विविधतापूर्ण संस्कृति र प्रकृति नेपालको पहिचान : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विविधतापूर्ण संस्कृति र प्रकृति नेपालको पहिचान भएको बताएका छन् ।
भीष्म बास्तोलाद्वारा लिखित नेपाल मण्डल पुस्तकको शुक्रवार ललितपुरमा विमोचन गर्दै पर्यटनमन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले विविधतापूर्ण संस्कृति र प्रकृति मुलुकको पहिचान भएको भन्दै त्यसलाई सरकारले विश्व माझ पुर्याउन सक्नु पर्ने बताए । उनले विश्वमा मुलुकको विविधतापूर्ण संस्कृति र प्रकृतिलाई चिनाउनसक्दा मात्रै विश्वमा पर्यटकहरू नेपालमा आउने वातावरण बन्ने बताए ।
उनले विश्वका मानिसहरु नेपालको संस्कृति र प्रकृति हेर्नको लागि एक पटक आउनुपर्ने बनाउन सबै लाग्नुपर्ने आवश्यकता रहेको बताए । उनले प्राकृतिक दृष्टिकोणले पनि विशिष्ट उपहार पाएको मुलुक भएको बताए । उनले नेपालमा ६० मिटर होचो केचनकवलदेखि ८ हजार ८४८ मिटर उचाइमा भएको सगरमाथा रहेको बताए ।
उनले हिमाल, पहाड, तराई र जल, जङ्गल, जडीबुटी लगायत विविध प्राकृतिक उपहारले सम्पन्न मुलुकलाई विश्वमा प्रचार गरी पर्यटन विकास गर्न सक्नुपर्नेमा जोड दिए ।
उनले भने ‘नेपाल प्राकृतिक दृष्टिकोणले पनि अत्यन्तै विशिष्ट उपहारसहित खडा भएको ६० मिटर होचो केचनकवल देखि ८ हजार ८४८ मिटर उचाइमा भएको सगरमाथा छ । हिमाल, पहाड,तराई र जल,जङ्गल,जडीबुटी लगायत विविध प्राकृतिक उपहारले मुलुक सम्पन्न छ । विविधता पूर्ण संस्कृति र प्रकृति मुलुकको पहिचान हो । त्यसलाई हामीले जति प्रकाशमा ल्याउनसक्यौँ त्यति नै दरिलो बनाउन सकिन्छ । विश्वका मानिसहरु खुला संग्राहलयभित्र आइरहनुपर्ने वातावरण बनाउनु पर्छ । त्यस्तो गर्न सक्यौँ भने नेपालको पर्यटन क्षेत्र विकास हुँदै मुलुकको जिडिपीमा ठूलो योगदान गर्नसक्छौं । स्वरोजगार सिर्जना गर्नसक्छौ । त्यो बाटोबाट हामी अगाडि बढ्नुपर्छ ।’
उनले विश्वका मानिसहरु खुला संग्राहलयभित्र आइरहनुपर्ने वातावरण बनाउनसके नेपालको पर्यटन क्षेत्र विकास हुँदै मुलुकको जिडिपीमा ठूलो योगदान पुग्ने बताए । उनले त्यसबाट मुलुकभित्रै रोजगारी सिर्जना गर्न सकिने बताए ।








