ओली-देउवालाई प्रचण्डको सन्देश : सत्ताको खेलमा छैनौँ,बहुमतको दम्भ नदेखाउनुहोला

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले बिहीबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गरेका छन् ।
संसदमा उनले सरकारका गलत कदमको विरोध देखी नागरिकमा बेढेको असन्तुष्टिसम्मका विषयमा बोले । संसदमा बोल्दै उनले सरकारको गलत कदमको चर्को विरोध गरे ।
अध्यक्ष प्रचण्डले आफुहरु सत्ताको खेलमा नभएको प्रष्ट पार्दै बहुमतको दम्भ नदेखाउन उनले सत्ता सहकार्यका प्रमुख नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे ।
प्रचण्डले सरकारले ल्याएको अध्यादेशको चर्को विरोध गरे । ६ दिनअघि अध्यादेश ल्याएर चमत्कार नै गर्न खोज्नुभएको हो भन्दै उनले प्रश्न गरे । स्वार्थ समुहका लागि अध्यादेश ल्याइएको प्रष्ट भएको उनले बताए ।
चोरबाटोबाट अध्यादेश ल्याउन राम्रो नभएको समेत उनले बताए ।साथै उनले सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी विधेयकप्रति पनि आपत्ति जनाएका छन् ।
सरकारले नै संसदलाई अवमूल्यन,अपमानित र छल्न खोजेको उनले बताए । सरकार हिउँदे अधिवेशनबाट पन्छिन मात्रै नखोजेको बताउँदै संसदको उपेक्षा गर्न अग्रसर भएको उनले बताए । प्रधानमन्त्री ओलीले विरोधको सामना गर्न नसक्ने गरेको बताए ।
उनले कांग्रेसमाथि समेत प्रश्न गरे । के हो सामाजिक सञ्जाल नियमन विधेयक ? यसमा केहो कांग्रेसको धारणा ? कांग्रेस सत्ताका लागि मात्रै अघि बढ्न खोजेको हो ? भन्दै प्रश्न गरे ।
आफुहरु सत्ताको खेलमा नरहेको पनि उनले प्रष्ट पारे । इतिहासको शिक्षा लिएर सो कुरा भनेको उनले बताए । जनतातर्फ आफुहरु फर्किएको उनले बताए ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच आपसमा विश्वासको वातावरण नभएको उनले बताए । प्रधानमन्त्रीले पटकपटक सरकार हस्तान्तरणको विषयमा ओलीले बोल्न आवश्यक नरहेको उनले बताए । उनले आफुहरुले सरकार ढाल्नै नपर्ने बताउँदै आफैं सरकार ढल्ने उनले बताए ।
आफ्नै खुट्टामा टेकेर सरकार बनाउने उनले बताए । संसदमा बहुमतको दुरुपयोग गर्न खोजिए सडक,सदनमा जवरजस्त प्रस्तुत हुने उनले बताए ।
अध्यक्ष प्रचण्डले वर्तमान सरकारले गरेको संविधान संसोधन फिल्म नचलेको बताए । ‘म अलिकति संविधान संशोधनबारे पनि बोल्न चाहन्छु । यो सरकार बन्दै गर्दा चारैतिर संविधान संशोधनको गानाबजाना थियो । के के संशोधन हुन्छ, कसरी संशोधन हुन्छ, कहाँ संशोधन हुन्छ, पूरा व्याख्या र विश्लेषण थियो । अहिले लोडसेडिग भयो कि के भयो ? त्यो फिल्म धेरै चलेको देख्दिनँ । प्रधानमन्त्री ओलीजीले पार्टीकै औपचारिक कार्यक्रममा दोहर्याइदोहोर्याइ संविधान संशोधन ०८७ सालमा हुन्छ भनेको सुनेँ । आज म विशेष गरी नेपाली कांग्रेसका साथीहरुलाई सोध्न चाहन्छु, अब म संविधान संशोधनबारे म बोलौं कि नबोलौं ? हिजो दुई प्रतिस्पर्धी दल मिले भन्ने समाचार अलि लज्जापूर्ण हुन्छ भनेर तपाईहरुले त्यसलाई संविधान संशोधनको सैद्धान्तिक जामा लगाइलिनुभएको छ भनेर मैले यही रोष्टमबाट भनेको थिएँ, जुन अहिले पुष्टि भएको छ,’अध्यक्ष दाहालले भने ।
अध्यक्ष प्रचण्डले शेरादरबारमा आफ्नो नाम जोडिए छानविन गर्न आग्रह गरेका समेत छन् । ‘अहिले नुवाकोटको शेरा दरबार चर्चामा ल्याइएको छ । प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसमा विशेष चासो दिएको मलाई थाहा छ । कतै न कतै त्यसमा प्रचण्डलाई जोड्न सकिन्छ कि, जोड्न नसके पनि बदनाम गर्न सकिन्छ कि भनेर सरकारले धेरै मिहिनेत गरिरहेको छ । सरकार खोजिरहेको छ, एउटै पनि अपराध गरेन त पुष्पकमल दाहाल प्रचण्डले रु म आज वाइडबडीको कुरा गर्दिनँ । गिरिबन्धु, यति र ओम्नीको पनि चर्चा गर्दिनँ । तर, सबै उस्तै हुन् भन्ने भाष्य मन्जुर छैन मलाई । म यही रोस्टमबाट भन्छु, शेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानविन सुरु गरौं र मबाट सुरु गरौं ।’
यस्तै दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब नरहेको बताए ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरे । उनले आफैँ आफ्नो पीठ थप्थप्याएर आफैँले आफूलाई प्रमाणपत्र दिएर आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन नरहेको बताए ।
‘प्रधानमन्त्रीलाई मेरो अनुरोध छ, आफैँ आफ्नो पीठ थप्थप्याएर आफैँले आफूलाई प्रमाणपत्र दिएर आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब छैनन्’ उनले भने ।
उनले नियमित कामका स्वाभाविक प्रगतिलाई सरकारको सफलताको रुपमा रंगरोगन गर्नुभन्दा राष्ट्रका दीर्घकालीन आवश्यकताका बारेमा संसदमा छलफल गर्न सुझाव दिए । उनले संसदमा मिथ्यांक र आत्मरतिबाट कसैलाई आत्मसन्तोष मिले पनि देशको भलो नहुने बताए ।
उनले पछिल्ला पैंतीस वर्षमा नेपाली काँग्रेसले बाह्रपटक प्रधानमन्त्री चलाएछ, नेकपा एमालेले सात पटक प्रधानमन्त्री बनेर देशको नेतृत्व गरेको उल्लेख गर्दै ३५ वर्षपछि अहिले देशको विकास ६ दिन ढिलो हुन्छ भनेर अध्यादेश ल्याएको हो ? भन्दै प्रश्न गरे ।
उनले आफू नेतृत्वको सरकारले खोलेका भ्रष्टाचारका फाइलहरू पुनः खोल्ने बताए। उनले लोकतन्त्रको सर्भिसिङ र सुशासन फेरि सुरु गर्ने बताए । उनले बिचौलिया र राजनीतिको गठजोड फेरि भत्काएर छोड्ने दाबी गरे । उनले अहिलेको सरकारसँग जना खुसी नभए पनि बिचौलिया र स्वार्थ समूहहरू खुसी रहेको बताए ।
अध्यक्ष दाहालले भने ‘अहिले जनता सरकारसँग दुःखी भए पनि बिचौलिया र स्वार्थ समूहहरू खुसी छन् । तर, स्वार्थसमूहले बुझे हुन्छ, सरकारलाई किनेर तपाईँहरूले पाएको उन्मुक्ति स्थायी हुनेछैन । तपाईँहरूले कब्जा गरेका राज्यका स्रोत र संशोधन सधैँका लागि हुने छैनन् । म आज यही रोस्टमबाट चुनौतीका साथ भन्छु– यी फाइलहरू फेरि खोलिनेछन् । जनताको शक्ति लिएर हामी फेरि खोल्नेछौँ यी अपराधका फाइल । फेरि सुरु गर्नेछौँ लोकतन्त्रको सर्भिसिङ र सुशासन । फेरि भत्काउनेछौँ, बिचौलिया र राजनीतिको गठजोड ।’
उनले सरकारलाई किनेर पाएको उन्मुक्ति स्थायी नहुने कुरा स्वार्थ समूहले बुझ्न जरुरी रहेको बताए ।








