ग्रामीण भेगमा ट्याक्टरको प्रयोग बढ्न थाल्यो

दार्चुला । प्रविधिको विकाससँगै दार्चुलाका पहाडी ग्रामीण क्षेत्रमा अहिले परम्परागत रुपमा गोरूको प्रयोग गरी खेत जोत्ने चलन बिस्तारै हराउन थालेको छ । तराईमा मात्र प्रयोग हुँदै आएको ट्याक्टर पछिल्ला केही वर्षयता पहाडी ग्रामीण बस्तीमा पनि पुग्न थालेसँगै यसको प्रयोग बढ्न थालेको हो ।
दुई वर्ष अघिसम्म अपिहिमाल गाउँपालिका–४ का प्रकाश कार्कीले गोरूको सहायताले महिनौँ लगाएर खेतबारी जोत्ने गर्थे । दार्चुलाका अधिकांशको घरमा कम्तिमा एक हलगोरु, हलो र जुवा हुन्थ्यो । अहिले प्रकाशको घरमा गोरु, हलो र जुवा केही छैनन् । खेतबारी खन्न ट्याक्टरको प्रयोग बढेसँगै प्रकाशलाई खेतीकिसानी गर्न सजिलो भएको छ ।
महिनौँ लगाएर खन्नुपर्ने खेतबारी ट्याक्टरले दुई दिनमा खन्न थालेपछि काममा सहज हुनुका साथै समयको बचत भएको कार्कीले बताए । गाउँमा अहिले गहुँ छर्ने बेला भएको भन्दै आफ्नो खेतको काम सकेर अरूकोमा पनि काम भ्याइने उनले उल्लेख गरे ।
ट्याक्टरको प्रयोग बढेसँगै खेतीबाली लगाउन, माटो धुल्याउन निकै सजिलो भएको अपिहिमाल–४ का किसान बताउँछन् । यसअघि भनेको समयमा गोरु नपाउने, कामदारको अभावलगायत समस्या भोगिरहेका यहाँका किसानलाई ट्याक्टरको प्रयोग बढ्न थालेपछि काममा सहज भएको छ ।
ट्याक्टरको प्रयोग गरी काम गर्दा समयको बचत हुनुका साथै जमिन बाँझो राख्नुपर्ने बाध्यता अन्त्य भएको विनोद अट्यालले बताए । खेत जोत्न ट्याक्टरको प्रयोग गर्न थालेपछि गोरु र खेताला खोज्नुपर्ने झन्झट हटेको उनको भनाइ छ । कम जनशक्ति र समयमा पनि धेरै काम गर्न सकिने भएकाले ट्याक्टरको प्रयोग उपलब्धिमूलक बनेको उनले बताए ।
काममा सजिलो हुने भएपछि अहिले गाउँमा सामूहिक रुपमा ट्याक्टर खरिद गरेर भित्र्याउने चलन बढेको छ । सडक नपुगेको अपिहिमालका अधिकांश बस्तीसम्म अहिले ट्याक्टरको पहुँच पुगेको अपिहिमाल–४ का कल्यानसिंह बोहराले जानकारी दिए ।
उनका अनुसार गाउँमा डिजेल दुई सय ३० प्रतिलिटरमा पुगेको भन्दै महँगो भए पनि किसानले ट्याक्टरको प्रयोग गरेर खेतीपाती गर्न थालेका छन् ।
‘पाखा र भिरालो बारीमा मकै, गहुँ, जौ, धानलगायत अन्न छर्न अहिले खेत जोत्ने काम गोरुले नगरी मिनिटिलर (हाते ट्याक्टर) बाट हुन थालेको छ । गाउँमा अधिकांशले गोरु पाल्न छोडिसकेका छन्’, बोहराले भने, ‘अहिले खेती गर्न प्रविधिको प्रयोग बढ्दै गएकाले हामीले पनि हाते ट्याक्टरको प्रयोग गर्न थालेका हौँ ।’
अपिहिमाल–२ का डब्बलसिंह कार्कीले गाउँमा थोरै परिवारले मात्रै अहिले गोरु पाल्ने गरेका सुनाए । ‘पाँच–छ वर्ष अघिसम्म गाउँका हरेक घरमा एक हलगोरु हुन्थ्यो । अहिले गाउँमा एकाधबाहेक गोरु नै छैनन्’, उनले भने, ‘दुई–तीन परिवारको खेतमा एउटै व्यक्तिको गोरु प्रयोग हुने गरेको छ । अधिकांशले हाते ट्याक्टर प्रयोग गर्छन् ।’
किसान वसन्तसिंह लोथ्यालले शिक्षा तथा रोजगारीको खोजीमा युवाले गाउँ छोड्दै जाँदा गाउँमा गोरूको विकल्पमा ट्याक्टरको प्रयोग बढ्न थालेको बताए । ‘काम गर्ने युवा गाउँमा नभएपछि गोरु पाल्ने चलन पनि हराउँदै गएको छ । गोरु चराउने, घाँसपानी गर्ने कोही नभएपछि बिस्तारै गाउँलेले गोरु पाल्न छोडेका हुन्’, उनले भने ।








