एफएनसिसिआई र सिआईआईबीचको संयुक्त बैठक काठमाडौँमा सम्पन्न

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र सिआईआईबीचको संयुक्त बैठक सम्पन्न भएको छ ।

नेपाल—भारत वाणिज्य सचिवस्तरीय बैठकको लागि काठमाडौं आएको सिआईआई प्रतिनिधि मण्डलसँग महासंघले दुई पक्षीय बैठक गरेको हो ।

दुई पक्षीय वार्तामा नेपालका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र भारतीय प्रतिनिधि मण्डलको नेतृत्व संयुक्त मञ्चका सहअध्यक्ष सेन्थीलकुमाले गरेका थिए ।

दुई पक्षीय वार्तामा व्यवसायीहरूले व्यावसायिक वातावरण बनाउन आवश्यक काम गर्ने समझदारी बनाउन सरकारहरूलाई दबाब दिने निर्णय गरेका छन् । नेपाली व्यवसायीहरूले भन्सार बिन्दुमा हुने गैरभन्सार कर र गतिविधि, नेपाली गुणस्तर चिन्ह प्राप्त वस्तु र सेवाले भरतमा निर्बाध काम गर्न पाउने व्यवस्था गर्न भारतीय सरकारलाई सुझाव दिन सिआइआई प्रतिनिधि मण्डललाई आग्रह गरेको छन् ।

नेपालमा लगानीको वातावरण राम्रो रहेको सन्देश भारतीय उद्योगी व्यवसायीहरुहरुलाई दिन पनि अनुरोध गरेका छन् । नेपालको प्रमुख सहर भैरहवा र पोखरालाई हवाई कनेक्टिभिटीमा जोड्न पहल गर्न आग्रह गरेको उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले जानकारी दिए । छलफलमा भारत निर्यात हुने नेपाली वस्तुको अवरोधलाई हटाउन भारतीय पक्षको सहयोगलाई विशेष रुपमा उठाइएको बताए ।

बैठकमा जलविद्युत र नवीकरणीय ऊर्जा, पर्यटन र कनेक्टिभिटी, व्यापार र सीमापार लगानी, कृषि, सूचना प्रविधि र डिजिटल सहयोग आदानप्रदान,पूर्वाधार विकास, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा) संशोधन, अटोमोबाइल, औषधि र रसायन उद्योग, ज्ञान साझेदारी र सीप विकासका क्षेत्रमा सहकार्यमा जोड दिइएको पनि बताउनु भयो । बैठकमा नेपालका उद्योग र व्यापार क्षेत्रका अधिकांश मुद्दाहरू उठाएको बताए ।

उनले जलविद्युतको उत्पादन १० हजार मेगावाट भारतमा निर्यात गर्ने, विस्फोटक पदार्थहरूको सहज उपलब्धताका बारेमा पनि कुरा राखेको बताए । कृषिजन्य सामग्रीहरूमा भारतले लगाएको परिमाणात्मक बन्देज नेपालका लागि हुन नहुने विषयमा पनि छलफल गरेको र छलफल सकारात्मक रहेको बताए ।

बैठकमा दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपाल भारत व्यापारमा देखिएका समस्या समाधानका लागि दुवै पक्षले पहल गर्ने सहमति भएको छ । नेपाल र भारतका प्रतिनिधिहरू सहभागी बैठकले द्विपक्षीय सम्बन्धले व्यापार, लगानी, ऊर्जा सहयोग, विकास साझेदारी र जनताबीचको आदान—प्रदानलगायतका विभिन्न क्षेत्रलाई समेटेको बताइएको छ ।

नेपाल भारतका उद्योगी व्यवसायीहरूको छाता संगठनका रुपमा रहेका दुई संस्थाले नेपाल—भारत संयुक्त व्यवसायी मञ्च (जेबिएफ) बनाएर विभिन्न विषयहरूमा वार्ता गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 1 =