समाजवादी मोर्चालाई पुनः सक्रिय बनाइने

कहाँ पुग्यो माओवादीसहितका दलको एकता प्रक्रिया ?

काठमाडौं । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेसपासहितको एकता प्रक्रिया अन्योलमा परेको छ । चारवटै दलले सैद्धान्तिक रूपमा पार्टी एकताको निर्णय गरे पनि त्यसको कार्यान्वयनमा अझै अन्योलता देखिएको हो ।

माओवादीले २३ पुसमा सम्पन्न केन्द्रीय समितिको छैटौँ बैठकमा विचार मिल्ने दलहरूसँग एकता गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गर्ने निर्णय गरेको थियो । त्यसयता एकताको चर्चा भएको थियो । तर अहिलेसम्म एकताका लागि ठोस प्रयास भने भएको देखिँदैन । पार्टीका महासचिव देव गुरुङले माओवादीले एकताको पहल गर्दै उच्चस्तरीय समिति गठन गरेको बताए । चाँडै वार्ता सुरु गर्ने उनको भनाई छ ।

माओवादीले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेसपा, प्रभु साह नेतृत्वको आमजनता पार्टी, विप्लव नेतृत्वको नेकपा र धर्मेन्द्र बास्तोता नेतृत्वको नेकपा बहुमतसँग एकताको पहल गरिरहेको छ । यसअघि, माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।

गत साउनमा माओवादी, एकीकृत समाजवादी, नेकपा, र नेसपा सम्मिलित समाजवादी मोर्चाले पार्टी एकताको लक्ष्यसहित कार्यदल गठन गरेको थियो । आलोपालो नेतृत्वका आधारमा मोर्चाको संयोजक अहिले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव छन् । मोर्चाको दस्तावेज तयार पार्न कार्यदललाई १५ दिनको समय दिइए पनि ६ महिनामा पनि काम सम्पन्न हुन सकेको छैन ।

कार्यदल सदस्यहरूले दस्तावेजको मस्यौदा तयार भए पनि शीर्ष नेताहरूको समय अभावका कारण बुझाउन नसकिएको बताएका छन् । विप्लव नेतृत्वको नेकपाले पनि एकता र ध्रुवीकरणलाई महत्व दिँदै सबै वामपन्थी दलहरूको सहकार्य आवश्यक रहेको जनाएको छ ।

यता माओवादीले सुरुमा एकीकृत समाजवादीसँग एकता टुंग्याउने रणनीति बनाए पनि समाजवादी पार्टीभित्रै दुई धार देखिएका छन् । केही नेताहरू एकता गर्दै अघि बढ्नुपर्ने पक्षमा छन् भने केही संगठन निर्माणलाई प्राथमिकता दिनुपर्ने पक्षमा छन् ।

समाजवादी मोर्चा फेरि सक्रिय हुने
६ महिनापछि समाजवादी मोर्चाले फेरि सक्रिय हुने संकेत गरेको छ । माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच सिंहदरबारमा भएको बैठकमा मोर्चाको पुनर्सक्रियता र संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब दिने विषयमा छलफल भएको थियो ।

मोर्चाका घटकहरू सहकार्य गर्दै एकताको लक्ष्यतर्फ अघि बढ्नुपर्नेमा सहमत देखिएका छन् । ‘मुख्यतः समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा छलफल गरेका छौँ,’ एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले भने, ‘छिट्टै मोर्चाको बैठक राख्ने तयारी छ ।’

नेसपा अध्यक्ष महिन्द्र राय यादवले मोर्चाको प्रभावकारी भूमिका खोज्दै शीर्ष नेताहरूको ध्यानाकर्षण गराए पनि हालसम्म ठोस प्रगति देखिएको छैन । जसपा अध्यक्ष उपेन्द्र यादव पार्टी विभाजनपछि मोर्चाबाट अलग भएका कारण मोर्चाको गतिमा थप असर परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 5 =