ऋण गरेर जदुको किरिया गर्दै परिवार,कतार जाने सपना यसरी रह्यो अधुरै

सर्लाही । गत बिहीबार साँझ गोविन्द नामको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएका सर्लाही, हरिपुर नगरपालिका–७, निवासी जदु सिंहका परिवार अहिले विचल्लीमा छ ।
आर्थिकरूपमा अत्यन्त विपन्न परिवारको एक मात्र भरोसा जङ्गली हात्तीको आक्रमणबाट गुमेपछि सिंहको छ जनाको परिवार सङ्कटमा परेको हो ।
“जदु घरको एकमात्र कमाउने सदस्य थिए,”उनका बुवा ७० वर्षका पञ्चलाल सिंहले भने,“श्रीमती दुई छोरा, एक छोरी र हामी बुढाबुढीको लालनपालन उसैले गरेको थियो । हाम्रो विचल्ली भयो, घरबार धान्ने एकमात्र छोरालाई हात्तीले मारिदियो, अब कसको सहारामा बाच्नु ?”
जदुले केही वर्ष पहिला जेठी छोरीको चितवनमै विवाह गरिदिएका थिए । बाँकी १९ र ६ वर्षका दुई छोरा र १६ वर्षकी एक छोरी, श्रीमती र आमाबुवाको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा थियो । आफूको औषधी खर्चमात्र मासिक रु. तीन हजार बढी लाग्ने आमा पहुनिया देवीले दुखेसो पोखिन् ।
“छोराको किरिया कर्म गर्नसमेत ऋण माग्नुपरेको छ,” उनले भनिन्,“अब हामीलाई कसले हेर्छ ?” जदुको परिवारसँग सम्पत्तिको नाममा एउटा काठको सानो घर बाहेक केही छैन । बुबाको किरियामा १९ वर्षका छोरा रित्तिक बस्नुभएको छ । घरको अवस्था कमजोर भएका कारण आफूले पढ्न नपाएको उले गुनासो पोखिन् । रितिकले ट्रकमा सहचालकको रुपमा काम गर्दै आउनुभएको छ । अहिले सीप सिक्न बसेको कारणसमेत आफ्नो कमाइ नभएको उनको भनाइ छ ।
घटनापछि गाउँबाट पुगेका युवाले आपसमा सहयोग गरेर शनिबार जदुको शव गाउँ ल्याएर अन्तिम संस्कार गरेको परिवारको भनाइ छ । एउटा भएको छोरासमेत हात्तीले खोसेको भन्दै आमा पहुनिया देवी डाँको छाडेर रुनुभयो । छोराले १६ वर्षसम्म सेवा गर्दा पछि सौराहास्थित हात्ती प्रजनन केन्द्रले उसको सेवाको कदर नगरेको परिवारको गुनासो छ ।
खगेन्द्रसँगै कतार जाने जदुको सपना अधुरै
जदु चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौरहाको हात्ती प्रजनन केन्द्रका अनुभवी माउते थिए । सौरहाको हात्ती प्रजनन केन्द्रमा जदुले २०६५ सालदेखि करारमा सेवा सुरु गर्नुभएको उनका बुवा पञ्चलालले बताए । “२० वर्षको उमेर गाउँका एक जना आफन्तसँग पछि लागेर सौराहामा काम गर्न गएको हो,” उनले भने, “हात्तीले बच्चा पाएको बेलामा लामो समय घर आउन पाउँदैन थियो ।”
जदुले हात्ती प्रजनन केन्द्रमा काम गर्न थालेका १६ वर्ष भएको थियो । “हात्तीको स्वभावदेखि हरेक कुरामा उनी जानकार थिए ।” केन्द्र प्रमुख मनपुरण चौधरीले भने,“बिहीबार साँझ तरकारी लिएर स्याहार केन्द्रतर्फ आउँदै गर्दा उहाँलाई गोविन्दे नामको जङ्गली हात्तीले आक्रमण गर्यो । उहाँको घटनास्थलमै ज्यान गयो । केन्द्र शोकमा छ । हाम्रो अपुरणीय क्षति भएको छ ।”
यही २०८१ वैशाख ११ गते नेपाल सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणमा आउनुभएको मौकामा एक जोडी हात्ती उपहार दिने घोषणा गरेको थियो । हात्ती कतार जाने भएपछि खगेन्द्र प्रसादलाई जन्मेदेखि रेखदेख गर्ने, तालिम दिने जदु पनि सँगै कतार जाने तय भएको थियो । कतारका अमिरलाई सौरहामा जदुले तालिम दिनुभएको खगेन्द्र प्रसादले नै माला लगाइ ढोग तथा नमस्कार गरी भव्य स्वागत गरेको थियो ।
हात्ती विधिवतरुपमा हस्तान्तरण भए पनि प्रकृयागत कुराका कारण तत्काललाई पठाउने काम भने रोकियो । तत्कालका लागि हात्ती कतार नलगिने भएपछि उनको कतार जाने चाहना रोकिएको थियो । खगेन्द्रप्रसाद र रुद्रकलीसँगै सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरबाट छ जना कतार जाने तयारी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको थियो ।
आफूले हुर्काएको खगेन्द्रसँगै कतार जाने कुराले जदु पनि उत्साहित हुनुहुन्थ्यो । कतार जाने तयारीबारे उहाँले घरमासमेत बताउनुभएको आमा पहुनिया देवीले बताइन् । जदुले आफू कार्यरत रहँदा दर्जनौँ हात्तीका छावा हुर्काएका थिए ।
“हात्ती लिएर कतार जान्छु, भनेको थियो,” उनले भनिन्,“पैसा पनि राम्रो कमाइ हुन्छ भन्दै खुसी भएको थियो । मेरो बाबुलाई हात्तीले मारिदियो ।” छोराको मृत्यु पछि परिवारको हात मुख जोर्नेसमेत कुनै उपाए छैन । कसरी काजकिरिया टार्नु, तीन नाती नातिनाको लालनपालन विवाहदान कसरी गरौँ । हजुरबुबा पञ्जलालले भने,“म दमको रोगी छु, हिँड्डुलसमेत सक्दीन कसलाई गुहार्नु ?”
बिहीबार गोविन्दे हात्तीको आक्रमणमा परेका दुई जना मध्य अर्का एक जना माउते भने, भागेर बाच्न सफल भएका थिए ।








