टुँडिखेलमा ‘ल्होसार पर्व’ को रौनक (तस्बिरहरू)


काठमाडौँ । तामाङ समुदायले आज ल्होसार पर्व मनाइरहेका छ ।
बिहीबार टुँडिखेलमा आयोजित सोनाम ल्होसार तामाङ सांस्कृतिक महोत्सवमा तामाङ समुदायले ल्होसार मनाएका हुन् ।
उनीहरू रत्नपार्कबाट पदयात्रा गर्दै कार्यक्रमस्थलसम्म पुगेका छन् ।
मौलिक पहिरनमा डम्फु बजाउँदै तामाङ समुदायले पदयात्रा गरेको देखिन्छ ।
आज राष्ट्रिय सोनाम ल्होछार मूल समारोह समितिले टुँडिखेलमा ल्होसार तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको हो ।
सोनाम ल्होसार तामाङ समुदायको नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ ।
यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नाका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।
मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।
आजदेखि खरायो वर्ग पूरा भएर गरुड वर्ष प्रवेश भएको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
