सामसङ इनोभेसन क्याम्पसद्वारा ३० जना विद्यार्थीलाई एआईमा प्रमाणपत्र वितरण, ६० नयाँ कोडिङ विद्यार्थीलाई स्वागत

काठमाडौँ । आफ्नो विश्वव्यापी सीयसआर पहल सामसङ इनोभेसन क्याम्पस मार्फत सामसङ नेपालले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्ष पूरा गरेका ३० विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ ।
पुलचोक क्याम्पसमा आयोजित समारोहमा सामसङ नेपालले इन्स्टिच्युट अफ इन्जिनियरिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्ष पूरा गरेका ३० विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको हो ।
साथै, कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याचमा प्रवेश गर्ने ६० जना विद्यार्थीहरूलाई पनि स्वागत गरेको छ ।
सन् २०२२ मा सुरु भएदेखि, एसआईसीले युवाहरूलाई चौथो औद्योगिक क्रान्तिको लागि आवश्यक सीपहरू प्रदान गरी भविष्यका लागि तयार हुने सामसङको ‘टुगेडर फर टुमरो! इन्एबलिंग पिपल’ को उद्देश्यलाई अघि बढाउन निर्णायक भूमिका खेलेको कम्पनीले जनाएको छ । लगभग पाँच महिनाको दौरानमा सम्पन्न भएको यो एआई पाठ्यक्रम, उन्नत एआई अवधारणाहरू र व्यावहारिक अनुप्रयोगहरूमा केन्द्रित रहेको थियो ।
प्रमाणपत्र वितरण समारोहमा सामसङ नेपालका प्रमुख इन सु किम, त्रिभुवन विश्वविद्यालयका, पुलचोक क्याम्पस त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका क्याम्पस प्रमुख डा इन्द्रप्रसाद आचार्य, त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग के।सी र डिन प्रा डा सुशील बी बज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।
‘सामसङमा, ‘टुगेडर फर टुमरो! इन्एबलिंग पिपल’ को हाम्रो उद्देश्यले हामीलाई नवप्रवर्तन र शिक्षा मार्फत युवाहरूलाई सशक्तीकरण गर्न प्रेरित गर्ने गर्दछ । यी विद्यार्थीहरूको समर्पण देखेर र उनीहरूको उपलब्धिहरू मनाउन पाउँदा हामीलाई गर्व लाग्छ । तिनीहरूले भविष्यमा सिर्जना गर्ने प्रभाव देखेर हामी उत्साहित छौं,’ इन सु किमले भने ।
कार्यक्रमको पाठ्यक्रमले एआई, आईओटि, बिग डाटा, र कोडिङमा उन्नत प्राविधिक प्रशिक्षण गर्नुको साथै समस्या समाधान र रचनात्मकता जस्ता आवश्यक सफ्ट–स्किलहरूलाई पनि जोड दिने जनाइएको छ ।
त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफइन्जिनियरिङका डीन प्रा डा सुशील बी बज्राचार्यले कार्यक्रमको परिवर्तनकारी प्रभावलाई उल्लेख गर्दै भने, ‘एआई पाठ्यक्रमको सफल समापन हाम्रा विद्यार्थीहरूलाई यस कार्यक्रमले ल्याएको ठूलो मूल्यको प्रमाण हो । नेपालको युवाहरूमा नवप्रवर्तनलाई बढवा दिन सामसङको प्रयासलाई गहिरो सराहना गरिन्छ, र हामी निरन्तर सहयोगको लागि तत्पर छौं ।’
कम्पनीका अनुसार आगमन ब्याचको लागि डिजाइन गरिएको कोडिङ र प्रोग्रामिङ पाठ्यक्रमले विद्यार्थीहरूलाई एल्गोरिदम, डेटा संरचना र वास्तविक संसारको प्रोग्रामिङमा आधारभूत र उन्नत ज्ञान प्रदान गर्नेछ । यस पहलको उद्देश्य नेपालमा एक बलियो नवप्रवर्तन इकोसिस्टमको पालनपोषण गर्नु रहेको जनाइएको छ । जसले विद्यार्थीहरूलाई विकसित डिजिटल परिदृश्यमा फस्टाउन तयार पार्नेछ ।








