सांसदहरूको जोड- खेलकुदमा लगानी बढाउनुपर्छ

काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरूले खेलकुद क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह गरेका छन् ।

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरूले खेलाडी र खेलकुदमा लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले जितेर आइसकेपछि खुसी हुने र स्याबासी दिनु भन्दा पहिला जित्नका लागि आवश्यक व्यवस्थापन गर्न लगानी बढाउनुपर्नेमा जोड दिए ।

बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले देशभरका खेलकुद भौतिक पूर्वाधार बन्नुपर्ने आवश्यकता रहेको बताइन् । उनले सबैतिर बजेट छर्नु भन्दा एउटामा लगानी गरेर समयमै सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याइन् । उनले खेल जितेर आइसकेपछि खुसी हुने र बधाई दिने तर खेल जित्नका लागि लगानी नगर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताइन् ।

उनले भनिन् ‘सबैतिर सबै क्षेत्रको खेलका बारेमा देशभरका प्रदेशमा भौतिक पूर्वाधार बन्नुपर्ने आवश्यकता हो । समस्या हुँदाहुँदै पनि जताततै छर्नु भन्दा एक ठाउँमा सम्पन्न ग¥यो भने सबैतिर लगाउनु भन्दा एक ठाउँमा काम सम्पन्न गर्नु राम्रो हुन्छ । फरक फरक खेलहरू छन् । काठमाडौंमा महिला खेलाडीले देशको शिर ठाडो बनाउनु भयो । दृष्टिविहीन साथीहरूले खेल खेल्न जाँदा सरकारले सहुलियत गरेन र पछि अर्को बाटोबाट भएपनि खेलमा भाग लिएर सफलता प्राप्त गर्नुभएको कुरा छ । हामी जितेर आइसकेपछि खुसी हुने, देशको नाम राखिदिनु भयो भन्ने तर जित्नका लागि लगानी गर्ने कुरामा हामीले ध्यान दिन सकेका छैनौँ । एउटाले अर्कोलाई दोषारोपण गर्ने प्रवृत्ति छ ।’

समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य मदनकुमारी साहले युवा तथा खेलकुद मन्त्रालयले युवाहरूको भन्दा बढी खेलकुदको क्षेत्रमा मात्रै काम गरिरहेको बताइन् । उनले समग्र युवाहरूको विकासका लागि नीति भएपनि कार्यान्वयन गर्न नसकेको आरोप लगाइन् । उनले सिङ्गो मन्त्रालय नै खेलकुदमा केन्द्रित हुँदा पनि खेलकुदको स्थिति दयनीय रहेको उल्लेख गरिन् । उनले हरेक विद्यालयमा एक खेल शिक्षकको व्यवस्था गरिने नीति कहाँ पुग्यो भनेर प्रश्नसमेत गरिन् ।

उनले भनिन् ‘हाम्रा बजेटहरू हेर्ने हो भने, हाम्रा छलफलहरूलाई हेर्ने हो भने खेलकुद मन्त्रालय मात्रै हो की जस्तो लाग्छ मलाई । युवा तथा खेलकुद मन्त्रालय हुनुपर्ने हो । युवाहरूको समग्र विकासका लागि नीति त छ तर एक्सनमा जाँदा र मानसिकतामा खेलकुद बढी नै रहेको छ । एउटा सिङ्गो मन्त्रालय खेलकुदमा केन्द्रित रहेको बेलामा पनि खेलकुदको स्थिति दयनीय छ । हरेक विद्यालयमा एक खेल शिक्षकको व्यवस्था गरिनेछ भनेर हामीले २०८०/०८१ को नीति तथा कार्यक्रममा पास गरेका थियौँ । लागू भएको भए कति प्रतिशत भयो । सरकारसँग तथ्याङ्क होला ।’

राष्ट्रिय सभा सदस्य रेनु चन्दले खेलाडीहरूको दिगो व्यवस्थापन हुनेगरी काम गर्न सरकारलाई सुझाव दिइन् । खेलमा युवाशक्ति आकर्षित गर्न उसको लागि जागिर र भत्ताको कुरा ऐनमा नै समावेश गर्नुपर्ने बताइन् । उनले खण्डहर रंगशालामा अभ्यास गराएर मेडलको आस गर्न नहुने बताइन् ।

उनले भनिन् ‘खेलाडीहरूको दिगो व्यवस्थापन हुनेगरी हामीले काम गर्नुपर्छ । खेलमा युवाशक्ति आकर्षित गर्न उसको जब ग्यारेन्टी, उसको पेन्सनको कुरा ऐनमा लेखेरै आउनुपर्छ । जसले खेलाडी अलपत्र पर्दैन । खण्डहर रंगशालामा प्राक्टिस गराएर खेलाडीले मेडल ल्याओस् भन्ने अपेक्षा कसरी राख्ने रु यत्तिका बाबजुद खेलाडीहरूले राम्रो खेल्नुभएको छ । मोबाइलले सबै चिज खायो । मोबाइलबाट युवा जनशक्तिलाई टाढा राख्नसक्ने कुरा खेल नै हो ।’

समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागितालाई प्रवर्द्धन गर्नेगरी नेपाल पाराओलम्पिक कमिटी र राष्ट्रिय पाराओलम्पिक कमिटी दुई वटा समितिहरू गठन भएकोप्रति आपत्ति जनाए । उनले अपाङ्गता भएका व्यक्तिहरूले नै नेतृत्व गरेको समिति हुँदाहुँदै अर्को समिति बनाएकोप्रति आपत्ति जनाए ।

उनले भने ‘नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागितालाई प्रवर्द्धन गर्नेगरी नेपाल पाराओलम्पिक कमिटी र राष्ट्रिय पाराओलम्पिक कमिटी दुई वटा समितिहरू गठन भएको छ । अपाङ्गता भएका व्यक्तिहरूले नै नेतृत्व गरेको समिति हुँदाहुँदै अपाङ्गता भएका व्यक्तिहरू पनि एक दुई जनालाई राखेर तर अन्य व्यक्तिहरूले त्यसको नेतृत्व गरेर त्यो समिति बनाइएको छ र त्यसैलाई आधारित बनाएर मन्त्रालयले विभिन्न तरिकाले कामहरु गरिरहेको छ । यो दुई वटा समिति किन छ । आधिकारिक कुन हो ? यो विवाद लेराउने काम किन भयो ? मन्त्रालयले यो विवाद टुंग्याउने काम किन गर्दैन ?’

राष्ट्रिय सभा सदस्य परियारले राष्ट्रिय खेलकुद समयमा नै हुन नसके मन्त्रालयले गरेको काम नै नदेखिने भन्दै समयमै राष्ट्रिय खेलकुद सम्पन्न गर्न सरकारसँग आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *