सहमतिका लागि पठाएका फायल टुङ्ग्याउन मुख्यमन्त्री कार्कीको निर्देशन


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सहमतिका लागि पठाएको फाइल छिट्टै टुङ्ग्याउन निर्देशन दिएका छन् ।
प्रदेश सरकारको चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै शुक्रवार उनले सहमतिका लागि पठाइएका फाइलहरु अड्किँदा काम ढिलो भएको बताए । उनले आगामी जेठ १५ गतेभित्र अन्तरक्रिया, गोष्ठी जस्ता कार्यक्रम सक्न निर्देशन दिए ।
“जेठको अन्तिम लागेपछि कार्यक्रममा जान हैरान हुन्छ, दिनमा तीन चार वटा कार्यक्रम हुन्छन्, त्यसले नतिजा पनि दिएको छैन”, उनले भने,“यस्तो काम रोक्ने गरी अघि बढ्नुपर्छ ।”
कम्तीमा हप्तामा तीनदेखि चार दिन मन्त्री र सचिवलाई सँगै बसेर मन्त्रालयको काम गर्न उनले आग्रह गरे । उनले भने,“हाम्रो नीति, कार्यक्रम तथा बजेट खर्चको अवस्था अहिलेसम्म सन्तोषजनक छैन, बेरुजू फर्छ्यौट र शासकीय सुधारलाई पहिलो स्थानमा राखेर काम गरौँ ।”
यही माघ ७ गतेदेखि सुरु हुने प्रदेशसभाको अधिवेशनमा नयाँ विधेयक र संशोधन गर्नुपर्ने ऐन पेस गर्ने गरी तयारी गर्न मुख्यमन्त्री कार्कीले मन्त्रीहरुलाई निर्देशन दिए।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले ऐन र नियमावलीमार्फत काम गर्नुपर्ने बताउँदै कार्यविधि र निर्देशिकाबाट काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गरी अघि बढ्नुपर्ने उल्लेख गरे ।
प्रमुख सचिव केदारनाथ शर्माले मन्त्रालयले समय सीमाअनुसार काम गर्नुपर्नेमा जोड दिए । “एकैपटक नियमावली र कार्यविधि ल्याएर काम गर्ने कुरा ठीक भएन, पुँजीगत खर्च कसरी बढाउन सकिन्छ त्यसमा लाग्नुपर्छ”, उनले भने ।
समीक्षा कार्यक्रममा कोशी प्रदेश सरकारका सबै मन्त्री तथा राज्यमन्त्री, मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो ।
