आज दिनभर के-के भए ? पढ्नुहोस् प्रमुख २० समाचार

संस्कृतिको जगेर्ना फुटेर होइन, जुटेर गरौँ : उपप्रमुख डंगोल
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संस्कृतिको जगेर्ना गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छन् ।
आइतबार वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशलाई आर्थिक रुपमा सम्पन्न बनाउन र देशको संस्कृतिको जगेर्ना गर्न फुटेर नभइ सबै जुटेर अघि बढ्नुपर्ने बताइन् ।
उनले ज्यापु समुदायका विभिन्न संस्कृतिमात्र नभएर नेवारसमुदायभित्र रहेका विभिन्न जातजातिका पर्वहरुको उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले देशभरका विभिन्न जातजातिका पर्वहरुलाई पनि उत्तिकै महत्व दिनुपर्ने बताउनु भयो । सांस्कृतिक महत्व बोकेका पर्व, जात्रा सँगसँगै बोलिने भाषा र लेखिने लिपीलाई जीवित राख्नु आजको आवश्यकता भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले देशलाई आर्थिक रुपमा अघि बढाउन र देशको संस्कृतिको जगेर्ना गरिरहने हो भने फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ । सबैजना एकजुट भएर लाग्नुपर्छ । ज्यापु समुदायका विभिन्न संस्कृतिमात्र नभएर नेवारसमुदायभित्र रहेका पनि विभिन्न जातजातिका पर्वहरुको उत्तिकै महत्वपूर्ण भुमिका छ । यि सबै पर्वलाई हामीले एकजुट भएर मान्ने र देशभरका विभिन्न जातजातिका पर्वहरुलाई पनि उत्तिकै महत्व दिनुपर्छ । सांस्कृतिक महत्व बोकेका पर्व, जात्रा सँगसँगै हामीले बोलिने भाषा, लेखिने लिपीलाई पनि जीवित राख्नु आजको आवश्यकता हो ।’
उपप्रमुख डंगोलले नेपालका संस्कृतिहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
संघीयतालाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुन्छः गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुने बताउनुभएको छ ।
आइतवार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान संशोधनको विषयमा दुई राजनीतिक दलहरुले प्रारम्भिक छलफल शुरु गरिसकेको बताउनु भयो ।
उहाँले संविधान संशोधन दुई वटा राजनीतिक दलहरुले गरेर मात्रै नहुने भन्दै दुई राजनीतिक दलहरुको पहलमा सबै राजनीतिक दलहरुसँगको समन्वयबाट हुने बताउनु भयो ।
संविधानको अभ्यासका क्रममा देखिएका सबल र दुर्बल पक्षलाई छनोट गर्ने र सबै राजनीतिक दलहरुबीच सहमतिका साथ संविधान संशोधन गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले संविधान संशोधनको कुरा गरेका छौँ । संविधान संशोधनलाई विभिन्न हिसावले व्याख्या हुने गरेको छ । हामीले संविधान संशोधन गर्ने भनेको पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप राम्रो, थप सुदृढ र थप बलियो बनाउनका लागि गर्ने भनेको हो । हामीले संविधान संशोधनको विषयलाई पनि दुई राजनीतिक दलहरुले प्रारम्भिक छलफल शुरु गरेका छौँ । तर संविधानको संशोधन दुई वटा राजनीतिक दलहरुले गरेर मात्रै हुने होइन, हामी संविधानको १० वर्षको अनुभवको समीक्षा गर्दछौँ । महत्वपूर्ण विषयहरु संविधानको अभ्यासका क्रममा देखिएका सबल र दुर्बल पक्षलाई छनोट गर्दछौँ । सबै राजनीतिक दलहरुसँग वार्ता, संवाद, छलफल गरेर सबै दलहरुका बीचमा सहमतिका साथ संविधान संशोधन गर्दछौँ । यो हाम्रो मार्गचित्र स्पष्ट छ । त्यसो भएको हुनाले दुई दलले मात्रै संविधान संशोधन गर्ने होइन, तर कसै न कसैले त पहल त गर्नुपर्यो । हामी दुई दल पहल अघि बढाउँछौँ । यसका लागि प्रारम्भिक छलफल भएको छ । हामी सबै राजनीतिक दलहरुलाई समेटेर संविधान संशोधन गर्दछौँ ।’
गृहमन्त्री लेखकले वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताउनु भयो । एमाले र काँग्रेसबीच भएको सहमतिअनुसार नै वर्तमान सरकार अघि बढ्ने बताउनु भयो ।
बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो ।
निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६२ रुपैया तोकेको छ ।
यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ५१ रुपैयाँ निर्धारण गरिएको छ ।
निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल तोकेको छ । डिपोदेखि १५ किलोमिटरसम्मका लािग पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ २८ पैसा बढेको र डिजेलमा प्रतिलिटर एक पैयाँ ४८ पैसा घटेकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।
विद्युतीय सवारीसाधन आजको आवश्यकताः भौतिकमन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विद्युतीय सवारीसाधन आजको आवश्यकता र माग भएको बताउनुभएको छ ।
आइतवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्युतीय सवारी साधनको जोडमा मन्त्रालय लागिपरेको उल्लेख गर्नुभयो ।
उहाँले विद्युतीय सवारीसाधन मात्रै पूरा समाधान नभएको पनि उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय ब्याट्री डिस्पोजका समस्या धेरै उठिरहेको बताउनु भयो । उहाँले त्यसको व्यवस्थापन संसारका लागि नै चुनौति बनिरहेको बताउनु भयो । उहाँले सरकार अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ फर्काउन कोशिस गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘इलेक्ट्रिक भेकल आजको आवश्यकता हो । र माग पनि हो । मन्त्रालयले यसको पूर्वाधार र ब्याकअप विकासमा जोड दिइरहेको छ । हुनतः इभी नै पूरा समाधान त होइन, किनभने यसका पनि धेरै प्रश्नहरु उठेका छन् । जस्तो ब्याट्री डिस्पोजका समस्या आज ज्वलन्त रुपले उठिरहेको छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेकुरा पनि उठेको छ । यसमा हामीले ध्यान दिइरहेका छौँ । तर यो विषय पनि आत्तिहाल्नुपर्ने विषय छैन । ग्लोवल्ली समस्या हो । यसबारेमा चर्चा भइरहेको छ । यसको निकास अवश्य नै निस्केला । नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ फर्काउन हामी कोशिस गरिरहेका छौँ ।’
मन्त्री दाहालले राज्य र निजी क्षेत्रबीचको सम्बन्ध सुमधुर हुनुपर्ने बताए ।
भ्रष्टाचारको मुद्दामा पाँच वर्षभित्रै कारबाही हुनेगरी बनाइएको विधेयक पास गर्न दिइएनः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको उजुरी परेको पाँच वर्षभित्र कारबाही हुनुपर्ने गरी विधेयक पास गर्न नदिइएको बताउनुभएको छ ।
आइतवार वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूहरुले भ्रष्टाचारको मुद्दामा पाँच वर्षभित्र कारबाही गरिसक्नुपर्ने आवाज उठाइए पनि ऐन पास गर्न नदिइएको बताउनुभएको हो ।
उहाँले भ्रष्टाचारको उजुरी परेको कहिलेसम्म कारबाही चलाउने भन्ने व्यवस्था नरहेकाले ढिलोमा ५ वर्षभित्र कारबाही गर्नैपर्ने गरी व्यवस्था गर्न लागेकोमा जननिर्वाचित प्रतिनिधिहरुबाट अस्वीकार भएको बताउनु भयो ।
उहाँले भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा भ्रष्टाचारको मुद्दामा अब उजुरी अल्झाएर ५० सौँ वर्षसम्म पनि मुद्दा चलाउन नपर्ने गरी विधेयक बनाइएको बताउनु भयो ।
भ्रष्टाचारको उजुरी परेपछि तत्काल कारबाही हुुनपर्ने बताउनु भयो । कथं कदाचित ढिलो भएपनि ५ वर्षभित्र त्यसको छिनोफानो भएको हुनुपर्ने र लम्ब्याएर त्यत्तिकै छोडिदिन नपाइने व्यवस्था राखिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अस्ति ऐन एउटा हामीले बिगारेरै पास गर्नुपर्यो । के बिगार्नुप¥यो भने भ्रष्टाचारमा उजुरी परेको कहिलेसम्ममा कारबाही चलाउनैपर्ने भन्ने केही छैन । अहिले पनि १०/१५/२० वर्ष अगाडिका उजुरीहरु त्यत्तिकै छन् । त्यसकारण हामीले के भन्यौँ भने १५/२० वर्ष अगाडिका उजुरीहरु त्यत्तिकै राखेर बस्न पाइँदैन । भ्रष्टाचारमा उजुरी परेको छ, मान्छे बुढो भइसक्यो, बितेर गइसक्यो, न सफाई पाएको छ, न कारबाही भएको छ । यस्तो हुनु हुँदैन । त्यसकारण ढिलोमा पनि ५ वर्षभित्र भ्रष्टाचारको उजुरी परेको ५ वर्षभित्र कारबाही भएकै हुनुपर्छ भनेर, त्यसको छिनोफानो भएकै हुनुपर्छ भनेर हामीले कुरा गर्यौँ। ५ वर्षमा पनि कारबाही नचलाउने, ए पाँच वर्ष छोडिदिने भनेर कुरा गरे । छोड्ने भनेको छैन, ५ वर्षभित्र कमसे कम कारबाही टुंग्याएको हुनुपर्छ । चलाएको हुनुपर्छ, हामीले त्यो भनेको हो । ५ वर्ष भन्यो भनेर त्यो हटाउन बाध्य बनाए । अब जहिले मुद्दा उजुरी परेको २० वर्ष ५० वर्षपछि जहिले हेरेपनि हुन्छ, नहेरेपनि हुन्छ । किनभने जनताले त्यही भन्यो, लहैलहै त्यही चल्यो, हुइँया त्यही मच्चियो । हामीले त्यही पास गरिदियौँ । ५ वर्षसम्म पनि कारबाही नगर्ने, हल्लै हल्लाहको देश भएपछि । हल्लै हल्लामा चलेपछि । के गर्ने ? ५ वर्ष हटाउ । उजुरी परेपछि तत्काल कारबाही गर्नुपर्दछ । कथं कदाचित ढिलो भएपनि ५ वर्षभित्र त्यसको छिनोफानो भएको हुनुपर्छ । त्यसलाई लम्ब्याएर त्यत्तिकै छोडिदिन पाइँदैन ।’
प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता भाँड्नका लागि पनि हल्ला चलाइने गरेको भन्दै सचेत रहनुपर्ने बताउनु भयो । सरकार देशमा सुशासन कायम गर्ने, विकासको बाटोमा लैजाने दिशामा अघि बढिरहेको बताउनु भयो ।
नेपाली काँग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी होः उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी भएको बताउनुभएको छ । आइवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस नेपालमा इतिहास बोकेको पार्टी भएको बताउनु भयो ।
उहाँले इतिहास बोकेको पार्टीको महत्वको बारेमा ख्याल राखेर अघि बढ्न पार्टीका नेता÷कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले नेपाली काँग्रेसल जनतालाई अधिकार दिलाउन नेपालमा अग्रणी भुमिाका खेल्ने पार्टी भएको उल्लेख गर्दै अरु पार्टीको भन्दा जनताले बेग्लै किसिमले नेपाली काँग्रेसप्रति आशाको रुपमा हेर्ने गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी नेपाली काँग्रेस पार्टीको क्रियाशिल सदस्य हो । क्रियाशिल सदस्य भएपछि नेपाली काँग्रेस पार्टी इतिहास बोकेको पार्टी हो । यो पार्टीको महत्वको बारेमा हामीले अलि ख्याल राख्नुपर्यो । जनतालाई अधिकार दिलाउन त्यो आइडिया नेपालमा बीजारोपण मात्रै होइन, बीजारोपण गरेर त्यसका लागि लडेको पार्टी भएर नेपाली काँग्रेस पाल्टिकली अधिकार दिलाउनमा अरु पार्टीको भन्दा जनताले बेग्लै किसिमले नेपाली काँग्रेसप्रति आशाको रुपमा हेर्छन् भन्नेकुरा बिर्सिनु हुँदैन ।’
उपप्रधानमन्त्री सिंहले नेपाली जनताले नेपाली काँग्रेसप्रति आशाको रुपमा हेर्ने गरेको बताउनु भयो ।
तीन खेलमा जित नजिक पुगेर खेल गुमाउँदा फरक नतिजा आयो– विराटनगरका प्रशिक्षक केभिन
विराटनगरका किङ्सका प्रशिक्षक केभिन ओ ब्रायनले तीन खेलमा जित नजिक पुगेर पनि खेल गुमाउनु परेकोले प्लेअफमा पुग्न असफल भएको बताएका छन् ।
काठमाडौं गुर्खाजसँग हार व्यहोर्दै एनपिएलको पहिलो सिजन यात्रा टुङ्गाएपछि प्रशिक्षक केभिनले कन्डिसनलाई राम्ररी बुझेर खेल्न नसक्दा असफल भएको बताएका हुन् । उनले कठिन परिस्थितिमा सही निर्णय लिन पनि समस्या भएको उल्लेख गरे । बलिङ, ब्याटिङ र फिल्डिङमा पनि सतशप्रतिशत इफोर्ट लगाउन नसकेको उनको भनाइ छ । उनले पहिलो ३÷४ खेलमा ब्याटिङमा पनि आफ्नो टोलीले संघर्ष गर्नुपरेको उल्लेख गरेका छन् । विकेट बुझ्न विदेशी खेलाडीका लागि गाह्रो परेको उनी बताउँछन् ।
कप्तान सन्दीप लामिछाने विकेट लिन नसक्दा पनि टोलीमाथि दबाब परेको हो भन्ने प्रश्नमा उनले एउटा बलरलाई मात्र दोष दिन नहुने र पछिल्ला खेलमा सन्दीपले पनि राम्रो गरेको उल्लेख गरे ।
केही खेलाडी विराम हुँदा पनि समस्या परेको उनको भनाइ छ । उनले प्रतियोगिता छोटो रहेकाले फर्ममा नरहेका खेलाडीको लयमा फर्किन पनि समय लागेको बताएका छन् । सन् २०१८ मा एभरेस्ट प्रिमियर लिग खेल्न आउँदाको समयभन्दा अहिले धेरै राम्रो घरेलु खेलाडीहरू रहेको उनी बताउँछन् । उनीहरूको प्रदर्शनमा पनि धेरै विकास आएको उनको विश्वास छ ।
काठमाडौंका कप्तान करण केसीले १२ औं ओभरभित्र खेल जित्दै प्लेअफमा पुग्न नेट रनरेटमा सुधार गर्ने लक्ष्य भएपनि सफल नभएको बताए । तर, ब्याटिङमा धराशयी हुँदा योजना सफल हुन नसकेको उनले बताए । करणले बलिङमा राम्रो गरे पनि ब्याटिङ राम्रो हुन नसकेको बताए । उनले इङ्लिस ब्याटरलाई टोलीमा अनुबन्धित गर्नु खराब निर्णय नभएको पनि उल्लेख गरे । तर, पिचको कन्डिसनमा बुझ्न नसक्दा इङ्लिस ब्याटरलाई सहज नभएको उनको भनाइ छ । उनले सुरुमा कर्णाली याक्सलाई बलियो देखे पनि सुदूपश्चिमले धेरै राम्रो क्रिकेट खेलिरहेको बताएका छन् ।
किराँत समुदायमा उधौँलीको रौनक
किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आजदेखि शुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौँली चाड मनाउने चलन छ ।
पन्ध्र दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा आज ललितपुरको सानो हात्तीवनमा भेला भएर किराँती पूर्खा, धामीहरूले प्रकृतिको पूजा आराधना गरी उँधौली चाडको शुरुवात गरेका हुन् । वर्षको दुईपटक मनाइने साकेला चाडको उँधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ ।
एमाले राजनीति गर्न नभइ देश बनाउन बनेको पार्टी हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभइ देश बनाउनका बनेको बताउनुभएको छ ।
आइतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशालामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले एमाले जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्भिएको पार्टी भएको उल्लेख गर्नुभयो ।
उहाँले देशमासकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रुपहरुमध्ये उच्चतम रुमपा पुर्याउनका लागि एमाले बनेको बताउनु भयो । नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले कामहरु गरिरहेको बताउनु भयो । उहाँले परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न नेता कार्यकर्ताहरुलाई निर्देशनसमेत दिनुभयो ।
उहाँले भन्नुभयो, ‘परिस्थितिमा परिवर्तन ल्याउने गरी नै यहाँबाट फर्किएर गएर यसलाई व्यवहारिक, मूर्त रुप दिने काम गर्नु हुनेछ । मैले विश्वास लिएको छु । हाम्रो पार्टी जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्भिएको पार्टी हो । यो राजनीति गर्न बनेको पार्टी होइन । यो देश बनाउन बनेको पार्टी हो । देशमा परिवर्तन ल्याउन, सकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रुपहरुमध्ये उच्चतम रुमपा पुर्यउनका लागि यो पार्टी बनेको हो । जहाँ जनता अधिकार सम्पन्न हुन् । गरिबी हुनु भएन । गरिबी निवारण हुनुपर्यो, खान लगाउन जनाले पाउनुपर्यो । मुख्य अधिकार त त्यो हो नि । बाँच्न पाउने अधिकार मुख्य कुरा हो । जनताले सजिलोसँग बाँच्न पाउनुप¥यो । बाँच्नका लागि खान, लगाउन, बस्न पाउनुपर्यो ।’
प्रधानमन्त्री ओलीले जनताले सजिलोसँग बाँच्न पाउनुपर्ने एमालेको मुख्य एजेण्डा रहेको बताउनु भयो ।
एनपिएलः सुदूरपश्चिम शिर्षमा रहँदै पहिलो क्वालिफायरमा
सुदूरपश्चिम रोयल्सले आईतवार पोखरा एभेन्जर्समाथि नाटकीय जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफसँगै पहिलो क्वालिफायरमा स्थान बनाएको छ ।
जितको संघारमा देखिएको पोखराबाट जित निकालेपछि सुदूरपश्चिम एनपिएलको शिर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको हो । पोखराले जितका लागि अन्तिम सात बलमा आठ रन मात्र आवश्यक थियो ।
प्लेअफ होडबाट बाहिरिसकेको पोखरासँग चार विकेट पनि हातमा हुँदा जित सम्भव देखिन्थ्यो । तर खातामा थप दुई रन जोड्दा चार विकेट नै गुमाउँदै पोखरा नतिजा सुम्पिन पुग्यो । अन्तिम ओभरमा स्कट कुजेलिनले दुई विकेट लिए । एक विकेट रनआउटका रूपमा प्राप्त गरेको थियो । त्यसअघि १९ औं ओभरको खेल रोमाञ्चक र निर्णायक रह्यो ।
आक्रामक ब्याटिङ गरिरहेका रेमन रेइफर्ट ३३ रन र माइकल लिस्क ५ रनमा आउट भए । हरमित सिंहले यी दुवै विकेट लिँदै सुदूरपश्चिमलाई खेलमा फर्काएका हुन् । डेथ ओभरमा पनि उत्कृष्ट बलिङ गरेपछि सुदूरपश्चिमले लक्ष्य जोगाएको हो । जितसँगै सुदूरपश्चिम ६ खेलबाट १० अंक जोड्दै शिर्ष स्थानमा उक्लियो । अब सुदूरपश्चिमले लिगकै अन्तिम खेलमा कर्णाली याक्ससँग खेल्नेछ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा सात विकेट गुमाउँदै १४८ रन मात्र जोड्न सक्यो ।
पोखराका ओपनरद्वय आन्द्रियस गौसले ३६ रन र दिनेश खरेलले १५ रन जोडे । गौसले २१ बलमा चार चौका र दुई छक्का हिर्काउँदै राम्रो शुरुवात दिलाए । तर कप्तान कुशल भुर्तेल शुन्यमा र दिलीप नाथ १ रनमा आउट भए । तर आठौं ओभरमा आन्द्रियस र ११ औं ओभरमा जेन मलिक १० रनमा पेभेलियन फर्किए । यससँगै पोखरामाथि दबाब प¥यो । १० ओभरको खेल सकिँदा ६७÷४ को अवस्थामा थियो । तर त्यसपछि ब्याटिङमा आएका रेइफर्ट र किरण ठगुन्नाले इनिङ समाल्दै जित सम्भावना बढाए पनि सफल भएन । यी दुईले छैटौं विकेटका लागि ७० रनको साझेदारी गरे ।
तर १९ औं ओभमार रेमन र २०औं ओभरमा किरण आउट भए । रेमनले २८ बलमा समान दुई चौका र छक्का हिर्काए । किरणले पनि २८ बलमा तीन चौका र एक छक्का प्रहार गरे । सुदूरपश्चिमको बलिङमा स्कटले ३.५ ओभरमा पाँच विकेट लिए । उनले एक मेडन राख्दै १८ रन मात्र दिए । हरमितले तीन र सैब जैबले एक विकेट निकाले । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सात विकेट गुमाएर १५३ रन बनायो ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५३ रन बनाएको थियो । सुदूरपश्चिमका आरिफ शेखले सर्वाधिक ४२ रन बनाए । उनले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गरे । आरिफ र दिपेन्द्रले पाँचौं विकेटको लागि ४१ रनको साझेदारी गरेका थिए । यो नै सर्वाधिक ठूलो साझेदारी रह्यो । ब्रान्डन म्याकमुलन २३, कप्तान दीपेन्द्रसिंह ऐरी २०, बिनोद भण्डारी १४, हरमित १३ र ईशान पाण्डे १० रन बनाए । पोखराको बलिङमा कप्तान कुशलले दुई विकेट लिए । रेमन, सागर ढकाल र लिस्कले समान एक विकेट निकाले ।
एनपिएलः काठमाडौंको जितसँगै प्लेअफ यात्रा अझै खुला
काठमाडौं गुर्खाजले विराटनगर किङ्समाथि रोमाञ्चक जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ सम्भावना कायमै राखेको छ । त्रिवि क्रिकेट मैदानमा लिगको आफ्नो अन्तिम खेलमा काठमाडौंले विराटनगरमाथि एक विकेटको जित निकाल्दै प्लेअफ सम्भावना कायमै राखेको हो ।
जितले मात्रै काठमाडौंको प्लेअफ सम्भावना कायमै राख्दथ्यो । पराजित हुँदा काठमाडौंको सम्भावना सकिँदा प्लेअफमा पुग्ने सबै टोलीको पनि टुङ्गो लाग्ने समीकरण थियो । तर काठमाडौंले जित निकाल्दै प्लअेफ होडलाई लम्ब्याएको हो । विराटनगरले दिएको ११८ रनको सामान्य लक्ष्य पाएपनि काठमाडौंले ९ विकेटको क्षतिमा १८.१ ओभरमा संघर्षपूर्ण जित निकाल्यो ।
मध्यक्रमका शंकर राना र पुछारका ब्याटर दीपेश कँडेलले धैर्यपूवर्क ब्याटिङ गरेपछि विराटनगरको लक्ष्य पूरा भएन । यी दुईले दशौं विकेटका लागि १८ रनको साझेदारी गरे । शंकर १६ रन र दीपेश ११ रनमा अविजित रहे । शंकरले २० बलमा एक चौका तथा दीपेशले पाँच बलमा समान एक चौका र छक्का हिर्काए । त्यसअघि काठमाडौंको शुरुवात निकै खराब रह्यो । पावरप्लेमा ३९ रन जोड्दा काठमाडौंका पाँच ब्याटर पेभेलियन फर्किसकेका थिए । मध्य क्रमका ब्याटर प्रतिक श्रेष्ठले ३९ रन जोड्दै इनिङ अगाडि बढाए ।
उनले छैटौं विकेटका लागि रासिद खानसँग २७ रनको साझेदारी गरे । यो नै काठमाडौंका लागि सर्वाधिक ठूलो साझेदारी रह्यो । रासिदले १४ रन जोड्दा माइकल लेभिट १० र जेरार्ड इरासमसले १२ रनको योगदान दिए । काठमाडौंले अतिरिक्त १३ रन पाएपछि थप सहज पनि बन्यो । विराटनगरको बलिङमा कप्तान सन्दीप लामिछानेले तीन विकेट लिँदा अनिल खरेल, बसिर अहमद र क्रिस सोलले समान दुई विकेट लिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको विराटनगरले १९.५ ओभरमा ११७ रनको सामान्य योगफलमा नै अलआउट भयो । विराटनगरले पावर प्लेमा ४५ रन जोड्दा दुई विकेट मात्र गुमाएको थियो ।
तर खातामा थप ४५ रन जोड्दा थप ६ विकेट नै गुमाएपछि विराटनगरको इनिङ कमजोर भएको हो । राजेश पुलामी मगरको २५ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । ओपनर दीपक बोहोराले २० रन, स्कट इडवार्डले १५, बसिरले १३ र निकोलसन किर्टनले १२ रनमा नै आउट भए । काठमाडौंको बलिङमा जेरार्डले तीन विकेट लिँदा दीपेशले दुई, साहब आलम, करण केसी र डान डाउथवेटले समान एक विकेट लिए ।
२७ वर्षदेखि बन्द टिकापुर विमानस्थल अब नियमित सञ्चालनमा
कैलालीको टिकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आइतवारबाट सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनमा आएको हो । आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित ५ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो पौने २ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान शुरू भएको छ ।
पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाईंलगायतले स्वागत गर्नुभएको थियो ।
विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै टिकापुर नगरपालिकाका प्रमुख प्रमुख थारुले टिकापुरको विमानस्थल ओझेलमा परेको र आझेलमा परेको विमानस्थल जसरी पनि चलाउनुपर्ने भनेर आफू लागिपरेको बताउनु भयो । उहाँले फलतः अहिले विमानस्थल सञ्चालनमा आएको र टिकापुरकै सम्पती भएको बतउनु भयो । पटक पटकको छलफलबाट विमानस्थल सञ्चालनमा ल्याउन सफल भएको बताउनु भयो ।
विमान अवतरणका क्रममा सयौँको सङ्ख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए ।
नेपाल स्काउटसँग खड्का ल्याण्ड डेभलपमेण्टको विवाद कानूनी रुपले मसँग जोडिएको छैनः ऊर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल स्काउटसँग खड्का ल्याण्ड डेभलपमेण्टको विवाद कानूनी हिसावले आफूसँग नजोडिएको बताउनुभएको छ ।
नेपाल स्काउट र मन्त्री खड्काको कम्पनी खड्का ल्याण्ड डेभलपमेण्ट बीचको विवाद यति बेला उत्कर्षमा छ । मन्त्री खड्काको कम्पनीले नेपाल स्काउटको लैनचौरस्थित ३ रोपनी जग्गा र दुई वटा भवन भाडामा लिएर लामो समयदेखि व्यापार गर्दै आएको थियो । तर मन्त्री खड्काको कम्पनीले भाडा बापत पैसा उठ्न नसक्दा स्काउटलाई पैसा तिर्न नसकेको मन्त्री खड्काले बताउनु भयो ।
उहाँले पछिल्लो समय नियोजित रुपमा आफू संग्लन नभएको कम्पनीको कारोबारमा आफ्नो नाम जोडेर समाचारहरु आएको बताउनु भयो । उहाँले स्काउटसँग जोडर आएका समाचार नियोजित भएको बताउनु भयो । उहाँले आफूले मन्त्री भएर गरेका राम्रो काम देख्न नचाहनेहरुले राजनीतिक चरित्र हत्या गर्ने र मन्त्रीबाट हटाउने योजनाका साथ समाचारहरु आएको बताउनु भयो । उहाँले स्काउट ऋणमा पुगेपछि टेण्डर प्रक्रियाबाट जग्गा र भवन प्रतिस्क्वयर फिट ४७ रुपैयाँमा महिनाको २५ लाख भाडा तिर्नेगरी लिएको बताउनु भयो ।
उहाँले आफू कम्पनीमा हुँदा समेत भाँडाको समस्या नभएको तर कोभिडको समयमा सटर बन्द हुँदा भाडा उठाउन नसक्दा स्काउटलाई भाडा तिर्न नसकेको स्वीकार गर्नुभयो ।
उहाँले भन्नुभयो,‘स्काउटसँग मलाई जोडर समाचार आउनु नियोजित हो । केही गर्न खोज्दा मान्छेहरुलाई भुडिपोल्ने भएको कारणले राजनीतिक चरित्र हत्या गर्ने सोचका साथ मन्त्रीबाट हटाउन पाए हुन्थ्यो भनेर मात्रै समाचारहरु आएका हुन् । स्काउट ऋणमा पुगेपछि मैले टेण्डर प्रक्रियाबाट भाडामा जग्गा लिएको हो । मैले प्रतिस्क्वायर फिट ४७ रुपैयाँ र महिनाको २५ लाख भाडा तिरेर बसेको हो । म स्काउटको जग्गा लिने कम्पनीमा म हुँदासम्म समस्या थिएन । तर स्काउटले विद्युत लाइन काट्ने,गेटमा चाबी लगाउने लगायतका काम निरन्तर भइरहेका थिए । संसदमा पनि यो विषयले प्रवेश पाएको हो । कोभिडको कारणले सटर भाडा तिर्न नसकेको कारण भाडा बुझाउन नसकेको हो । ४ करोड रुपैयाँ उठान र ३ करोड तिर्न बाँकी रहेको थियो । महिनाको २५ लाख रुपैयाँ भाडा भएपछि दुई वर्षमा ३ करोड पुग्नु ठूलो कुरा भएन । एक महिनाको भाडा तिर्दा तीन महिनाको भाडा तिर्न सक्दैनन् । सामान्य भाडा लिने र दिनेको कुरा राष्ट्रिय पत्रिकाहरुमा आउनुको पछाडी केही छ । मसँग कानूनी हिसावमा जोडिँदैन ।’
स्काउटले विद्युत लाइन काट्ने,गेटमा ताल्चा लगाउने लगायतका काम निरन्तर भइरहेकाले विवाद बढेको बताउनु भयो । उहाँले कम्पनीले ४ करोड रुपैयाँ भाडा उठाउन बाँकी रहेको भन्दै ३ करोड रुपैयाँ स्काउटलाई तिर्न बाँकी रहेको बताउनु भयो ।
लम्बियो एकीकृत समाजवादीको स्थायी कमिटिको बैठक, नेताहरुको कार्यविभाजन सोमवार
नेकपा (एकीकृत समाजवादी)का केन्द्रिय सदस्यहरुको कार्यविभाजन सोमवार मात्र हुने भएको छ ।केन्द्रिय सदस्यहरुको कार्यविभाजन टुंग्याउन मंसिर २६ गतेबाट शुरु भएको पार्टी स्थायी कमिटिको बैठकमा आजसम्म पार्टीको अगामि कार्ययोजनाबारे छलफल भएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार आज बैठकमा नेताहरुले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा धारणा राख्नुभएको छ । उहाँले भोलि बस्ने बैठकमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसाल आफ्नो धारणा राख्दै बैठक टुंग्याउने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो बैठकमा हाम्रा मुख्यः दुई एजेण्डाहरु छन् । एउटा, पार्टीको अगामि कार्ययोजना र अर्को एजेण्डा केन्द्रिय सदस्यहरुको कार्यविभाजन । आजसम्म हामीले पार्टीको कार्ययोजनाको बारेमा छलफल गरेका छौं । स्थायी कमिटिा सबै सदस्यहरुले लगभग बोलिसक्नु भएको छ । अब पार्टी अध्यक्ष र समासचिवले आफ्नो धारणा राख्ने, उहाँहरुको विचारहरुप्रति स्पष्टिकरण दिने र निष्कर्षमा पुग्ने काम बाँकी छ । त्यो भोलि हुन्छ । अनि हामी कार्य विभाजनको प्रस्तावमा छलफल गर्छौं । त्यो कार्यविभाजन भोलि सकिन्छ ।’
सोमवारको बैठकमा नेताहरुको जिम्मेवारी तोक्ने र पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतको विषयमा पनि निर्णय लिनेछ ।
अर्धसैनिक बलको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइतेः सुडानी सेना
पश्चिमी सुडानको आवासीय भवन र विस्थापन शिविरहरूमा अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) द्वारा भएको आक्रमणमा कम्तिमा ४५ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य २८ जना घाइते भएको सुडानी सेनाले जनाएको छ ।
विद्रोही मिलिशियाले एल फशरको दक्षिणी क्षेत्र, शहरको दक्षिणमा जम्जाम विस्थापन शिविर र उत्तरमा अबु शौक शिविरमा रहेको आवासीय क्षेत्रलाई निशाना बनाएको थियो । आरएसएफले आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी जारी गरेको छैन ।
मे १० देखि, पश्चिमी सुडानको उत्तरी डार्फर राज्यको राजधानी एल फशरमा एसएएफ र आरएसएफबीच भीषण झडप भएको छ । मध्य अप्रिल २०२३ देखि सुडान द्वन्द्वले ग्रसित छ । यस घातक द्वन्द्वको परिणाम स्वरूप २७ हजार भन्दा बढीको मृत्यु भएको छ भने सुडान भित्र वा बाहिर १ करोड ४० लाख मानिस विस्थापित भएका छन् ।
इजरायली आक्रमणबाट गाजामा ३० प्यालेस्टाइनीको मृत्यु
गाजा पट्टीमा एक नगरपालिका भवन, तीन विद्यालय विस्थापित मानिसहरूको आवास र आवासीय घरहरूमा इजरायली हवाई आक्रमणमा ३० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् । इजरायली विमानले मध्य गाजाको देइर अल–बालाह नगरपालिकाको भवनलाई निशाना बनाएको स्थानीय स्रोतले बताए । यसैबीच इजरायली युद्धक विमानहरूले गाजा शहरको अल–जला स्ट्रिटमा विस्थापित मानिसहरूलाई आश्रय दिने अल–मजिदा वासिला विद्यालयलाई मिसाइलले निशाना बनाएका थिए ।
गाजा सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालले आक्रमणमा सात जनाको मृत्यु भएको छ र अन्य २० जना घाइते भएका छन् । एम्बुलेन्स र सिभिल डिफेन्सका कर्मचारीहरूले घाइतेहरूलाई शहरका अस्पतालहरूमा स्थानान्तरण गरेका थिए । बसालले पीडितहरूमा आमा र उनको नवजात शिशु रहेको उल्लेख गर्नुभयो ।
बलौसाको हत्यासँगै गत वर्ष इजरायल–हमास द्वन्द्व शुरु भएदेखि मारिने पत्रकारको संख्या १९० पुगेको हमासद्वारा सञ्चालित गाजा सरकारी मिडिया कार्यालयले जारी गरेको छ ।
इजिप्टका राष्ट्रपति र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारबीच क्षेत्रीय घटनाक्रमबारे छलफल
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले गाजा र सिरियाको पछिल्लो घटनाक्रमबारे छलफल गर्नुभएको छ । बैठकले हमास–इजरायल द्वन्द्वमा युद्धविराम गर्न र बन्दीहरूको आदानप्रदानलाई सहज बनाउन दुवै पक्षको प्रयासको समीक्षा गरेको थियो ।
अल–सिसीले गाजामा मानवीय सहायता पुर्यउने अत्यावश्यकतामा जोड दिनुभयो । दुवै पक्षले लेबनानमा शान्तिको लागि क्षेत्रीय प्रयासहरूमा प्रमुख तत्वको रूपमा युद्धविराम सम्झौताको कार्यान्वयन र मर्मतका बारेमा पनि छलफल गरेका छन् । सिरियामा, अल–सिसीले सिरियाको एकता, क्षेत्रीय अखण्डता र त्यहाँका जनताको सुरक्षाको महत्वलाई जोड दिनुभयो ।
अमेरिकी प्रशासनका प्रवक्ताका अनुसार क्षेत्रीय भ्रमणमा रहेका सुलिवानले बुधवार सिरियालाई एजेण्डा राखेर इजरायलको भ्रमण गरेका थिए । उहाँले वार्तालाई अगाडि बढाउन इजरायल र हमासबीचको मध्यस्थकर्ता कतार र इजिप्टको यात्रा गर्ने बताउनु भयो ।
इजिप्टद्वारा ५०० मिलियन अमेरिकी डलरको सौर्य ऊर्जा प्लान्टको उद्घाटन
इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले शनिवार ५० करोड अमेरिकी डलरको सौर्य ऊर्जा प्लान्टको उद्घाटन गर्नुभएको छ । नवीकरणीय ऊर्जा उत्पादनलाई बढावा दिने प्रयासको एक भागको रूपमा दक्षिणी शहर अस्वानमा सो परियोजना शुरु गरिएको हो ।
५ सय मेगावाट क्षमताको एबिडोस सोलार पीभी प्लान्ट दुबईको ऊर्जा कम्पनी एएमईए पावरले विकास गरेको हो । परियोजनाले इजिप्टको भूमिमा लगानी गर्न विदेशी, अरब र स्वदेशी निजी क्षेत्रहरूलाई अवसरहरू प्रदान गर्ने दृष्टिकोणलाई संकेत गर्ने बताइएको छ । उक्त प्लान्टले २ लाख ५६ हजार घरमा बिजुली उत्पादन गर्ने अपेक्षा गरिएको छ । यसले प्रतिवर्ष लगभग ७६० टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन योगदान गर्नेछ ।
टर्किएले दमास्कसमा दूतावास पुनः खोल्यो
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिवार सिरियाको राजधानी दमास्कसमा आफ्नो दुतावास पुनः खोलेको घोषणा गर्नुभएको छ । आफूहरु सिरियाका जनताको देशको पुनर्निर्माण र पुनः प्राप्तिको प्रयासमा साथमा उभिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । एर्दोगानले पूर्वी टर्कियाको शहर एर्जुरममा आयोजित प्रान्तीय पार्टीको सम्मेलनमा यस्तो घोषणा गर्नुभएको हो ।
अंकाराले यस हप्ताको शुरुमा मोरिटानियाका लागि टर्कीका राजदुत बुरहान कोरोग्लुलाई दमास्कसस्थित टर्की दुतावासमा कार्यवाहक चार्ज डी अफेयर्सको रूपमा नियुक्त गरेको थियो । शनिवार एनटिभीले दमास्कसस्थित दूतावासमा फेरि टर्कीको झण्डा फहराइएको जनाएको छ । टर्किएले सिरियाली गृहयुद्धको बीचमा बढ्दो हिंसालाई उद्धृत २०१२ मा दमास्कसमा आफ्नो दुतावास बन्द गरेको थियो ।
थाइल्याण्डको ताक प्रान्तमा बम विष्फोट : तीनको मृत्यु, ४८ घाइते
थाइल्याण्डको उत्तरी ताक प्रान्तमा एक वार्षिक उत्सवमा बम विष्फोट हुँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य ४८ जना घाइते भएका छन् । बम विस्फोटमा संलग्न दुई संदिग्धलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय प्रहरी प्रवक्ता अर्कायोन्ट क्राइथोङले प्रारम्भिक अनुसन्धानमा एक जना संदिग्धले विस्फोटक पदार्थ बोकेको स्वीकार गरेको बताउनु भयो ।
पाइतोङटार्नले प्रहरी र सुरक्षा निकायलाई घटनाको तुरुन्त अनुसन्धान गर्न, दोषीलाई पक्राउ गरी कानूनी कठघरामा ल्याउन र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न आगामी सबै चाडपर्वहरूमा सुरक्षा उपायहरू बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।








