छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौँ । मकवानपुर, राक्सिराङ गाउँपालिका–५ चाक्ले बगरस्थित सडकमा सु.प.प्र.०१–००१ च २९४६ नम्बरको बोलेरो पिकअप आइतबार दिउँसो दुर्घटना हुँदा बोलेरोमा सवार कैलाश गाउँपालिका–३ बस्ने ५६ वर्षीय शन्त बहादुर गोम्बाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मनहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै प्युठान, प्युठान नगरपालिका–७ टिकुरी बसपार्कस्थित सडकमा लु.९१ प १३३७ ्नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मल्लरानी गाउँपालिका–४ बासखोला बस्ने ७८ वर्षीय रामचन्द्र शाहको आइतबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।
बारा, निजगढ नगरपालिका–९ बकैयास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी २४ वर्षीय पुरूषको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको निजगढस्थित सिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका–८ स्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.७ प ४०६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक भारत महारागंज ठुटेबारी बस्ने ३२ वर्षीय जितेन्द्र बासफोरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।








