आप्रवासन नीतिमा ट्रम्पको कडा कदम, शरण माग गर्ने एप खारेज

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओभल अफिसबाटै आप्रवासनसम्बन्धी कठोर नीतिहरूको सुरुवात गरेका छन् । उनले जारी गरेका नयाँ कार्यकारी आदेशमा ‘जन्मका आधारमा नागरिकताको हक’ परिवर्तन गर्ने प्रयासदेखि मेक्सिकोसँगको सीमामा राष्ट्रिय संकटकाल घोषणा गर्ने योजना समेटिएको छ ।

ट्रम्प प्रशासनले अमेरिकी संविधानमा सुनिश्चित जन्मका आधारमा नागरिकताको अधिकारलाई अन्त्य गर्ने योजनामा काम थालेको छ । यस परिवर्तनले कागजातविहीन आप्रवासीका अमेरिकामा जन्मेका सन्तान स्वतः नागरिक बन्ने हक गुमाउनेछन् । तर संविधान संशोधन गर्न कंग्रेसको दुवै सदनमा दुई–तिहाइ बहुमत आवश्यक पर्ने भएकाले यो कदमले कानुनी चुनौतीको सामना गर्ने निश्चित छ ।

सीमासम्बन्धी विस्तारित योजनाअन्तर्गत ट्रम्पले अमेरिकी रक्षा मन्त्रालयलाई ‘सीमालाई बन्द गर्न’ आदेश दिने तयारी गरेका छन् । थप स्रोत, जनशक्ति र ड्रोन प्रतिरक्षा प्रणाली तैनाथ गर्ने योजना समेत घोषणा भएको छ । ‘हाम्रो देशको सुरक्षा मेरो पहिलो जिम्मेवारी हो,’ ट्रम्पले आफ्नो शपथग्रहणपछिको सम्बोधनमा भने ।

नयाँ प्रशासनले सीमा प्रवेश प्रबन्धनका लागि प्रयोग हुँदै आएको ‘सीबीपी वान’ एप तुरुन्तै खारेज गरेको छ । यो एप आप्रवासीहरूले अमेरिकी सीमा अधिकारीहरूसँग भेटघाटका लागि समय मिलाउन प्रयोग गर्दै आएका थिए । एप बन्द भएसँगै हजारौँ भेटघाटको समय स्वतः रद्द भएको छ, जसले सीमामा रहेका आप्रवासीहरूलाई अन्योलमा पारेको छ ।

मेक्सिकोको टिह्वाना सहरमा रहेका आप्रवासीहरूले यो निर्णयले आफूहरूलाई गम्भीर रूपमा प्रभावित गरेको जनाएका छन ्। सात महिनादेखि सीमा अधिकारीहरूसँग भेट पर्खिरहेकी ओरालियाले भनिन्, ‘हामीलाई सहयोग चाहिएको छ, आशा छ ईश्वरले ट्रम्पको मन परिवर्तन गर्नुहुनेछ ।’

ट्रम्पका आदेशप्रति आप्रवासन अधिकारकर्मी र संगठनहरूले तीव्र आपत्ति जनाएका छन् । अमेरिकी सिभिल लिबर्टिज युनियन (एसीएलयु)ले आदेशलाई तत्कालै अदालतमा चुनौती दिएको छ । न्याश्नल इमिग्रेशन फोरमका अनुसार यी नीतिहरूले परिवारहरूलाई अलग पार्ने र अमेरिकी मूल्यमान्यतामाथि प्रहार गर्नेछन् । ट्रम्प प्रशासनका यी कदमहरूले अमेरिकामा आप्रवासन प्रणालीमा ठुलो हलचल ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *