सन्तोष लामिछाने : राजमिस्त्रीबाट रुद्राक्ष व्यापारीसम्मको यात्राको कथा (भिडिओ)

काठमाडौं । धरानको विजयपुरमा पिण्डेश्वर बाबा धाम मन्दिर छ । यो मन्दिर धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको पूर्वकै प्रसिद्ध मन्दिर हो । यहाँ भक्तजनहरूको घुइँचो नै लाग्ने गर्दछ । विशेष गरि यस मन्दिरमा शिवलाई जल चढाउन साउनमा भक्तजनहरूको भिड लाग्ने गर्दछ । बाला चतुर्दशी, शिवरात्रि र तीजमा पनि यहाँ मेला लाग्ने गर्छ । यसै मन्दिर परिसरमा धरानका थुप्रै स्थानीयहरूले पूजाका सामान र रुद्राक्षका मालाहरू बेच्दै आएका छन् ।
पिण्डेश्वर मन्दिरको अगाडी ५ वर्षदेखि ४२ वर्षीय स्थानीय सन्तोष लामिछानेले रुद्राक्षको माला र डालीहरूको व्यापार गर्दै आएका छन् । उनलाई साउन महिनामा रुद्राक्षको माला बेच्न भ्याइ नभ्याई हुन्छ । भगवान् शिवले पनि आफ्नो गलामा रुद्राक्षको माला पहिरिएका हुनाले हिन्दु धर्ममा यसको ठुलो महत्त्व रहेको लामिछाने बताउँछन् । साउन महिनामा रुद्राक्षका माला र डालीहरू धेरै बिक्री हुने उनी बताउँछन् । अन्य बेला भने खासै माला र डालीको व्यापार नहुने उनको भनाई छ ।
‘साउन महिनामा यहाँ ठुलो मेला लाग्छ, व्यापार पनि धेरै हुन्छ । मेला लागेको बेला सबैको गलामा रुद्राक्षको माला हुन्छ,’उनले भने,‘अन्य बेला खासै मालाहरू बिक्री हुँदैनन् ।’
लामिछानेले धनकुटामा रुद्राक्षका माला र डाली बनाउने काम सिकेका थिए । पछि उनले आफूले सिकेको सिप अन्य धेरै जनालाई सिकाएका पनि छन् । लामिछाने धनकुटाका रुद्राक्षहरू धरानमा ल्याएर बेच्ने गर्दछन् । रुद्राक्षबाट बनेका माला र डालीहरूलाई ८० देखि साढे २ सय रुपियाँसम्म पर्ने उनी बताउँछन् ।
‘धनकुटा हुँदा नै एक दिदीसँग बसेर रुद्राक्षका माला बनाउने काम सिकेको हुँ । पछि अन्य धेरैलाई पनि सिकाएको छु,’उनले थपे,‘रुद्राक्षबाट बनेका माला र डालीहरूलाई ८० देखि साढे २ सय सम्ममा बेच्छु ।’
लकडाउनले जुराएको नयाँ व्यापार
उसो त, सन्तोष लामिछाने पहिलेबाटै राजमिस्त्री अर्थात् घर बनाउने काम गर्दै आएका थिए । उनले लगभग ८ वर्षसम्म घर बनाउने काम गरे । काम गर्दै जाँदा उनको खुट्टामा गहिरो चोट लाग्यो । खुट्टामा लागेको चोट निको नभएपछि लामिछानेले अन्ततः राजमिस्त्रीको काम नै छोडे ।
लामिछानेले काम छोडेकोकै बेला नेपालमा महामारीको रुपमा कोराना भाइरस फैलियो । देशभर लकडाउन भयो । लकडाउनमा अन्य काम केही गर्न नपाएपछि उनलाई आर्थिक संकट भयो । त्यसपछि नै उनले रोजीरोटीका लागि रुद्राक्षका माला र डाली बनाएर बेच्ने काम थालेका हुन् ।
‘वाल लगाउँदा ढुङ्गाले चोट लागेर टाँका लगाए । काम गर्न पनि नसक्ने भएँ । लकडाउन भएपछि त झनै कामै पाइन छाड्यो’ उनले भने,‘त्यसपछि रुद्राक्षका माला र डाली बेच्न थालेको हुँ ।’
रुद्राक्षका माला र डाली बनाएर बेच्ने काम हेर्दा सजिलो लागे पनि उत्तिकै जोखिमपूर्ण छ । मेसिनको सहायताले रुद्राक्षलाई छेद पार्दा औला काटिने सम्भावना हुन्छ । तर, पनि लामिछाने जोखिम मोलेरै रुद्राक्षका माला बनाउँछन् र दैनिकी चलाउँछन् । ‘काम गर्दा जोखिमको सम्भावना त भइहाल्छ नि, अलि अलि त सहनु पनि पर्छ । डराएर हुदैँन्’ उनले भने ।
उनले यस पेसामा धेरै समस्याहरू रहेको गुनासो गरे । कहिले ५ हजार त कहिले ५ रुपियाँको पनि व्यापार नहुने उनी बताउँछन् । धरान घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले गर्दा कहिले कहि सामानहरू बिक्री हुने गरेको उनले बताए ।
पंतिकारसँग कुराकानी गर्दै उनले भने, ‘गत शविबारदेखि २ सयको पनि सामान बेचेको छैन । भारतबाट कोही आइहाल्नु भयो भने र हाम्रै पूर्व पश्चिमबाट कोही आउनुभयो भने कसैले मन पराएर किन्नु हुन्छ । नत्र खासै बिक्री हुदैँन् ।’
रुद्राक्षको व्यापार नेपालमा खासै नभए पनि भारतमा भने यसको माग उच्च छ । तर, नेपाल सरकारले भारतमा रुद्राक्ष निर्यात गर्न दिँदैन । जस कारण पनि लामिछाने जस्तै सयौँले सोचे जस्तो आम्दानी गर्न सकेका छैनन् । सरकारले आ-आफ्नो कागज बनाई भारतमा रुद्राक्ष निर्यात गर्न अनुमति दिनुपर्ने लामिछानेको माग छ । उनले सरकारलाई अहिले भइरहेका बाधा अड्चनहरू हटाइदिन आग्रह गरेका छन् ।
‘भारतमा पनि रुद्राक्षको धेरै राम्रो माग छ, तर सरकारले लान दिँदैन । सरकारले आ-आफ्नो कागज बनाई भारतमा बिक्री गर्न अनुमति दियो भने त्यहाँ धेरै बिक्री हुन्छ’ उनले भने ।