प्रधानमन्त्रीको प्रतिबद्धता- सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गरेका छन् ।

दुई दिवसीय भ्रमणका क्रममा आइतबार गृहजिल्ला आएका प्रधानमन्त्री ओलीले आज खानेपानी आयोजनाको उद्घाटन गर्दै सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै सम्पूर्ण देशवासीलाई गुणस्तरीय पानीको व्यवस्था गर्न आफ्नो नेतृत्वको सरकार क्रियाशील रहेको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मुलुकका प्रमुख दुई ठूला दल मिलेर सरकार बनेपछि राजनीतिक स्थिरता र विकास निर्माण सुनिश्चित भएको प्रसङ्ग उल्लेख गर्दै विकास निर्माणका क्रममा लामो समयदेखि झेल्नुपरेका अवरोध र बाधाव्यवधान अन्त्य गरी अधुरा योजना तथा कार्यक्रम सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढेको स्पष्ट गरे ।

उनले देशव्यापी रूपमा बिजुली, कृषि, सञ्चार, उद्योग, सरसफाइलगायतका अभियान सञ्चालन गरी मुलुक र जनताका पक्षमा सकारात्मक परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘देश बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर नबनाउने र अरूको घर भत्काउने गरेमा देश बन्दैन’, प्रधानमन्त्री ओलीले भने ‘हामी विभिन्न पार्टीसँग आबद्ध हुन सक्छौँ तर विकास निर्माणका काममा एक हुनुपर्छ । यस क्षेत्रका जनताको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, देशका लागि थप केही गर्छु, तपाईंहरुको पनि नाम विश्वमा राख्छु, यसमा ढुक्क भइदिन सबैसँग अनुरोध गर्दछु ।’

कुल रु ५० करोड सात लाख ९२ हजार लागतमा निर्मित सो खानेपानी आयोजनाबाट नगरपालिका–२, ३ र ४ का छ हजार पाँच सय २१ घरघुरीका २६ हजार सात सय ४३ जनसङ्ख्या लाभान्वित हुनेछन् । कार्यक्रममा आयोजनाका लागि जग्गा दिने स्थानीयवासीलाई सम्मान गरिएको थियो ।

सो अवसरमा प्रथम महिला राधिका शाक्य, नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवाली, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सङ्घीय खानेपानीमन्त्री प्रदीप यादव, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसहित स्थानीय जनताको उल्लेख्य उपस्थित थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =