कर्मचारी ऐन संशोधनको तयारीमा छौं : कानुनमन्त्री चौरासिया

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासियाले कर्मचारी ऐन संशोधनको तयारीमा रहेको बताएका छन् ।
शुक्रवार सिंहदरबारमा १८ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौरासियाले यस्तो बताएका हुन् ।
उनले संसद सचिवालयका कर्मचारीका माग सम्बोधन हुनेगरी ऐन संशोधनको प्रक्रियामा रहेको बताए । उनले जनप्रतिनिधिहरूको कामलाई व्यवस्थित र संवैधानिक तवरले सम्पन्न गर्नको लागि कर्मचारीहरू भूमिका प्रशंसनीय रहेको उनले बताए । कर्मचारी ऐनमा सर्वोच्चका निर्णय उल्लेख गर्दे विगतमा भएका कमिकमजोरीहरुलाई सुधार गर्दै ल्याउने बताए ।
उनले भने ‘जनप्रतिनिधिहरूले गर्ने कामहरूलाई व्यवस्थित र संवैधानिक रूपले व्यवस्थित गर्ने दायित्व र त्यहाँ भएका कमिकमजोरीहरुलाई सुधार गर्दै संसद सचिवालयका पदाधिकारीहरूले ऐन, कानुन बनाउनेदेखि लिएर नेपालको संसदीय प्रणालीलाई अझै सशक्त बनाउने कामहरूमा सहयोग गर्दै आइरहनुभएको छ । कर्मचारी ऐन संशोधनको अवस्थामा छ । र त्यसमा संसद सचिवालयका साथीहरूको मागलाई पनि सम्बोधन हुनेगरि ल्याउने जानकारी दिन चाहन्छौं । हामी संविधानलाई अझै व्यवस्थित गर्न ऐन, कानुनमा भएका कमीकमजोरीहरू, सर्वोच्चले आदेशका बेलामा दिएका सुझावहरू, निर्णयहरूलाई कसरी अझै लोकतान्त्रिक मुलुकमा भएका व्यवस्थाहरूको मेल हुनेगरि सबैको सहभागिता र सशक्त रूपले संशोधन गर्नमा यहाँहरूको ठूलो सहयोग छ ।’
विसं २०५८ मा स्वायत्त संसद सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मंसिर २८ गते संसद सेवा दिवस मनाउने गरिएको छ । यही अवसरमा शुक्रवार संघीय संसद सचिवालयले मूल समारोहको आयोजना गरेको थियो ।








