पूर्व बन्दप्रति निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण, लगानीको वातावरण नबिथोल्न आग्रह

काठमाडौं । निजी क्षेत्रका प्रमुख तीन छाता संस्थाहरुले पाथीभरा क्षेत्रको पर्यटन विकास तथा प्रवर्धन गर्न केवलकार निर्माणको परियोजना अघि बढिरहेको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बन्द हड्तालका कार्यक्रम तत्काल रोक्न आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लामा भइरहेको बन्द हड्तालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवनसमेत अस्तव्यस्त भएको, सर्वसाधारणले सास्ती भोग्नुपरेको र यस्ता गतिविधिले देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण विथोलिने अवस्था सिर्जना हुने बताएका हुन् ।

‘नेपालको समग्र आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको सर्वविदितै छ । उद्योग, व्यापार, बैंकिङ, ऊर्जा, कृषि, पर्यटन, सञ्चारलगायत अन्य विभिन्न पूर्वाधार विकास तथा सेवा क्षेत्रमा निजी क्षेत्रको गरेको लगानीले देशको समृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर विकासका कार्य रोक्न भइरहेका पछिल्ला गतिविधिले नेपालमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्तालाई नकारात्मक सन्देश प्रवाह गर्ने हुनाले सम्बन्धित सरोकारवालाहरूलाई यस विषयमा गम्भीर बन्न, विकास निर्माणको कार्यलाई सहज र निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्दछौं ।’

पर्यटनमा निजी क्षेत्रले अर्बौं रुपैयाँ लगानी गरिसकेको र हजारौंलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरिरहेको अवस्थामा पाथीभरा (मक्कुम्लुङ) मा बन्ने पर्यटकीय पूर्वाधारले त्यहाँ जान चाहने वृद्धवृद्धा, अशक्त बालबालिकासहित अन्य यात्रुलाई सुरक्षित, छिटो र सुविधाजनक यात्रा उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ ।

साथै, पूर्वाधार निर्माणले त्यहाँको धार्मिक सांस्कृतिक तथा साहसिक पर्यटन प्रवर्धन र कृषि, हस्तकलाको विकासमार्फत व्यवसायको प्रवर्धनका साथै स्थानीयका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना हुने र देशकै पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने निजी क्षेत्रले जनाएको छ ।

स्थानीय सरकार र स्थानीय बासिन्दा केबलकार बन्नुपर्छ भन्नेमा सहमत रहेको परिप्रेक्ष्यमा केवलकार बन्न दिनु हुँदैन भनेर बाह्य हस्तक्षेपसहित निर्माण कार्यमा अवरोध हुनुलाई दुःखद् मात्र नभई विकासको प्रवाहलाई रोक्ने प्रयासका रुपमा निजी क्षेत्रले लिएको समेत विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले विकासमा देखिएको यो अवरोध कुनै एउटा परियोजनाको विरोधमात्रै नभएर देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बिथोलिने अवस्था सिर्जना हुनुका साथै लगानीकर्तामा नकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् ।

यस्तै उनीहरुले समस्याको समाधान वार्ताबाट गर्न सकिने र विकासको यो प्रयासलाई सकारात्मक रूपमा ग्रहण गर्न र पाथीभरा (मक्कुम्लुङ) केवलकार परियोजनालाई सहज र निर्वाध रूपमा अघि बढाउन स्थानीय समुदाय, सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई अपिल गरेका छन् ।

यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका कोशी र गण्डकी र कर्णाली प्रदेशका सभापतिरूले पनि आज छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यस विषयमा महासंघ प्रदेश समितिको ध्यानाकर्षण भएको जनाएका छन् ।

उनीहरुले कोभिड महामारीलगायतका कारण संकटमा परेको अर्थतन्त्रको विकास गरी पुरानै अवस्थामा ल्याउनका लागि नेपाल सरकार र निजी क्षेत्र लागि परिरहेको अवस्थामा विकासका लागि भइरहेका प्रयासमा अवरोध हट्नुपर्ने धारणा राखेका छन् ।

‘राज्यको नियम कानुन तथा प्रणालीले स्वीकृति तथा अनुमति प्रदान गरेर तथा स्थानीय नागरिकको भावना र चाहना बमोजिम नै निर्माणको काम सुरु गर्दैगर्दा उत्पन्न भएको बाह्य परिस्थितिले यो आयोजनालाई जे जसरी अवरोध उत्पन्न गर्न खोजिएको छ, यसबाट नेपालको आर्थिक विकासका लागि अत्यावश्यक स्वदेशी एवं विदेशी लगानीका क्षेत्रमा पक्कै पनि सकारात्मक सन्देश दिएको छैन,’ जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै विज्ञप्तिमा देशका कैयौँ स्थानमा पर्यटन पूर्वाधारहरुको निर्माण गरी दसौँ हजार व्यक्तिलाई रोजगारी प्रदान गरिरहेको तथा राजस्वका माध्यमबाट मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पु¥याइरहेको देशको व्यावसायिक ग्रुपको अगुवाइमा निर्माण हुन लागेको केबलकार आयोजनाका विरुद्धमा जे–जस्ता क्रियाकलाप हाल देखिएका छन्, त्यसले पक्कै पनि देशमा लगानीको वातावरण बनाउने नभएर भत्काउने काम गरिरहेको उनीहरुको बुझाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *