करका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन- सरुवा, बढुवा र व्यक्तिगत कामका लागि मकहाँ नआउनू

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न निर्देशन दिएका छन् । शुक्रबार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागको स्थलगत अवलोकनका क्रममा उनले यस्तो निर्देशन दिएको हो ।

उनले कोही पनि सरुवा, बढुवा वा अरु कुनै प्रयोजनका निम्ति मन्त्रीलाई भेट्न नआउन आग्रह गरे । ‘कोही पनि साथीहरू सरुवा, बढुवा अरु कुनै प्रयोजनका निम्ति मन्त्री कहाँ नआउनु होला,’ उनले भने ‘मन्त्रीको एउटा मात्रै रुचि र एउटा मात्रै चासो छ की, हाम्रो कर प्रशासनमा उल्लेखनीय सुधार होस् । र लक्ष्य पूरा होस् ।’

मन्त्री पौडेलले सरकारले लिएको राजश्व उठाउनका लागि आवश्यक सहयोग के चाहिन्छ त्यो माग्न आग्रह गरे । ‘कर प्रशासनमा उल्लेखनीय सुधारका लागि तपाईंहरुलाई के सहयोग चाहिन्छ, त्यो सबै सहयोगका दिन हामी तयार छौँ । सबै सहयोग प्राप्त गर्न सक्नुहुन्छ । त्यस हिसाबले अघि बढ्न आग्रह गर्दछु,’ उनले अगाडि भने, ‘हामीले भर्खरै आन्तरिक राजश्व रणनीति परिचालन गरेका छौँ । यो रणनीति कार्यान्वयनको प्राथमिकतामा रहनेछ । रणनीति कार्यान्वयनमा जोड दिनुहोला ।’

उपप्रधानमन्त्री पौडेलले आन्तरिक श्रोत परिचालनलाई प्रभावकारी बनाउन कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने काममा लाग्नुपर्ने बताए । लक्षित राजश्व लक्ष्य सम्पूर्ण रुपमा पूरा गर्न उनको निर्देशन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =