विश्वविद्यालयमा तालाबन्दी र हड्ताल नगर्न शिक्षा मन्त्रालयको निर्देशन


काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूमा तालाबन्दी, बन्द हड्ताल नगर्न निर्देशन दिएको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनहरूलाई उक्त निर्देशन दिएको हो ।
विभिन्न पेशागत तथा विद्यार्थी सङ्गठनका नामबाट विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पस तथा शैक्षिक सेवा प्रवाह गर्ने संस्थाहरूमा तालाबन्दी, हड्ताल लगायतका गतिविधिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
शान्तिपूर्ण वातावरणमा ज्ञान आर्जन गर्न र सिक्न पाउने अधिकारको हनन हुने गरी शैक्षिक संस्थाभित्र अवरोध नगर्न मन्त्रालयले आग्रह गरेको छ ।
प्रवक्ता सापकोटाद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘शिक्षण संस्था शैक्षिक गतिविधि सञ्चालन गर्ने पवित्र स्थल भएका कारण यस्ता संस्थामा हुने कुनै पनि प्रकारका तालाबन्दी र हड्तालले विद्यार्थीको भविष्यमा नकारात्मक प्रभाव पार्ने मात्र नभई विद्यार्थीको शिक्षा प्राप्त गर्ने मौलिक हकको समेत हनन् हुने हुँदा यस प्रकारका गतिविधि शिक्षण संस्थामा नगर्नु नगराउनु हुन सम्बन्धित सवैमा मन्त्रालय हार्दिक अपिल गर्दछ,’।
आवश्यक समन्वय, सहयोग र सहजीकरण गरिदिन स्थानीय प्रशासनलाई मन्त्रालयले आग्रह समेत गरेको छ ।
