संसद सेवाको प्रभावकारिताबारे समीक्षा गरौं : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद सेवाको प्रभावकारिताबारे समीक्षा गर्नुपर्ने बताएका छन् ।
शुक्रवार सिंहदरबारमा १८ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले २३ वर्षअघि गठन गरिएको संसद सेवाको लक्ष्यमा पुग्नसक्यौं कि सकेनौँ भनेर समीक्षा गर्नुपर्ने बेला भएको बताए । उनले संसदको आवश्यकताअनुसार संसद सेवाको पुनः संरचनाको लागि नीतिगत, तथा व्यवहारिक पहलकदमी बढाउनुपर्नेमा जोड दिए । उनले संविधानमा राज्यका तीन वटै अङ्गहरूको भूमिका प्रस्टसँग उल्लेख गरिएको उल्लेख गर्दै व्यवहारिक रुपमा प्रयोग भए/नभएको समीक्षा गर्न जरुरी रहेको समेत बताए ।
उनले भने ‘संसदको मुख्य काम कानुन निर्माण, संसदीय निगरानीका साथै सरकारलाई जबाफदेही र जनताप्रति उत्तरदायी बनाउन निरन्तर खबरदारी गरिरहनु हो । आजको संसद्ले आफ्नो मुख्य काममा कतिका प्रभावकारी भुमिका निर्वाह गरिरहेको छ ? संघीय संसद र सांसदहरूले खेलेको भुमिका कस्तो छ ? २३ वर्षअघि जुन लक्ष्य, उद्देश्य र सोचले लिएर अलग्गै संसद सेवा गठन गरिएको थियो । यसको लक्ष्यमा हामी पुग्नसक्यौं कि सकेनौँ ? स्वायत्त सेवाको रुपमा गठन गरेको संसद सेवाले सेवाको प्रभावकारितामा योगदान दिन के कस्ता वाधा र व्यवधानहरू भोगिरहेको छ ? संसद सेवा आफैँ कति स्वायत्त र बलियो छ ? हामीले विभिन्न फोरमहरूमा छलफल गरेर निष्कर्ष निकाल्नुपर्छ । म विशेष जोड दिएर भन्न चाहन्छु, हरेका वर्ष मनाइने यो संसद सेवा दिवसमा मात्र छलफल, बहस गरेर पुग्दैन । संसदको आवश्यकता अनुसार संसद सेवाको पुनर्संरचनाको लागि नीतिगत, तथा व्यवहारिक पहलकदमी बढाउन उत्तिकै जरुरी छ । हामीले संविधानमै राज्यका तीन अंग र तिनका भूमिकालाई प्रष्ट गरिसकेका छौं । व्यवहारिक रुपमा त्यसको प्रयोग भइरहेको छ कि छैन त्यसका बारेमा पनि हामी सबै पक्षले समीक्षा गर्न जरुरी छ ।’
सचिवालयका कर्मचारी सांसद र सरकारले संसद सेवालाई प्रभाकारी बनाउन महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा उनको जोड छ ।








