१५ वटा वडाको मतगणना सम्बन्धित मतदान स्थलमै हुने
काठमाडौं । निर्वाचन आयोगले मतगणना स्थलमा मतपेटिका जम्मा हुनेबित्तिकै मतगणना सुरु गर्न निर्देशन दिएको छ । स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम तत्काल मतगणना प्रारम्भ हुने प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
उनका अनुसार आइतबार स्थानीय तह उपनिर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ। उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा हालसम्मको प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एउटा मात्रै मतदान स्थल रहेका १५ वटा वडाको वडा अध्यक्ष पदको मतगणना सम्बन्धित मतदान स्थलमा नै हुने व्यवस्था मिलाइएको छ भने अन्य स्थानमा सबै मतदान स्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरी मतगणना हुनेछ,जारी विज्ञप्तिमा भनिएको छ ।
उपनिर्वाचन प्रयोजनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटा राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको थियो। यस्तै ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा क्रमशस् नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी यसअघि सर्वसम्मत भइसकेका छन् भने रूकुम पूर्वी भागको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेमाओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध भएका छन् ।
यसबाहेक नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडा अध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि आइतबार मतदान भएको हो । उपनिर्वाचनमा राजनीतिक दलका २७४ जना र स्वतन्त्र १०२ जना गरी जम्मा ३७६ जना उम्मेदवार रहेको आयोगले जनाएको छ ।