मानव अधिकार एलायन्स चितवनको अध्यक्षमा पत्रकार खनाल सर्वसम्मत

चितवन । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल-मानवअधिकार एलायन्स चितवनको अध्यक्षमा पत्रकार किशोर खनाल चयन भएका छन् । शुक्रबार भरतपुरमा भएको मानव अधिकार एलायन्स चितवनको छैठौँ जिल्ला अधिवेशनले खनाललाई सर्वसम्मतबाट चयन गरेको हो ।
पत्रकार खनालले दुई दशकदेखि चितवन पोष्टमा समाचार लेख्दै आएका छन् । अधिवेशनले महिला उपाध्यक्षमा कमला गजुरेल सुवेदी, उपाध्यक्षमा विनोद बर्तौला, सचिवमा चन्द्रकान्त ओझा, कोषाध्यक्षमा कृष्णबहादुर गुरुङ निर्वाचित भएका छन् । सदस्यहरुमा प्रेमनाथ सेढाईं, कोपिला दुवाडी, टीकाराम आचार्य, मदनराज घिमिरे, संगीता थापा, जमुना परियार र मीनबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।
लेखा समितिमा निरु बराल निर्वाचित भएकी छन् । अधिवेशनका प्रमुख अतिथि एलायन्स बागमती प्रदेश कमिटीका अध्यक्ष श्याम श्रेष्ठले मानव अधिकारको क्षेत्रमा चितवन एलायन्सले उल्लेखनीय काम गर्नेछ भनेर आफूले अपेक्षा गरेको बताए । ‘जिल्लामा जहाँ मानवअधिकारको हनन् हुन्छ, त्यहाँ चितवन एलायन्स पुग्नुपर्छ,’ उनले भने, ‘मानवअधिकारको रक्षामा सदैव पहरेदारको रुपमा उभिनुपर्छ ।’
कार्यक्रममा एलायन्सका पूर्व केन्द्रीय उपाध्यक्ष केशवप्रसाद रेग्मीले मानव अधिकारसम्बन्धी निर्देशिकाहरु पालना गर्दै एलायन्स चितवन अघि बढ्नुपर्ने बताए । कार्यक्रमको अध्यक्षता गरेका नारायणप्रसाद दवाडीले एलायन्स चितवनले मानव अधिकारको क्षेत्रमा काम काम गर्दै आएको र अबको जिल्ला कमिटीले पनि तदारुकताको साथ काम गर्दै जाने बताए । चितवनबाट पाँच जना प्रतिनिधि प्रदेश अधिवेशनको लागि छनौट भएका छन् ।








