कोशी सरकारमा जाँदै कांग्रेस, को-को बन्दैछन् मन्त्री ?

मोरङ । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । कांग्रेसका चार जनालाई समेटेर मुख्यमन्त्री हिक्मत कार्कीले आज प्रदेश सरकार विस्तार गर्न लागेका हुन् ।
मुख्यमन्त्री कार्कीले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्न लागेका हुन् । तर, कांग्रेसकै संस्थापनइतर समूहबाट भने कसैलाई मन्त्री बनाइएको छैन । कोशी प्रदेशका महामन्त्री समेत रहेका भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए । राईलाई भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी दिएको छ ।
ताप्लेजुङका खगेनसिह हाङ्गाम उद्योग, कृषि तथा सहकारी र सुनसरीका सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री बन्ने छन् । झापाका भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्ने भएका छन् । राई र राजवंशी नेता कृष्णप्रसाद सिटौला समूहका हुन भने केही हाङ्गाम र मडल देउवा समूहका हुन् ।
बिहान ९ बजे मन्त्रीहरूको शपथ ग्रहण समेत राखिएको तामाङले जानकारी दिए । असार १७ गते केन्द्रमा एमाले कांग्रेसको गठबन्धन बनेपछि गत साउन ११ गते सरकारमा सहभागी माओवादी केन्द्रमा मन्त्रीहरूले राजीनामा दिएका थिए ।








