संगैका चार अध्यादेश जारी हुँदा राष्ट्रपतिले किन रोके भूमी सम्बन्धी अध्यादेश ?


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार विभिन्न चार वटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले आज विभिन्न चार वटा अध्यादेश जारी गरेका हुन् ।
नेपाल कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश-२०८१,नीजिकरण पहिलो संशोधन अध्यादेश-२०८१,आर्थिक तथा व्यवसायिक वातावरण सुधार, लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ र सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ जारी भएको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले पाँच वटा अध्यादेश सिफारिसका लागि राष्ट्रपति समक्ष पठाएकामा राष्ट्रपतिले चार वटा अध्यादेश जारी गरेका हुन् ।सिफारिस गरिएकोमध्ये राष्ट्रपति पौडेलले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेनन् ।
राष्ट्रपति कार्यालयका अनुसार उक्त अध्यादेश राष्ट्रपति पौडेलले अध्ययन गरिरहेकोले रोकिएको हो । राष्ट्रपति पौडेलले आवश्यक अध्ययन गरिसकेपछि त्यसबारे निर्णय हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
