लेखा समिति सभापति पोखरेलको पुनः राजीनामा माग

काठमाडौँ । तीन दलका सांसदहरूले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभा अन्तर्गतको लेखा समिति बैठकमा बोल्दै नेपाली काँग्रेस,नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सभापति पोखरेलको राजीनामा मागेका हुन् ।

सांसदहरूले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्ने र सभापति माथि विभिन्न प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा जोड दिएका छन् । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सरकारका अनियमितताका विषयमा प्रश्न उठाउने सार्वजनिक लेखा समितिलाई सरकारले बन्धक बनाउन खोजेको आरोप लगाए ,।

उनले सरकार पक्षले नै समिति सभापति राखेर बन्धक बनाउन नहुने बताए । उनले लेखा समितिको सभापति पद प्रतिपक्षले पाउने अन्तर्राष्ट्रिय अभ्यास र संसदीय व्यवस्थाको मान्यता दुवै भएको भन्दै त्यसलाई पालना गर्न आग्रह गरे । उनले सार्वजनिक लेखा समितिले सरकारको लाचार छायाँ बनेको बताए । उनले सभापतिको परम्परा के थियो हेर्ने र सच्याउनुपर्ने भन्दै लेखा समितिको नेतृत्व प्रतिपक्षका नहुँदा समितिजस्तो नहुने टिप्पणी गरे । उनले लेखा समिति प्रतिपक्षले पाउने हो सत्ता पक्षले राखेर बन्दी जस्तो बनाउन नहुने सांसद शर्माको भनाई थियो ।

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले पनि समिति सभापतिले मार्ग प्रशस्त गर्नुपर्ने बताए । उनले परम्परा र विश्वव्यापी प्रचलनअनुसार लेखा समिति सभापति प्रतिपक्षलाई दिनुपर्ने बताए । उनले विगतदेखि यस्तो परम्परा तोडिँदै गएको बताए । उनले नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसको नेतृत्वमा हुँदा पनि परम्परा तोडिएको बताए ।

लेखा समिति सभापति सत्ता पक्षले छाडेर प्रतिपक्षलाई दिने प्रचलन रहेको दोहोर्याए । सांसद केसीले परम्परा तोडिँदै गएको भन्दै त्यसलाई सुधार गरी सच्याउनुपर्ने आवश्यकता रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरे । उनले विगतमा समेत सत्तारूढ दलका सांसदले लेखा समिति सभापति नछाडेको विषय उदाहरण नदिन पनि आग्रह गरे । उनले लेखा समिति प्रमुख प्रतिपक्ष दलको हुनुपर्ने बताए । उनले समिति सभापतिका विषयमा कुरा मात्रै हुने तर निरन्तरता एउटै मात्रै रहेको उल्लेख गरे ।

उनले समितिले प्रिमियममा आइपिओ निष्कासन गर्न नदिन निर्देशन दिएपनि अध्यादेशमा प्रिमियममा आइपिओ निष्कासन गर्ने दिने गरी आउनु जायज नभएको बताए ।

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले लेखा समिति सरकारको लाचार छायाँ बनेको आरोप लगाए । उनले सार्वजनिक लेखा समिति सरकारको लाचार छायाँ जस्तो भएर सरकारले गरेका नराम्रा कामको ढाकछोप गर्ने काम गरिरहेको बताए । उनले लेखा समितिको नेतृत्व प्रतिपक्षीलाई नदिनुमा सरकारको कुकर्म ढाकछोप गर्ने बदनियत रहेको आरोप लगाए ।

उनले लेखा समिति नेतृत्व पनि प्रतिपक्षीको हुनुपर्ने भएपनि सत्ता पक्षले नै नेतृत्व राखी रहेको बताए । उनले सभापतिले नैतिकताका आधारमा मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिए । उनले सभापतिले प्रतिपक्षीको नेतृत्व हुनका लागि मार्गप्रसस्त गर्नु आवश्यक रहेको उल्लेख गरे ।

नेकपा (माओवादी केन्द्र) का अर्का सांसद अमनलाल मोदीले सभापतिको बारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा मार्ग प्रशस्त गर्न बारम्बार माग गर्दै आएको बताए । उनले विगतमा एक्लै आवाज उठाए पनि अहिले समितिमा धेरै सांसद र दलहरूको धारणा सभापतिले मार्ग प्रशस्त गर्नुपर्ने कुरा आउन थालेको बताए । उनले सार्वजनिक लेखा समिति सरकारको चेक इन ब्यालेन्सका लागि भएकाले प्रमुख प्रतिपक्षको हुनुपर्ने विश्वव्यापी मान्यता रहेको बताए ।

उनले विगतमा नेकपा एमाले प्रतिपक्षमा हुँदा समिति सभापति प्रतिपक्षलाई दिन माग गर्दै बैठक बहिस्कार गरेका समेत इतिहास रहेको बताए । उनले सार्वजनिक लेखा समिति सभापति प्रतिपक्षलाई दिनको लागि संविधान संशोधन आवश्यक नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eleven =