जनताको स्वास्थ्य पहिलो प्राथमिकतामा : मुख्यमन्त्री कार्की


मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको स्वास्थ्य सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । मंगलबार कोशी प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान सुरु गर्दै उहाँले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताए ।
मुख्यमन्त्री कार्कीले खोप अभियानका क्रममा लक्षित वर्गका कोही पनि नछुट्ने गरी काम गर्न आग्रह गरे । “प्रदेशवासीको स्वास्थ्य नै सरकारको पहिलो प्राथमिकता हो । सरकारले सबै खाले खोपहरूलाई नियमित बनाउने छ । सबैलाई ढुक्क भएर खोप लगाउन मेरो आग्रह छ”, उनले भने।
कोशी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राईले खोप अभियानमा कुनै पनि लक्षित उमेर समूहका किशोरी छुट्न नहुनेमा सबै सचेत हुनुपर्ने बताए। अभियानअन्तर्गत विद्यालय जाने कक्षा ६ देखि १० सम्मका ५० हजार पाँच सय ९७ छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई खोप लगाइने उनले बताए ।
कोशी प्रदेशमा यो खोप अभियान फागुन ७ गतेसम्म सञ्चालन हुनेछ ।
