राजेन्द्र लिङदेनले अर्को जीवनमा समेत भ्रष्टाचार गर्ने छैन : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बाट देश बन्छ भनेर पर्खिने छुट नरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले तिनै पार्टी र नेतृत्वमा रहेकाहरूबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु देश बर्बाद पार्ने काममा सहभागी हुनु भएको टिप्पणी गरे ।

उनले मुलुक करिब साढे तीन दशकदेखि काँग्रेस, एमाले र माओवादीको वरिपरि घुमिरहेको भएपनि मुलुकको विकास हुन नसकेको बताए । उनले राप्रपा एउटा पार्टी मात्र नभई देश र धर्म बचाउने अभियान भएको उल्लेख गर्दै देश बनाउने र देश बचाउने अभियानमा सहभागी हुन सबैमा अपिल समेत गरे ।

उनले आफूले राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको बताउँदै जुनसुकै मन्दिर जान तयार रहेको बताए ।

उनले भने ‘राप्रपा नेपालमा रहेका राजनीतिक पार्टीमध्येको एक पार्टी मात्र होइन । यो देश र धर्म बचाउने अभियान पनि हो । नेपालको राजनीतिमा भ्रष्टाचार गरेर खानु आमाको रगत खानु हो भनेर हामी अगाडि बढिरहेको छौं । आज राप्रपाको दर्शन र सिद्धान्तको रुपमा आज स्थापित भएको छ । म त्यो मान्छे हो जसले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु हो भनेर मात्र भनेको छैन । मैले मेरो जीवनकालमा एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा जान सक्छु । यो जीवनमा त के राजेन्द्र लिङदेनले अर्को जीवनमा समेत भ्रष्टाचार गर्ने छैन । तपाईँहरू ढुक्कका साथ अगाडि बढ्नुस् । नेपाल अब योभन्दा बढी बर्बाद हुने ठाउँ छैन । साढे तीन दशकको समयमा प्रजातन्त्र, लोकतन्त्र, गणतनत्र जे नाम दिएपनि त्यही मानिस र त्यही पार्टीहरूको त्यही एमाले, त्यही काँग्रेस, त्यही माओवादी र तिनै नेताको वरिपरि सत्ता घुमिरहेको छ । तर यो साढे तीन दशकमा देशको अवस्था के भयो रु मैले भनिराख्नु पर्दैन । हामी कहाँ जाने भनेर उनीहरूसँग हिँडेका थियौँ र अहिले हामी कहाँ पुग्यौँ । हाम्रो आँखा अगाडि छर्लङ्ग छ । अब पनि त्यही एमाले, त्यही माओवादी, त्यही काँग्रेस र तिनै अनुहारहरूबाट देश बन्छ भनेर पर्खनुभएको देश बर्बाद पार्ने काममा सहभागी हुनु हो । त्यसकारण देश बर्बाद पार्ने काममा सहभागी नहुन र देश बनाउने र देश बचाउने अभियानमा सहभागी हुन म आम देशवासीलाई हार्दिक अपिल गर्न चाहन्छु ।’

उनले आफूले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु बराबर हो भनेर राजनीति गरिरहेको उल्लेख गर्दै उक्त कुरा राप्रपाको सिद्धान्तको रुपमा स्थापित भइसकेको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =