईहरू नकारात्मक कुराको नगर्नुहोस् । सबैको फेसबुक म हेर्ने गर्छु, दुई/तीन महिनामा मेरो एउटा टोली छ सबैको फेसबुक हेर्नुहोस् भन्छु’, उनले भनिन्, ‘कुन चाहिँ मान्छेको के मानसिकता रहेछ त्यहीबाट देखिन्छ ।’

पार्टीमा होस् या सरकारमा, सानो होस् या ठूलो आफूले पाएको भूमिकालाई सकारात्मक रूपले लिएर सफलतापूर्वक सम्पन्न गर्नेतर्फ लाग्नु नै पार्टीका हरेक कार्यकर्ताको कर्तव्य हो भन्दै मन्त्री राणाले आफूले पनि सदैव पार्टीले दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने गरेको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 9 =