आर्थिक क्षेत्रका कतिपय नीतिहरु अपर्याप्त छन् : पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरु अपर्याप्त रहेको भन्दै पुनर्लेखन जरुरी रहेको बताएका छन् । बिहीवार काठमाडौंमा नीति अनुसन्धान प्रतिष्ठानको छैटौँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले विकासको परिभाषा नै परिवर्तित भइसकेको भन्दै आर्थिक वृद्धिलाई मात्रै विकास भन्न नमिल्ने तर्क गरे । उनले अहिले दिगो विकास र दिगो विकासको सामाजिक र आर्थिक पक्ष तथा वातावरणीय पक्ष समेत विकासको परिभाषासँग जोडिएको बताए ।

उनले समृद्धिको बाटो अलि लामो रहेकाले सही बाटोमा हिँडिरहेका छौँ की छैनौँ भनेर सोच्नुपर्ने बताए । उनले प्रस्थान बिन्दु नै गलत भएको खण्डमा लक्ष्यसम्म नपुगिने भन्दै समृद्धिको मार्गमा जानका लागि कतिपय नीतिहरु मिलाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

उनले कतिपय नीतिगत कुराहरु अपर्याप्त रहेको महशुस सबैले गरेको भन्दै भएका नीतिहरुले परिणाम दिन नसक्ने बताए । समृद्धि भनेको आर्थिक, सामाजिक र मानवीय विकास मात्रै नभइ त्यो भन्दा पनि बढी हुनु रहेको उल्लेख गरे ।

शान्तिपूर्ण समाज सामाजिक, आर्थिक रुपले बलियो र शान्त एवं सद्भावपूर्ण हुनु र भौतिक विकासका दृष्टिकोणले सुविधा सम्पन्न र सुखसँग नागरिकले बस्न पाउने हुनु नै समृद्ध नेपाल र सुखी नेपाली हुने बताए ।

उनले भने,‘कतिपय नीतिगत कुराहरु अपर्याप्त छन् । हामी सबैले महशुस गरेका छौँ । हाम्रा आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरु अपर्याप्त छन् । भएका नीतिहरुले हामीले खोजेको परिणाम दिने अवस्थामा हामी छैनौँ । केही नीतिहरु आपसमा बाझिन्छन् र जसले गर्दा हामी शुन्यमा पुग्छौँ । कतिपय नीतिहरु बाझिँदा हामी शुन्यमै त झरेका छैनौँ ? त्यसकारण ति नीतिहरु सच्याउनु पर्छ । अलिकति पुनर्लेखन गर्नुपर्छ । समृद्धिको सन्दर्भमा हामी केही कुरामा स्पष्ट हुुनपर्छ । समृद्धि भनेको आर्थिक विकास मात्रै होइन, समृद्धि भनेको सामाजिक विकास मात्रै होइन, समृद्धि भनेको मानवीय विकास हो, तर त्यो भन्दा बढी पनि हो । त्योसँग जोडिएका शान्तिपूर्ण समाजका कुराहरु, सामाजिक,पुँजीगत कुराहरु, मानवीय सुरक्षाका कुराहरु, कतिपय आर्थिक विकासका परिसूचकले समेट्ने गरी यि कुराहरु समृद्धिमा हामीले समेट्नुपर्छ । शान्तिपूर्ण समाज आर्थिक रुपले बलियो छ, जो सामाजिक रुपले शान्त छ, सद्भावपूर्ण छ, जो भौतिक विकासका दृष्टिकोणले सुविधा सम्पन्न छ र नागरिकले सुखले बस्न पाउँछ, त्यो हामीले समृद्ध नेपाल र त्यसले ल्याउने आम नेपालीहरुको सुखी भनेका हौँ ।’

पूर्वअर्थमन्त्री खतिवडाले विषादी र रासयनिक मलको कम प्रयोग गरी उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्नुपर्ने आवश्यकता रहेको बताए । उनले भौतिक र सामाजिक विकाससँगै कृषि, सिंचाईमा जोड दिनुपर्ने बताए ।

उनले डिजिटल इकोनोमि आजको आवश्यकता रहेको भन्दै यसले विद्युतीय अर्थतन्त्र विकासमा मद्दत पुग्ने बताए । सामाजिक संरक्षणसम्बन्धी नीतिहरु दक्षिण एशियामै नेपालको उत्कृष्टा रहेको भन्दै दिगो, टिकाउ र सर्वव्यापी बनाउन जोड दिनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 14 =