खबर दिनभर : रवि फेरी हिरासतमा देखी राष्ट्रपतिद्धारा अध्यादेश जारीसम्म

राष्ट्रपति पौडेलद्धारा चार वटा अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार विभिन्न चार वटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले आज विभिन्न चार वटा अध्यादेश जारी गरेका हुन् ।

नेपाल कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश-२०८१,नीजिकरण पहिलो संशोधन अध्यादेश-२०८१,आर्थिक तथा व्यवसायिक वातावरण सुधार, लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ र सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ जारी भएको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले पाँच वटा अध्यादेश सिफारिसका लागि राष्ट्रपति समक्ष पठाएकामा राष्ट्रपतिले चार वटा अध्यादेश जारी गरेका हुन् ।

माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपाललाई रु एक करोड सहयोग गर्ने घोषणा गरेका छन् । माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयमा सोमबार स्थलगत अवलोकन गरी संस्थाको अक्षय कोष वृद्धि गर्न उक्त रकम दिने घोषणा गरेका हुन् ।

चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँग उनले छलफल गरेका थिए । उक्त छलफल पछि सरकारले गर्नुपर्ने काममा संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले अवलोकनका क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाए । उनले सो संस्थाको प्रशंसा गरे ।

नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध सीमा र कतिपय अप्ठ्याराका कारण गर्न नसकिएका कामलाई यस्ता संस्थाले निरन्तरता दिएकामा उनले सन्तोष व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले संस्थामा सञ्चालित पुनःस्थापना गृह, बाल संरक्षण गृह, एचआइभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी स्कुललगायतको अवलोकन गरे ।

रवि लामिछानेको थुनछेक बहस सकिएन, फेरी हिरासतमा

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

काठमाडौँ जिल्ला अदालतमा आज पनि लामिछानेको थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज लामिछानेतर्फका २ जना र सरकारी वकिल ९ जनाले बहस गरेका थिए ।

तर, सबै वकिलको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । मुद्दा हेर्दाहेर्दैमा राखिएपछि लामिछानेलाई फेरी हिरासत पठाइएको छ ।

अब लामिछानेको मुद्दाको अर्को सुनुवाइ बुधवार मात्रै हुनेछ । भोली मंगलबार सार्वजनिक बिदा भएकाले उनको अर्को सुनुवाइ बुधवार मात्रै हुने भएको हो ।

काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो ।

लामिछानेको हकमा सरकारी वकिलले पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँ बिगो मागदाबी गरेको छ ।

रास्वपा सभापति लामिछानेलाई सुर्यदर्शन सहकारी पोखराको मुद्दामा जिल्ला अदालत कास्कीले यसअघि ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

यसअघि लामिछाने सुर्यदर्शन सहकारी मुद्दामा कास्की प्रहरी हिरासतमा ८४ दिन बसेका थिए ।

५६ जिल्लाका भूमि आयोगका अध्यक्षहरुको शपथ ग्रहण सम्पन्न

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ५६ जिल्लाका भूमि समस्या समाधान आयोगका अध्यक्षहरूलाई पद तथा गोपनियताको शपथग्रहण गराएका छन् ।

उनले आइतबार नियुक्ति गरिएका सातै प्रदेशका विभिन्न जिल्लाका आयोग अध्यक्षलाई सोमबार आयोजित समारोहमा शपथग्रहण गराएका हुन् ।

कोशी प्रदेशका जिल्ला अध्यक्षहरूमा ताप्लेजुङमा कृष्णकुमार बस्नेत, पाँचथरमा धनकुमार फियाक, इलाममा प्रकाश अधिकारी, सङ्खुवासभामा शङ्करमान कँडेल, धनकुटामा देवमान राई, भोजपुरमा देवीराम चौलागाई, खोटाङमा निर्मल राई, सोलुखुम्बुमा नातीकाजी गुरुङ, ओखलढुङ्गामा पुरुषोत्तम लुइँटेल, उदयपुरमा बलबहादुर तामाङ, झापामा मदनप्रसाद अधिकारी, मोरङमा नवीन पौडेल, सुनसरीमा इन्द्रप्रसाद पोखरेल रहेका छन् ।

मधेस प्रदेशका जिल्ला अध्यक्षहरूमा सिराहामा रामअधिन यादव, धनुषामा सुरेशकुमार कोइराला, महोत्तरीमा पीताम्बर महत्तो, सर्लाहीमा मदनबहादुर विश्वकर्मा, बारामा भरतबहादुर घले र पर्सामा तबरेज अहमद रहेका छन् ।

यसैगरी, बागमती प्रदेशको दोलखामा राकेश श्रेष्ठ, रामेछापमा गौतमकुमार लामा, सिन्धुलीमा कौशल कोइराला, काभ्रेपलाञ्चोकमा विदुरप्रसाद हुमागाई, सिन्धुपाल्चोकमा ज्ञानेन्द्रबहादुर राउत, रसुवामा जनकराज उपाध्याय, नुवाकोटमा अर्जुनप्रसाद न्यौपाने, धादिङमा हरिप्रसाद पन्त, चितवनमा इमानसिंह मुक्तान, मकवानपुरमा बलराम लामा, भक्तपुरमा दीपक विसुङ्के, ललितपुरमा गणेशकुमार आचार्य र काठमाडौँमा कृष्णजी खड्का छन् ।

गण्डकी प्रदेशमा गोरर्खामा राजनराज पन्त, लमजुङमा दामोदर अधिकारी, तनहुँमा गोविन्दराज सिलवाल, कास्की बैनबहादुर गुरुङ, मनाङमा साङ्दो लामा, मुस्ताङमा विशन पुर्जा, पर्वतमा देवेन्द्रराज पाण्डे, म्याग्दीमा खड्क गिरी, बागलुङमा भीमप्रसाद शेरचन र नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० मा तारापति खरेल रहेका छन् ।

त्यस्तै, लुम्बिनी प्रदेशका जिल्ला अध्यक्षमा नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० मा लालबहादुर गुरुङ, रुपन्देहीमा कुमार थापामगर, कपिलवस्तुमा झविलाल पोख्रेल, पाल्पामा रामबहादुर कार्की क्षेत्री, अर्घाखाँचीमा यादवप्रसाद घिमिरे, गुल्मीमा कृष्ण सुनार, रुकुमपूर्वमा हरिहर पौडेल, रोल्पामा सिमबहादुर विष्ट, प्युठानमा सुवास केसी, दाङमा हुकुमबहादुर बस्नेत, बाँके घननाथ खनाल र बर्दियामा अरुणप्रकाशसिंह राठोर रहेका छन् ।

कर्णाली प्रदेशका रुकुम पश्चिममा शशीराम नेपाली, सल्यानमा वीरबहादुर सेजवाल, डोल्पामा तुलचन्द्र बुढा, मुगुमा रामबहादुर रावत, हुल्लामा नरबहादुर रोकाया, कालीकोट विष्णुबहादुर शाही, जाजरकोटमा सर्पराज रावत, दैलेखमा बरुनाथ योगी र सुर्खेतमा केशरबहादुर ओली अध्यक्ष रहेका छन् ।

सुदूरपश्चिम प्रदेशका जिल्ला अध्यक्षमा बाजुरामा जनकबहादुर रोकाया, डोटीमा डम्बरबहादुर ओली, अछाममा राम आउजी, दार्चुलामा लालसिंह धामी, बैतडीमा रमेशदत्त पाण्डेय, डडेलधुरामा कैलाशकुमार पाण्डेय र कैलालीमा यज्ञराज उपाध्याय रहेका छन् ।

दुग्ध उत्पादक किसानलाई शीघ्र भुक्तानी दिन्छौँ : रामनाथ अधिकारी

कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थानमार्फत किसानलाई तिर्न बाँकी भुक्तानीका लागि पहल भइरहेको बताएका छन् ।

केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड नेपालको ३० औँ वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले एकरडेढ महिनाभित्र भुक्तानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

“उद्योगले किसानको दूधको भुक्तानी नगर्ने कारण खोजेर समस्या समाधानका लागि पहल गरिरहेका छौँ । आफूले नगदमा बिक्री गर्ने तर किसानबाट उधारोमा दूध लिनु राम्रो होइन । कृषकले समयमै आफ्नो पैसा पाउनुपर्दछ । यसका लागि मन्त्रालयले पहल गरिरहेको छ”, मन्त्री अधिकारीले भने ।

उनले आफू मन्त्रालयमा आउँदा संस्थानले कृषकलाई भुक्तानी गर्नुपर्ने रकम रु एक अर्ब ४८ करोड र कर्मचारीको रु ५० करोड गरी रु एक अर्ब ९८ करोड रहेकामा त्यसलाई कम गर्दै लगिएको बताए । कृषि र सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि आगामी नीति, कार्यक्रम र बजेटबाट सम्बोधन गरिने मन्त्री अधिकारीको भनाइ थियो ।

गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले नेपालमा उत्पादित दूध छिमेकी मुलुक चीन र भारतमा निर्यात गर्न सकिने सम्भावना रहेको भन्दै यसका लागि कृषकलाई प्रोत्साहन गर्दै व्यावसायिक पशुपालनमा जोड दिनुपर्ने बताए । गण्डकी प्रदेशका कृषिमन्त्री पद्यमा जिसी श्रेष्ठले प्रदेश सरकारले किसानलाई सहयोग गर्न उत्पादनमा आधारित अनुदान नीतिलाई कार्यान्वयन गरिरहेको जानकारी दिए ।

संंस्थाका अध्यक्ष अम्मरबहादुर कुँवरले विभिन्न रोगव्याधिका कारणले कृषि तथा दुग्ध क्षेत्रमा आबद्ध कृषकलाई असर परेको बताउँदै यस्ता कृषकलाई पेसामा टिकाइराख्न सरकारले सहयोग गर्नुपर्ने बताए । उनले देशको कूल गार्हस्थ्य उत्पादनमा दुग्ध क्षेत्रको नौ प्रतिशत योगदान रहेको र यस क्षेत्रले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गरेको बताए ।

कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादव, दुग्ध विकास संस्थानका महाप्रबन्धक सूर्य पौडेल, डेरी उद्योग सङ्घ नेपाल काठमाडौँका अध्यक्ष राजकुमार दाहाल, कास्की जिल्ला सहकारी सङ्घका अध्यक्ष दीपकराज बास्तोलालगायतले नेपालको समृद्धिको आधार दूध व्यवसाय रहेकाले यस क्षेत्रमा राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए ।

सङ्घमा हालसम्म ३६ वटा जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाहरू सदस्य रहेको त्यस अवसरमा जानकारी दिइएको थियो ।

कुनै दल फुटाउने र मिलाउने काम मेरो होइन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको बताएका छन् । राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दल फुटाउने र मिलाउने काम नगर्ने बताएका हुन् ।

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले दल विभाजन गराउने सम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुठो प्रचार गरिएको बताए ।

प्रधानमन्त्री ओलीले कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको स्पष्ट पारे ।

‘दल विभाजन गराउने सम्बन्धी अध्यादेश ल्याउन लागिएको छैन,’ओलीले भने, ‘कुनै दल फुटाउने र मिलाउने काम मेरो होइन ।’

प्रधानमन्त्री ओलीले आफू जागिर खान मात्रै प्रधानमन्त्री नभएको बताउँदै देश र जनताप्रतिको जिम्मेवारी बोध गरेर काम गरिरहेको बताए ।

उनले भने– ‘हामी १०–५ को जागिर खान आएका होइनौँ । देश र जनताप्रतिको जिम्मेवारी बोध गरेर दिउँसो वा राति काम हुन्छ । लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन । देशका हितमा खुलेआम काम गर्ने हो ।’

प्रहरी महानिरीक्षकद्वारा दर्ज्यानी चिह्न प्रदान

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पेसागत निष्ठा, व्यावसायिकता र इमानदारितालाई केन्द्रमा राखी कर्तव्य निर्वाहमा तल्लीन रहन मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन् ।

पदोन्नति भएका प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गर्दै आज प्रहरी प्रधान कार्यालय नक्सालमा उनले सङ्गठनको विकास र सुदृढीकरणमा ध्यान केन्द्रित गर्न निर्देशन दिए।

“पदोन्नतिलाई व्यक्तिगत सुविधा र खुसीभन्दा माथि राख्दै पदीय जिम्मेवारी र जवाफदेहिता थप भएको महसुस गरेर कार्यसम्पादनमा अझ निखर र तल्लीन रहन निर्देश गर्दछु”, प्रहरी महानिरीक्षक कुँवरले भने ।

पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले सङ्गठनको छवि उच्च गर्न र बृहत्तर हितका लागि सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी अतिरिक्त महानिरीक्षकद्वय कडायत र रवीन्द्र केसी, प्रहरी नायब महानिरीषकहरू ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरूण पौडेल र गोविन्द थपलिया तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरीलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गरेका थिए ।

‘सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक अन्तिम चरणमा छ’

प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा सांसदहरूले सामाजिक सञ्जाललाई व्यवस्थित गराउने विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको ध्यानाकर्षण गराएका छन् ।

उनीहरूले सूचना प्रविधिको विकासले वाक स्वतन्त्रतालाई सहज बनाए पनि यसलाई मर्यादित बनाउन आवश्यक रहेकामा जोड दिए । आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूको जिज्ञासामा मन्त्री गुरुङले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक करिब अन्तिम चरणमा पुगेको जानकारी गराए ।

उनले मिडिया काउन्सिलसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा छलफल हुने क्रममा रहेको, ‘आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०’ का सन्दर्भमा अवधारणा तयार हुँदै गरेको, सूचना प्रविधि र साइबर सुरक्षा विधेयक कानुन मन्त्रालयमा पुगेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक एवं सांसद महेशकुमार बर्तौलाले सामाजिक सञ्जालको जथाभाबी प्रयोगका कारण झुट्टा र भ्रामक सूचनाको समस्या बढ्दै गएकाले नियमन जरुरी भएको बताए ।

सांसद नैनकला थापाले पछिल्लो समय सूचना प्रविधि युवाको मुख्य रोजाइ बन्दै गएकाले सरकारले यसमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए ।

सांसद सोविता गौतमले औषधिको विज्ञापन दिन नपाइने भनिए पनि सामाजिक सञ्जालमा जथाभाबी विज्ञापन गरेर जनमानसमा गलत प्रभाव पारेका विषयमा ध्यानाकर्षण गराए ।

सांसदहरू रञ्जुकुमारी झा, नागिना यादव, पूर्णबहादुर घर्तीलगायतले प्रेस स्वतन्त्रताको संरक्षण गर्दै सामाजिक सञ्जाललाई व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भई छलफलमा जाने प्रक्रियामा रहेको जानकारी दिइन् । ‘हामीले सामाजिक सञ्जाल नियन्त्रण गर्ने नभई त्यसमा पोष्ट हुने कन्टेन्टमाथि नियमन गर्न खोजेका हौँ । विधेयक अगाडि बढ्ने प्रक्रियामा छ’, उनले भनिन् ।

प्रेस काउन्सिल ऐन खारेजीका लागि सहमति

बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको दफा २१ मा रहेको प्रेस काउन्सिल ऐन, २०४८ मा संशोधन गर्न खोजिएको दफा हटाउने प्रस्तावमा सहमति जुटेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव अर्यालले समितिमा राखेको प्रस्तावमाथि सहमति जुटेको सभापति विमला सुवेदीले जानकारी दिइन् ।

समितिमा आमन्त्रित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले मिडिया काउन्सिल विधेयक पारित हुने प्रक्रियामा रहेको भन्दै प्रेस काउन्सिल ऐन, २०४८ को औचित्य नरहेको स्पष्ट पारे ।

सोमबार पनि बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज (सोमबार) पनि सुनको भाउ बढेको छ । चाँदीको मूल्य भने आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला १ लाख ५५ हजार ७ रुपैयाँमा कारोबार भइरहेको थियो । आज चाँदीको भाउ भने स्थिर रही १ हजार ८६० रुपैयाँ कायम भएको छ । हिजो पनि चाँदी तोलामा १ हजार ८६०५ रुपैयाँमा कारोबार भएको थियो ।

नेप्से परिसूचक १५ अङ्कले घट्यो

यो सातामा कारोबारमा लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ५४ अङ्कले घटेर दुई हजार पाँच सय ९४ दशमलव १३ को बिन्दुमा कायम भएको हो ।

आज विभिन्न तीन सय २२ कम्पनीका एक करोड ३८ लाख ७० हजार पाँच सय ७९ कित्ता शेयर ६४ हजार दुई सय ७८ पटक खरिदबिक्री हुँदा छ अर्ब ६५ करोड आठ लाख ८३ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै व्यापार समूह एक दशमलव ८९, होटल तथा पर्यटन एक दशमलव ३६ र वित्त समूह एक दशमलव ३२ प्रतिशतले घटेको छ ।

बैंकिङ शून्य दशमलव ३५, विकास बैंक शून्य दशमलव ५८, जलविद्युत् शून्य दशमलव ४९, लगानी शून्य दशमलव ६० र जीवन बीमा शून्य दशमलव ५० प्रतिशतले घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७७, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ४२, निर्जीवन बीमा शून्य दशमलव ०२ र अन्य समूह शून्य दशमलव ६७ प्रतिशतले घटेको छ ।

आज बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ४५ करोड २५ लाख ५१ हजार बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै माछापुच्छ्रे बैंक प्रमोटर शेयर आठ लाख ४९ हजार आठ ३३ कित्ता किनबेच भएको छ ।

सोलुखुम्बूमा हिमपात, सडक अवरुद्ध

सोलुखुम्बूमा हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रमा हिमपात भएपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेपछि लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु हुँदै लामजुरासम्मको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि प्रहरी सहायक निरीक्षक मोहनप्रसाद अधिकारीको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको छ । सडक खुलाउन समय लाग्ने उनले बताए ।

सडकमा हिउँमा चिप्लिएर सवारीसाधन दुर्घटना हुने सम्भावना भएकाले पताले, लामाजुरालगायत क्षेत्रमा यात्रा गर्ने सबैलाई सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ ।

माथिल्लो सोलुखुम्बूमा यसअघि नै हिमपात भए तल्लो सोलुमा भने यसवर्ष पहिलो पटक हिमपात भएको हो । हिउँ परेपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।

श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

डडेल्धुराको अमरगढी नगरपालिका-३ पथरोडामा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।

घरायसी विवादका क्रममा २४ वर्षीया श्रीमती अस्मिता थापामगरलाई गोली हानेर हत्या गरेको भन्दै ३२ वर्षीय डम्बरबहादुर थापामगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले मादकपदार्थ सेवन गरेका थापामगर आफ्नो घरमा रहेको एकनाले भरुवा बन्दुकले छातीमा गोली प्रहार गरी हत्या गरेका जानकारी आएको बताए ।

लगत्तै प्रहरीचौकी बागबजारका प्रहरी निरीक्षक चन्द्रसिंह धामीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको र थापामगरलाई घरदेखि करिब दुई सय मिटर टाढा जङ्गलमा भरुवा बन्दुकसहित भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको उनले बताए।

हाल उनलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यु-१९ महिला विश्वकप स् अभ्यास खेलमा नेपाल पराजित

आइसीसी यु–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा नेपाल नौ रनले पराजित भएको हो ।

मलेसियामा सोमबार भएको पहिलो अभ्यास खेलमा वेष्ट इन्डिजले नेपाललाई जितका लागि एक सय १० रनको लक्ष्य दिएको थियो । नेपालको पारी १९ दशमलव एक ओभरमा एक सय रनमै समेटियो ।

नेपालका लागि सिमाना केसीले २३, पूजा महतोले १८, किरण कुँवरले १८ र सोनी पाख्रिनले १५ रन बनाए । बलिङतर्फ वेष्ट इन्डिजकी त्रिशा हरदत, आलिया विकीज र आमिया गिल्बर्टले दुई दुई विकेट लिइन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा चार विकेट गुमाएर एक सय नौ रन बनाएको थियो ।

वेष्ट इन्डिजका लागि जजारा क्लक्सटनले अविजित २२ रन बनाइन् । यस्तै कप्तान समारा रमनथले २५ र अबिगेल ब्राइसले १९ रनको योगदान दिइन् ।

बलिङतर्फ नेपालकी सिमाना केसी र रचना कुमारी चौधरीले एक–एक विकेट लिइन् ।

नेपालले दोस्रो अभ्यास खेल आगामी माघ २ गते अमेरिकासँग खेल्नेछ । माघ ५ गतेदेखि मलेसियामा सुरु हुने यु–१९ महिला टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ ।

उक्त समूहमा बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया रहेका छन् । नेपालले माघ ५ गते बङ्गलादेशसँग, माघ ७ गते स्कटल्यान्डसँग र माघ ९ गते अस्ट्रेलियासँग खेल्ने छ ।

बङ्गलादेशद्वारा पदच्यूत नेत्रीको परिवार विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोगले पदच्यूत नेत्री शेख हसिना र उनको परिवार विरुद्ध मुद्दा दायर गरेको छ । यसमा बेलायती सरकारका मन्त्री र संयुक्त राष्ट्रसङ्घका एक वरिष्ठ अधिकारी पनि समावेश छन् ।

सन् २०२४ अगस्टको क्रान्तिपछि ७७ वर्षीया हसिना छिमेकी भारत भागेकी थिइन् । त्यहाँ उनले सामूहिक हत्यासहितका आरोपहरूको सामना गर्न बङ्गलादेशबाट प्रत्यर्पण अनुरोधलाई अवहेलना गरेका छन् ।

यी मुद्दाहरू सघन जनसङ्ख्या भएको राजधानी ढाकाको उपनगरमा मूल्यवान जग्गाहरूको कथित ठूलो मात्रामा अतिक्रमणसँग सम्बन्धित छन् । “शेख हसिनाले केही अधिकारीहरूसँग मिलेर आफू र आफ्ना परिवारका सदस्यहरूका लागि प्लटहरू छुट्याउनुभयो”, भ्रष्टाचार विरोधी आयोग ९एसिसी० का महानिर्देशक अख्तर हुसेनले पत्रकारहरूलाई भने ।

यस मामिलामा नाम उल्लेख गरिएका व्यक्तिहरूमा हसिनाकी भतिजी एवं बेलायती भ्रष्टाचार विरोधी मन्त्री ट्युलिप सिद्दिक पनि रहेको हुसेनले जानकारी दिनुभयो । सिद्दिकले आफूले केही गलत नगरेको दाबी गरेका छन् ।

हसिनाकी छोरी सायमा वाजेद एवं विश्व स्वास्थ्य सङ्गठनकी दक्षिणपूर्वी एसियाकी प्रमुख पनि सूचीमा छन् । वाजेदबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन । “एसिसी अनुसन्धान टोलीले आवश्यक कागजातहरू प्राप्त गरेको छ र मुद्दा दायर गर्न पर्याप्त प्रमाण फेला पारेको छ”, हुसेनले भने, “थप अनुसन्धान गर्दा सम्पत्ति प्राप्तिका सम्बन्धित विवरणहरू पनि समावेश गरिनेछन् ।”

हसिनाका छोरा सजीब वाजेद जोय र सिद्दिककी आमा एवं हसिनाकी बहिनी शेख रेहानाको नाम पनि राखिएको छ । सिद्दीकले यस महिना आफूलाई बेलायती प्रधानमन्त्री किर स्टारमरको मानक सल्लाहकार भएको बताए ।

बेलायती अखबार सन्डे टाइम्स र फाइनान्सियल टाइम्सले उहाँ हसिनाको प्रशासनसँग सम्बन्धित सम्पत्तिमा बसेको रिपोर्ट गरेपछि यो रेफरल आएको हो । बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोगले डिसेम्बरमा रुसी लगानीको आणविक ऊर्जा संयन्त्रसँग सम्बन्धित पाँच अर्ब डलरको कथित हिनामिना गरेको आरोपमा हसिनाको परिवारविरुद्ध अनुसन्धान सुरु गरेको थियो ।

घुसको आरोप १२ अर्ब ६५ करोड डलरको रुपपुर आणविक संयन्त्रसँग सम्बन्धित छ । उक्त संयन्त्रमा मस्कोले ९० प्रतिशत ऋण लगानी गरेको थियो ।

जापानमा ६.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी

अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि राति २१ः१९ बजे ९१२१९ जिएमटी० एक मिटर ९तीन फिट० सम्मको सुनामी छाल आउनसक्ने बताएको छ ।

युएसजिएसले आफ्नो अनुमान ६.९ म्याग्निच्युडबाट घटाएर ६.८ गर्दै यो भूकम्पबाट कुनै सुनामीको खतरा नभएको बताएको छ । तैपनि जेएमएले जनतालाई तटीय पानीबाट टाढा रहन आग्रह गरेको छ । एजेन्सीले एक्समा भनेको छ, “सुनामी बारम्बार आउन सक्छ । कृपया समुद्रमा नजानुहोस् वा तटीय क्षेत्रहरू नजिक नजानुहोस् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *